Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० आरोहीको निधन

एक्सन खबर
साउन, १६, २०८३


विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० आरोहीको निधन

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा विश्व कीर्तिमानधारी निर्मल पुर्जा ‘निम्स दाइ’ को पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ब्रोड पिक (८,०५१ मिटर) आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ । बिहीबारदेखि सम्पर्कविहीन रहेका पुर्जाको मृत्यु भएको जानकारी उनले स्थापना गरेको एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

संस्थाले जारी गरेको वक्तव्यमा गहिरो दुःख व्यक्त गर्दै ब्रोड पिकमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित अन्य आरोहीहरूको पनि ज्यान गएको जनाएको छ । दुर्घटनापछि पाकिस्तानी सेना, अनुभवी उद्धार टोली, हेलिकप्टर, ड्रोन तथा के–टू क्षेत्रमा रहेका आरोहीहरूको सहयोगमा लगातार खोजी अभियान सञ्चालन गरिएको थियो । शनिबार पुनः बिहानदेखि खोजी कार्य अघि बढाइएपछि अपराह्न पुर्जासहित सम्पूर्ण बेपत्ता आरोहीको निधन भएको पुष्टि भएको हो ।

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली बिहीबार बिहान करिब ६ हजार ७ सय मिटरको उचाइमा पुगेका बेला अचानक आएको हिमपहिरोमा परेको थियो । टोलीमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पाका साथै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस सहभागी थिए । दुर्घटनामा सबै १० जनाले ज्यान गुमाएका छन् ।

उद्धार अभियानमा पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन र विशेष उद्धार टोली परिचालन गरिएको थियो । प्रतिनिधिसभा सदस्य तथा अनुभवी पर्वतारोही मिङ्मा डेभिड शेर्पा पनि विशेष टोलीसहित खोजी अभियानमा सहभागी भएका थिए । कठिन मौसम र हिमपहिरोका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो ।

४२ वर्षीय निर्मल पुर्जा नेपाली पर्वतारोहणका मात्र होइन, विश्व पर्वतारोहणकै सबैभन्दा प्रभावशाली आरोहीमध्ये एक मानिन्थे । उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए । यसअघि दक्षिण कोरियाका किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका थिए । उनले उक्त अभियानलाई ‘प्रोजेक्ट पसिबल’ नाम दिएका थिए, जसले विश्वभर ठूलो चर्चा बटुलेको थियो ।

सन् २०२१ मा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल के–टूलाई पहिलो पटक जाडो याममा सफलतापूर्वक आरोहण गरेर अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । दशकौँसम्म असम्भव मानिएको यो आरोहण सफल भएपछि नेपाली पर्वतारोहणको क्षमता विश्वसामु थप स्थापित भएको थियो ।

निर्मल पुर्जाको जन्म म्याग्दीमा भएको थियो भने उनको बाल्यकाल चितवनमा बितेको थियो । उनले करिब १५ वर्ष बेलायती सेनामा सेवा गरेका थिए । गोर्खा रेजिमेन्टमा सेवा गरेपछि उनी बेलायतको विशेष नौसैनिक फौज ‘स्पेसल बोट सर्भिस (एसबीएस)’ मा छनोट हुने पहिलो गोर्खा सैनिक बनेका थिए । सन् २०१२ मा सेना छाडेपछि उनले हिमाल आरोहणलाई जीवनको मुख्य लक्ष्य बनाए ।

सगरमाथा आधार शिविर पुगेपछि आफ्नै देशका हिमाल आरोहण गर्ने प्रेरणा प्राप्त भएको उनले विभिन्न अन्तर्वार्तामा उल्लेख गरेका थिए । सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा ‘डेथ जोन’ मा समस्यामा परेका एक विदेशी आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय प्रशंसा बटुलेका थिए । यही साहसिक कार्य र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप बेलायतकी महारानी एलिजाबेथ द्वितीयले उनलाई सन् २०१८ मा ‘एमबीई’ सम्मान प्रदान गरेकी थिइन् । त्यसैगरी सन् २०२० मा उनलाई एसियाली अल्पाइन संघले प्रतिष्ठित ‘पियोले डे’ओर’ सम्मानबाट पनि विभूषित गरेको थियो ।

निर्मल पुर्जाको संघर्ष, साहस र सफलतामा आधारित नेटफ्लिक्सको चर्चित वृत्तचित्र १४ पिक्स: नथिङ इज इम्पोसिबल विश्वभर लोकप्रिय बनेको थियो । उनले आफ्नो पर्वतारोहण यात्राबारे बियोन्ड पसिबल शीर्षक पुस्तक पनि प्रकाशित गरेका छन् ।

यसपटक उनी आफ्नै विश्व कीर्तिमानलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा थिए । पूरक अक्सिजन बिना विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने लक्ष्यसहित उनी पाकिस्तान पुगेका थिए । ब्रोड पिक सफलतापूर्वक आरोहण गरेपछि चोयू हिमाल मात्र बाँकी रहने उनले अभियानअघि सामाजिक सञ्जालमार्फत उल्लेख गरेका थिए । उनले लेखेका थिए, “मेरो एक मात्र प्रतिस्पर्धा म आफैँसँग थियो । म हिजोभन्दा आज राम्रो बन्ने प्रयासमै थिएँ।” साथै ब्रोड पिक आरोहणअघि “सुरक्षित रूपमा माथि पुगेर फर्किन सकूँ” भन्ने कामना पनि व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीद्वारा दुःख प्रकट

दुर्घटनापछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै निर्मल पुर्जासहित ज्यान गुमाएका सम्पूर्ण नेपाली तथा विदेशी आरोहीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्दै दिवंगत आरोहीहरूको योगदान इतिहासमा सधैँ जीवित रहने बताएका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

निर्मल पुर्जाको असामयिक निधनले नेपालले एक साहसी पर्वतारोही, प्रेरणादायी व्यक्तित्व र विश्वमञ्चमा नेपाली पहिचानलाई गौरवका साथ स्थापित गर्ने असाधारण अभियन्ता गुमाएको छ । उनले कायम गरेका कीर्तिमान, मानवीय साहस र पर्वतारोहणप्रतिको समर्पण आगामी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहनेछन् ।













0 प्रतिकृया