‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, स्वास्थ्य र आत्मविश्वास बढाउँछ’
एक्सन खबर
काठमाडौं । अत्तरखेल–जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ । ‘जीवनको दिगो सुरुआतका लागि स्तनपान: प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ’ भन्ने सन्देशसहित सुरु गरिएको कार्यक्रममा चिकित्सकहरूले स्तनपान सम्बन्धी विभिन्न भ्रम चिर्दै यसको स्वास्थ्यगत महत्वबारे जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसूति रोग विभागकी विभागीय प्रमुख तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. रिता मरहठ्ठाले स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन् । नियमित स्तनपान गराउने महिलामा स्तन तथा पाठेघर सम्बन्धी क्यान्सरको जोखिम कम हुने, प्रसूति पश्चात् पाठेघर चाँडै सामान्य अवस्थामा फर्किन सहयोग पुग्ने र शारीरिक पुनःस्थापनामा समेत स्तनपान प्रभावकारी हुने उनको भनाइ थियो ।
पछिल्लो समय स्तनपान गराउँदा महिलाको शारीरिक सौन्दर्यमा असर पर्छ भन्ने भ्रम समाजमा फैलिएको उल्लेख गर्दै उनले यस्तो धारणा वैज्ञानिक आधारविहीन रहेको स्पष्ट पारिन् । “स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, बरु उनीहरूको स्वास्थ्य, आत्मविश्वास र प्राकृतिक सौन्दर्यलाई अझ सुदृढ बनाउँछ । नियमित स्तनपानले आमा र बच्चा दुवैलाई दीर्घकालीन फाइदा पुग्छ,” उनले भनिन् ।
बालरोग विशेषज्ञ प्रा.डा. गणेश साहले जन्मेदेखि पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्नेमा जोड दिए । आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने र संक्रमणबाट जोगाउने उनले बताए ।
उनले जन्मिएलगत्तै दूध नआएको भन्दै हतारमा फर्मुला दूध प्रयोग गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । “कहिलेकाहीँ जन्मिएपछि तुरुन्तै दूध नआउन सक्छ वा शिशुले सुरुमा राम्रोसँग दूध नखान सक्छ । त्यसो भन्दैमा फर्मुला दूधतर्फ जानु हुँदैन । आमाको दूधजत्तिको पूर्ण पोषण नवजात शिशुका लागि अर्को कुनै विकल्प हुन सक्दैन,” उनले भने ।
अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले सामाजिक सञ्जाल र केही सार्वजनिक व्यक्तित्वबाट फैलाइएका गलत धारणाका कारण कतिपय महिलाले स्तनपानबाट टाढिन थालेको उल्लेख गर्दै वैज्ञानिक तथ्यमा आधारित सचेतना आवश्यक रहेको बताए । स्तनपानले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन् । नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रमका क्रममा नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूले सेवाग्राहीलाई स्तनपान गराउने सही तरिका, आमाको दूधका फाइदा तथा स्तनपानसम्बन्धी सामान्य जिज्ञासाको समाधानबारे परामर्श दिएका थिए । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह अन्तर्गत नेपाल मेडिकल कलेजले साताभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
0 प्रतिकृया