Follow us:


Follow us

२१ साउन २०८३, बिहिवार
२१ साउन २०८३, बिहिवार


इन्टर्नशिप भत्ता विवादमा निजी मेडिकल कलेजहरूको स्पष्ट धारणा : अध्ययन र स्वास्थ्य सेवा प्रभावित नगर्न आग्रह

एक्सन खबर
साउन, २१, २०८३


इन्टर्नशिप भत्ता विवादमा निजी मेडिकल कलेजहरूको स्पष्ट धारणा : अध्ययन र स्वास्थ्य सेवा प्रभावित नगर्न आग्रह

काठमाडौं । निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप भत्ताको विषयलाई लिएर अध्ययन–अध्यापन तथा स्वास्थ्य सेवा प्रभावित हुने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।

एसोसिएसनले जनहितमा जारी गरेको सूचनामा इन्टर्नशिप एमबीबीएस तथा बीडीएस अध्ययनको अनिवार्य र अभिन्न शैक्षिक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई श्रम सम्बन्ध वा रोजगारीसँग जोडेर व्याख्या गर्न नमिल्ने स्पष्ट पारेको छ । कलेजमा भर्ना हुँदाकै अवस्थामा विद्यार्थीलाई साढे चार वर्षको सैद्धान्तिक अध्ययनपछि एक वर्षको अनिवार्य इन्टर्नशिप पूरा गर्नुपर्ने व्यवस्था जानकारी गराइने भएकाले हालको व्यवस्थामा कुनै परिवर्तन नगरिएको संस्थाले जनाएको छ ।

एसोसिएसनका अनुसार इन्टर्नशिप चिकित्साशिक्षाको सबैभन्दा महत्वपूर्ण चरणमध्ये एक हो, जहाँ विद्यार्थीहरूले शल्यचिकित्सा, मेडिसिन, प्रसूति तथा स्त्रीरोग, आकस्मिक सेवा, क्रिटिकल केयरलगायतका विभागमा प्रत्यक्ष अभ्यासमार्फत आवश्यक व्यावहारिक सीप हासिल गर्छन् । त्यसैले यस प्रक्रियामा अवरोध आउनु विद्यार्थी, कलेज र समग्र स्वास्थ्य क्षेत्रकै हितविपरीत हुने संस्थाको भनाइ छ ।

सूचनामा निजी मेडिकल कलेजहरूले इन्टर्नशिप शीर्षकमा कुनै छुट्टै शुल्क नलिएको दाबी गरिएको छ । विगतमा इन्टर्नशिप शुल्कबाट केही रकम इन्टर्न चिकित्सकलाई उपलब्ध गराउने व्यवस्था रहे पनि चिकित्सा शिक्षा आयोग गठनपछि इन्टर्नशिप शुल्क लिने व्यवस्था हटाइएकाले त्यसयता त्यस्तो शुल्क नलिइएको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले कानुनी बाध्यता नभए पनि प्रोत्साहनस्वरूप इन्टर्न चिकित्सकलाई हाल मासिक १३ हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएको जनाएको छ । यसअघि उक्त रकम क्रमशः १ हजार ५००, ३ हजार र ६ हजार रुपैयाँ रहेको उल्लेख गर्दै कुनै कानुन, विश्वविद्यालयको पाठ्यक्रम वा नियामक व्यवस्थाले इन्टर्न चिकित्सकलाई निश्चित रकम अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था नगरेको दाबी गरिएको छ ।

हाल इन्टर्न चिकित्सकहरूले मासिक ३२ हजार रुपैयाँ भत्ताको माग गरिरहेका सन्दर्भमा आवश्यक आर्थिक स्रोत सुनिश्चित नगरी उक्त माग पूरा गर्न सम्भव नभएको एसोसिएसनले जनाएको छ । भविष्यमा नयाँ भर्ना हुने विद्यार्थीका हकमा भने शुल्क संरचना, उपलब्ध गराइने सुविधा तथा आवश्यक आर्थिक स्रोतबारे चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र सम्बन्धित निकायसँग छलफल गर्न आफूहरू तयार रहेको संस्थाले उल्लेख गरेको छ ।

इन्टर्न चिकित्सकहरू विश्वविद्यालयको अध्ययनक्रम पूरा गरिरहेका विद्यार्थी भएकाले उनीहरूलाई कर्मचारी वा श्रमिकका रूपमा परिभाषित गर्न नमिल्ने एसोसिएसनको धारणा छ । विश्वविद्यालयको नियम, पाठ्यक्रम र निर्देशनअनुसार नै मेडिकल कलेजहरूले काम गरिरहेको उल्लेख गर्दै राज्य वा नियामक निकायले आवश्यक आर्थिक स्रोत सुनिश्चित गरे सोहीअनुसारको व्यवस्था कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको पनि सूचनामा जनाइएको छ ।

एसोसिएसनले सबै विद्यार्थीलाई आन्दोलन, अनशन वा टकरावभन्दा अध्ययन र इन्टर्नशिप सफलतापूर्वक सम्पन्न गरी चिकित्सकीय भविष्य निर्माणमा केन्द्रित हुन आग्रह गरेको छ ।













0 प्रतिकृया