श्रीकृष्ण जन्माष्टमी : अन्धकारभित्र कृष्णचेतनाको उदय
एक्सन खबर
अच्युतकृष्ण
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने।
प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः॥
आज श्रीकृष्ण जन्माष्टमी ......
घर घरमा दीप प्रज्वलित छन्, मन्दिरहरूमा घण्टीको मधुर ध्वनि गुञ्जिरहेछ । गल्ली गल्लीमा जय श्रीकृष्ण को जयघोष छ । बालकृष्णका सुन्दर रूपहरू सजाइएका छन् । व्रत, पूजा, भजन, कीर्तन र उत्सवले सम्पूर्ण वातावरण कृष्णमय बनेको छ ।
तर आज मेरो मनमा एउटा भिन्न प्रश्न अनुगुञ्जित भइरहेछ, के जन्माष्टमी केवल भगवान् श्रीकृष्ण जन्मिनुभएको इतिहास हो ? अथवा, यो आफ्नै अन्धकारभित्र कृष्ण चेतनाको पुनर्जन्म गराउने एक दिव्य अवसर पनि हो ?
यही प्रश्नको आलोकमा आज म आफ्नो विगततर्फ फर्किएर हेर्दै यि शब्दहरु लेख्दैछु । म जस्तै सांसारिक सफलता प्राप्तिको अन्धदौडमा भड्किएका एक जना मानिसलाई मात्रै मेरो यि अनुभव पढेर परमार्थको मार्गमा हिँड्ने प्रेरणा मिल्यो भने मेरो यस लेख सफल भएको मान्नेछु । त्यसो त अनुभव शब्दमा उर्तान सहज छैन्, यो अकथनीय हुन्छ । तर, संक्षेपमा पस्कने प्रयास गर्दैछु ।
यस जीवनमा यो मनुष्य देह प्राप्त गरेपछिका करिब दुई दशकभन्दा बढी समय सांसारिकता, भौतिक उपलब्धि, पद, प्रतिष्ठा, सम्बन्ध र बाह्य सफलताको पछाडि दौडिँदै बितेछ ।
बाल्यकाल परिवारको काखमै बित्यो । करिब १४ वर्षको उमेरमा कक्षा १० को परिक्षा दिएलगत्तै अध्ययनका लागि पारिवारिक चौघेराबाट बाहिर निस्किएँ । घर छाडेको वर्षदिन नपुग्दै ईश्वरकै अनुकम्पाले रेडियो टेक्निसियन (RJ) का रूपमा सञ्चार क्षेत्रमा प्रवेश गर्ने अवसर मिल्यो ।
त्यहीँबाट सुरु भयो, यस देहको पत्रकारिताको यात्रा ......
गोरखा, जाजरकोट, पोखरा र काठमाडौंलाई केन्द्र बनाएर स्थानीयदेखि राष्ट्रियस्तरका दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेँ । देशका सातै प्रदेश र ५० भन्दा बढी जिल्लाहरूमा पाइला टेक्ने सौभाग्य मिल्यो । कुनै पत्रकार संगठनको सबैभन्दा कान्छो जिल्ला अध्यक्ष, केन्द्रिय संयोजक अनि केन्द्रिय मन्त्रीको प्रेस सल्लाकारको समेत भूमिकामा रहने भगवान्को कृपा भयो ।
यि सबै कुरा हुँदासम्म यस क्षेत्रमा करिब नौ वर्ष बिताएछु । यो समय केवल एउटा पेशागत जीवन मात्र थिएनन्, मेरो जीवनका असली विश्वविद्यालय थिए । मैले किताबका पानाबाट भन्दा धेरै मानिसका अनुहार र जीवनबाट पढेँ । समाजको पिँधमा रहेका नागरिकदेखि राज्यसत्ता, शक्ति र प्रभावको शिखरमा पुगेका व्यक्तिहरूसम्मलाई नजिकबाट नियाल्ने मौका पाएँ । मैले गरिबी देखेँ, वैभव देखेँ । अभाव देखेँ, अहंकार देखेँ । प्रेम देखेँ, विश्वासघात देखेँ । संघर्ष र सफलता असफलताका अनेक रूप देखेँ । र सबैभन्दा ठूलो कुरा मानिसभित्रको मानिसलाई पढेँ ।
