Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


आमाको अधुरो सपना पुरा गर्दै दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड–२०२६

एक्सन खबर
साउन, १६, २०८३


आमाको अधुरो सपना पुरा गर्दै दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड–२०२६

काठमाडौं । तीन दशकअघि आमाले अधुरै छाड्नुपरेको सपना यसपटक छोरीले साकार पारेकी छन् । हङकङमा जन्मिएकी तथा दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि जित्दै आफ्नो परिवार मात्र होइन, विश्वभर फैलिएको नेपाली समुदायलाई गर्व गर्ने अवसर दिएकी छन् ।

ललितपुरस्थित द प्लाजा, पुल्चोकमा सम्पन्न मिस नेपाल–२०२६ को ग्राण्ड फिनालेमा अन्तिम प्रतिस्पर्धीहरूलाई पछि पार्दै दीपमाला विजेता घोषित भइन् । यसै प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल–२०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ घोषित भए ।

दीपमालाको यो सफलता केवल सौन्दर्य प्रतियोगिताको उपाधिमा सीमित छैन । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो पुस्ताकी संयोजकसमेत हुन् । गत चैतमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट पहिलोपटक विधानमै व्यवस्था गरिएको ‘सेकेन्ड जेनेरेसन कोअर्डिनेटर’ पदमा उनी निर्वाचित भएकी थिइन् । 

उनको विजयले विश्वभर रहेका लाखौँ दोस्रो पुस्ताका नेपाली युवालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिन प्रेरित गर्ने विश्वास एनआरएनएका पदाधिकारीहरूले व्यक्त गरेका छन् । हङकङमै मिस नेपाल हङकङको उपाधि जितेकी उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी तथा कुशल म्याराथन धावकसमेत हुन् ।

दीपमालाको यात्रालाई अझ भावुक बनाउने पक्ष भने उनको पारिवारिक इतिहास हो । सन् १९९४ मा नेपालमा पहिलोपटक आयोजना भएको मिस नेपाल प्रतियोगितामा उनकी आमा रोशनी खरेल पनि प्रतिस्पर्धी थिइन् । त्यतिबेला सामाजिक सोच र पारिवारिक अवरोधका कारण उनले आफ्नो सपना पूरा गर्न सकिनन् । शनिबार छोरीको नाम विजेताका रूपमा घोषणा हुँदा रोशनीका आँखामा खुशीका आँसु थिए ।

२३ वर्षीया दीपमालाले अर्थशास्त्रमा स्नातक गरेकी छन् । उनी विश्वकै अग्रणी अमेरिकी लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा इन्भेस्टमेन्ट एनालिस्टका रूपमा कार्यरत थिइन् । आकर्षक अन्तर्राष्ट्रिय करिअर र सुरक्षित भविष्य हुँदाहुँदै उनले नयाँ पहिचान निर्माण गर्न नेपाल रोजिन् । उनका बुबा सुरेन्द्रकुमार ढकाल हङकङमा इन्जिनियर हुन् ।

दीपमालाको जितले एउटा सन्देश स्पष्ट गरेको छ—दूरीले मातृभूमिसँगको सम्बन्ध कमजोर बनाउँदैन । बरु संस्कार, पहिचान र सपनाले संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई एउटै भावनामा बाँधिरहन्छ । आमाको अधुरो सपना पूरा गर्दै दीपमालाले मिस नेपालको ताज मात्र जितेकी छैनन्, उनले विश्वभरका नेपाली युवाका लागि सम्भावनाको नयाँ अध्याय पनि खोलेकी छन् ।














0 प्रतिकृया