त्यतिबेला धेरैले भन्थे, ‘तपाईँको क्या गज्जबको जीवन !’ मलाई पनि लाग्थ्यो, यी नै मेरो जीवनका स्वर्णिम पल हुन् ।
पत्रकारिताले मलाई पहिचान, अवसर, सम्बन्ध, अनुभव, संघर्ष र समाज तथा देशलाई हेर्ने एउटा फराकिलो दृष्टि यि यस्ता धेरै कुरा दियो । तर आज आएर बुझ्दैछु, पत्रकारिताले मलाई बाहिरी संसार त देखायो, तर संसारको पछाडि लुकेको परम सत्य खोज्ने यात्रा भने अझै बाँकी नै रहेछ ।
प्रारब्धका कारण जीवनका ती वर्षहरू बाहिर अरुले देखे जस्तो सरल पक्कै थिएनन् । थुप्रै उतारचढाव आए। कहिले सफलताको शिखर, कहिले असफलताको खाडल पनि प्राप्त भयो । कहिले प्रशंसाको फूल, कहिले आलोचनाको काँडा पनि झेल्नुपर्याे । कहिले आफ्ना भनिएकाहरू टाढिए, कहिले अपरिचितहरू आत्मीय बने ।
कतिपय घटनाले मन छिन्नभिन्न बनायो, कतिपयले अहंकारलाई चुरमार पारिदियो । कतिपय भेटले उत्साहित बनाए भने कतिपय बिछोडले जीवनको नग्न सत्य बुझाए । तर निर्धक्क भएर भन्न सक्छु, जस्तोसुकै परिस्थितीमा पनि मैले जीवनमा भगवान्सँग कहिल्यै गुनासो गरिँन । अनि कहिल्यै केही मागिनँ । जे आयो, सहर्ष स्वीकार गरेँ । जुन परिस्थिति बन्यो, त्यसलाई भगवानकै लीला मानेर अघि बढेँ । जसले चोट दिए, उनीहरूबाट पाठ सिकेँ र जसले प्रेम दिए, तिनलाई प्रसाद मानेँ ।
आज लाग्छ, जीवनमा भेटिने प्रत्येक मानिस केवल मानिस भएर आउँदो रहेनछ । कोही ऐना भएर आउँछ, परीक्षा लिए जान्छ । कोही पाठ भएर आउँछ, पीडा दिएर जान्छ । कोही प्रेरणा भएर आउँछ र सद्गुरु बनेर मार्गनिर्देशन गरिरहन्छ ।
त्यसैले आज म विगतका हरेक मीठा तितो अनुभवलाई फरक दृष्टिले हेर्छु । कुनै घटना व्यर्थ थिएन, कुनै पीडा बेकार थिएन, कुनै बिछोड सित्तैँमा भएको थिएन । ती सबैले मलाई एउटै मूल प्रश्नतर्फ धकेलिरहेका थिए, ‘तँ वास्तवमा को होस ?’
एउटा समय थियो, जब मलाई लाग्थ्यो,‘मसँग मेरो पेशा छ, परिचय छ, सामाजिक प्रतिष्ठा र सम्बन्धहरूको ठूलो सञ्जाल छ ।’
तर, पत्रकारिता खोसिने हो भने म को ? पद, प्रतिष्ठा र सम्पति नरहे म को ? मानिसहरूले चिन्न छाडिदिए भने म को ? यो नश्वर देह नै नरएको दिन म वास्तवमा को हुँ ? यही प्रश्नको जवाफ पाएपछि नै मानिसको वास्तविक आध्यात्मिक यात्रा सुरु हुन्छ । परम सौभाग्य भन्नुपर्छ यि प्रश्न मैले आफुलाई कहिल्यै गर्नुपरेन । किनकी, भगवान्को अहैतुकी कृपाले जीवनमा यस्तो पल आयो जसले माथिका हरेक प्रश्नको जवाफ मैले खोजिराख्नु परेन। समयले स्वतः त्यस्तो रोमान्चक लिला गर्याे जसले मलाई यि सबै प्रश्नका जवाफ व्यवहारमै महशुस गराईदियो ।
त्यो परिक्षाको घडिमा मेरो पेशा, पद, प्रतिष्ठा, चिनजानका मान्छे कोही पनि काम आएनन् । यो देहका लागि उल्टो तीनिहरु नै घातक सावित भए । तत्कालिन समयमा दुःख लाग्थ्यो । तर, आज ती दिन सम्झँदा निकै खुसी लाग्छ। किनकी यस देहमा घटित केवल दुई वटा घटनाले मलाई बाहिरी संसारको दौडबाट भित्री संसारको मौनतातर्फ फर्काउने काम गर्याे । र सायद यहीँबाट मेरो जीवनमा ईश्वरको वास्तविक कृपाको अनुभूति सुरु भयो । परब्रह्म परमात्मा, पूर्णावतार भगवान् श्रीकृष्णचन्द्रको अहैतुकी कृपा र सद्गुरुको चरणाश्रयले आज मलाई आफ्नै कमजोरीहरूसँग जुध्ने हिम्मत दिएको छ ।
पहिले अरूका त्रुटि देखिन्थे, आज आफ्ना भूलहरू देखिन थालेका छन् । पहिले संसार बदल्ने धुन थियो, आज सबैभन्दा पहिला स्वयंलाई रूपान्तरण गर्ने हुटहुटी छ । पहिले मानिसहरूले मलाई बुझिदिऊन् भन्ने लाग्थ्यो, आज म आफैँलाई बुझ्न तल्लीन छु । पहिले संसार जित्ने तृष्णा थियो, आज आफ्नै मन जित्ने अभिलाषा छ । पहिले भीडमा पहिचान खोजिन्थ्यो, आज मौनतामा अस्तित्व खोजिँदैछ । र यही मोड नै सांसारिक जीवनबाट आध्यात्मिकतातर्फको मेरो वास्तविक यात्रा हो ।
यस आध्यात्मिक जीवनमा लागेदेखि मैले भगवद् कृपा अनि गुरु कृपाले केही साधु, सन्त, महात्मा, भक्तजनहरुको सत्संग गर्ने सौभाग्य प्राप्त गरेँ । केही धार्मिक, आध्यात्मिक संघ संस्था चलाउने व्यक्तित्वहरुलाई पनि नियाल्ने प्रयास गरेँ । आत्मिक मार्गमा पाईला चाल्दै गरेका थुप्रै महानुभावहरुको मनोविज्ञान र भावनालाई बुझ्ने प्रयास गरेँ ।
यसको सारमा सदैव मेरो हृदयमा एउटा प्रश्न दोहोरिरहन्छ । हामी कृष्णलाई कहाँ खोज्दैछौँ ? आजको यो पावन दिनमा म आफैँलाई अनि समस्त कृष्णभक्त धर्मानुरागीहरुलाई सोध्न चाहान्छु, के कृष्ण केवल मन्दिरका मूर्तिहरूमा मात्र हुनुहुन्छ ? के उहाँ केवल पौराणिक कथा, कीर्तन र उत्सवमा सीमित हुनुहुन्छ ?
म भन्छु, हो उहाँ त्यहाँ पनि हुनुहुन्छ । तर यदि हामीले केवल कृष्णलाई मन्दिरमा मात्रै सीमित राख्यौँ र आफ्नो हृदयभित्रको काम, क्रोध, लोभ, मोह र अहंकारलाई पालेरै राख्यौँ भने के होला ? हामीले कृष्णको कथा त सुन्यौँ, तर कृष्ण चेतनालाई भने कहिल्यै बाँच्न सकेनौँ भने के अर्थ ?
जब भगवान् श्रीकृष्ण लिला गर्न यस धराधाममा आउनु भयो त्यस समयमा उहाँको प्राकट्य मथुराको कारागारमा भएको हो । तर प्रत्येक मनुष्यको हृदयभित्र पनि एउटा ुमथुराु छ, र त्यहाँ एउटा कारागार छ । त्यो काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य र अहंकारको कारागार हो ।
जब यी विकारहरू हाबी हुन्छन् , मानिस आफ्नै चेतनाको बन्दी बन्छ । तर, जुन दिन विवेक जाग्छ तब कृष्ण जन्मिनुहुन्छ । जुन दिन हृदयमा समस्त अस्तित्व प्रति निश्छल प्रेम र करुणा जाग्छ तब कृष्ण जन्मिनुहुन्छ । जुन दिन क्षमा र विनम्रता जाग्छ तब कृष्ण जन्मिनुहुन्छ । र जुन दिन कर्मफल को स्वार्थ त्यागेर समर्पण भाव जाग्छ त्यही दिन कृष्ण हामी सबैको अन्तरहृदयमा प्रकट हुनुुहुन्छ ।
त्यसैले आज मेरा लागि जन्माष्टमी केवल एउटा पर्व मात्रै होईन । यो आफ्नै चेतनाभित्र कृष्णलाई अवतरित गराउने संकल्पको दिन हो । म आफ्नो विगतलाई कहिल्यै घृणा गर्दिनँ, किनकि त्यही बाटो भएर म आज यहाँसम्म आइपुगेको हुँ । हामीले विगतका जन्ममा र यस जन्ममा गरेका हरेक कर्मको फल हामीले भोग्नैपर्छ । यही विधिको विधान हो । तसर्थ, विगतका कुरामा अल्झिएर बस्ने मानिसको हृदयमा भगवान्को भक्ति र शरणगत आउन सम्भव हुँदैन ।
तसर्थ, विगत फर्किएर हेर्दा सांसारिकताले मलाई संसारको असलीयत देखायो । संघर्षले धैर्य सिकायो, असफलताले विनम्र बनायो । प्रशंसाले अहंकारको जोखिम बुझायो भने आलोचनाले आत्मपरीक्षण गर्न सिकायो ।
म धेरै पटक संसारबाट भाग्ने कोसिस् गरेँ । थुप्रै समय मौन रहेँ । अल्पहार देखि सामान्यतया कठिन साधना पनि प्रयास गरेँ । तर आज बुझ्दैछु, संसार त्याग्नु मात्रै वैराग्य होइन रहेछ । संसारमा रहेर पनि संसारलाई अन्तिम सत्य नमान्नु नै वैराग्यको प्रारम्भ हो ।
पद, सत्ता, शक्ति, सम्पति, वाह्य सौन्दर्य, सांसारिक सफलता, वैभव, ऐश्वर्य प्राप्त हुँदा त्यसको अहंकार नहुनु, वाह्य प्रतिष्ठामा आफ्नो अस्तित्व नखोज्नु, संसारमै रहँदा पनि संसारलाई नै सर्वस्व नमान्नु नै वास्तविक वैराग्य हो । यो मेरो अन्तरहृदयको आवाज हो । भगवान्सँग मेरो हिजो पनि कुनै माग थिएन आज पनि छैन् । धन, पद, प्रतिष्ठा र प्रशंसाको तृष्णा क्षीण हुँदैछ, यसमा अडिक रहने ईमान्दार प्रयास देह रहुन्जेल रहिरहनेछ ।
मलाई संसारमा सफल बन्नु पर्ने जरुरत छैन् । संसारको भीडमा पनि भगवान् र आफ्नो वास्तवीक स्वरुपलाई नबिर्सने विवेक कायम राख्नुछ । जीवनमा दुःख, पीडा, कष्ट र संघर्ष हटाउने प्रयास त्यागेर त्यसलाई समभावले नियाल्ने प्रयत्न गर्नुछ । अब मलाई आफ्नो विगतका इच्छा पूरा गर्नुछैन, भगवान्ंको इच्छामा लीन हुने साधना गर्नुछ । आफ्नो नाम र कृर्ति फैलाउने रहर त्यागेर हरेक कर्महरूलाई श्रीकृष्णको श्रीचरणमा अर्पण गर्दै उहाँकै गुण, कथा, लिलाको गायनमा यस देहलाई समर्पण गर्नुछ ।
आज म आफ्नो सम्पूर्ण विगतलाई भगवान् श्रीकृष्णको चरणमा समर्पित गर्दै अब बाँकी जीवन ‘मैले के पाएँ र के पाउन बाँकी छ ?’ भन्ने प्रश्न छाडेर ‘मैले के परब्रम्हा परमात्मा, प्रकृति र पुरुष (प्राणी) लाई के दिएँ ? र अझै के दिनसक्छु’ भन्ने भावमा अघि बढ्नै सत्संकल्प गर्दैछु ।
जीवनको असली सफलता कति धन, पद, प्रतिष्ठा, वैभव र ऐश्वर्य कमाइयो भन्ने कुराले होइन, आत्माबोधको मार्गमा कति पाईला इमान्दार भएर अघि सारियो भन्नेमा छ ।
आमाको गर्भबाट जन्मनु केवल एक जैविक जन्म हो । तर, अज्ञानबाट ज्ञानतर्फ, मोहबाट प्रेमतर्फ, म रुपी अहंकारबाट उहाँ रुपी समर्पण तर्फ रुपान्तिरित हुनु आध्यात्मिक जन्म हो । र यही आध्यात्मिक जन्मको प्रतीक्षामा ईश्वर हामीभित्रै बसेर निरन्तर पुकारिरहनुभएको छ । अनि, आध्यात्मिक जन्मको चरम सफलता भनेको परमात्मा प्राप्ति, मोक्ष प्राप्ति, आत्मबोध वा ब्रम्हज्ञान प्राप्त गर्नु हो ।
अन्त्यमा, भगवान् वाहेक यस सृष्टिमा कोही पनि पूर्ण छैन, हुँदैनन् । सबैमा कमजोरीहरू छन्, मनमा अनेक संस्कार र द्वन्द्वहरू रहन्छन् । तर, हामीले आफुलाई परिवर्तन गर्दै बाहिरी संसारसँग युद्ध गर्न छाडेर आत्म चेतना जागृत गर्न निरन्तर प्रयत्न गरिरहनुपर्छ ।
जब नामभन्दा सत्य ठूलो लाग्छ, प्रतिष्ठाभन्दा शान्ति प्यारो लाग्छ, र उपलब्धिभन्दा भगवद् अनुभूति अमूलल् लाग्छ तब हाम्रो प्रयास सफलता उन्मुख छ भनेर बुझ्नुपर्छ । यही अनुभुती सतत् रुपमा भईराख्यो भने एक दिन आत्मा र परमात्माबीच भेद रहने छैन । अर्थात्, मनुष्य देहमा नै रहेर पनि हामी देवतुल्य वा परमात्मा तुल्य बन्न सक्छौँ ।
तसर्थ, यस पावन तब अवसरमा मेरो प्रार्थना छ, हामी सबैको हृदयमा प्रेम जन्मियोस । कर्ममा धर्म जन्मियोस, वाणीमा सत्य र चेतनामा विवेक जन्मियोस । हाम्रो जीवनमै कृष्ण जन्मिनुहोस ।
विगतमा हामीले संसारमा आफ्नो पहिचान धेरै खोज्यौँ, अब आफूभित्र उहाँको पहिचान खोज्नु छ । जुन दिन यो ‘म’ रुपी अहंकार पूर्ण रूपमा उहाँको श्रीचरणमा विलीन हुनेछ, सायद त्यही दिन हाम्रो जीवनको वास्तविक श्रीकृष्ण जन्माष्टमी उत्सव हुनेछ ।
तसर्थ आउनुहोस् सबै मिलेर हृदयदेखि प्रार्थना गरौँ ।
हे दिनदयालु, भक्तवत्सल, करुणसिन्धु, कृपासिन्धु कृष्णचन्द्र !
मेरो विगत, मेरो वर्तमान र मेरो भविष्य सबै केही तपाईंमै समर्पित गर्दछु । यो देह, यो श्वास, यी कर्म सबै तपाईंका हुन् र जीवनको यो सम्पूर्ण यात्रा पनि तपाईंको नै हो ।
हे प्रभु !
मेरो अहंकार, मेरा इच्छा, मेरा भय र मेरा आसक्तिहरू सबै तपाईंको चरणकमलमा अर्पण गर्ने सामथ्र्य प्रदान गर्नुहोस् । मेरो अन्तर्मनमा यस्तो प्रकाश प्रज्वलित गरिदिनुहोस्, जहाँ म आफूलाई शरीर, नाम, पद वा परिचयका रूपमा होइन तपाईंको चेतनाको एक अंश, तपाईंमै निहित एक आत्मस्वरूप भएको परम सत्यलाई अनुभूति गर्न सकूँ । मलाई आफ्नै अन्तरहृदयमा तपाईंलाई खोज्न सिकाउनुहोस् । मेरो प्रत्येक श्वासमा तपाईंको स्मरण होस्, प्रत्येक कर्ममा तपाईंको भाव होस् र प्रत्येक क्षण तपाईंको चरणमा समर्पण होस् ।
हे सत्, चित्, आनन्दस्वरूप प्रभु !
म तपाईंको यस दिव्य लिलाको एक अंश, मेरो र चराचर जगतको सबै अस्तित्व तपाईँमा निहित छ र अन्ततः म तपाईंमै विलीन हुनेछ । मलाई त्यस्तो बुद्धि दिनुहोस्, जसले सत्यलाई चिन्न सकोस् । त्यस्तो हृदय दिनुहोस् जसले सबैप्रति निस्वार्थ प्रेम गर्न सकोस् र त्यस्तो चेतना दिनुहोस् जसले अन्ततः ‘म’ र ‘तपाईँ’ बीचको भेद समाप्त भएको परम सत्य अनुभूति गर्न सकोस् ।
जय जय श्री राधेश्याम ! !
0 प्रतिकृया