Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


रसुवा–भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाएकाप्रति नेपाल मेडिकल कलेजद्वारा श्रद्धाञ्जली सँगै राहत सहयाेगकाे घाेषणा

एक्सन खबर
भदौ, २२, २०८३


रसुवा–भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाएकाप्रति नेपाल मेडिकल कलेजद्वारा श्रद्धाञ्जली सँगै राहत सहयाेगकाे घाेषणा

काठमाडौं । रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति नेपाल मेडिकल कलेजले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै राहत सहयाेगकाे घाेषणा गरेकाे छ । सोमबार कलेजकाे हलमा आयोजित शोकसभामा कलेजका सञ्चालक, प्राध्यापक, चिकित्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरूले दिवंगत नागरिकहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत केरुङ, त्रिशूली, बेत्रावती, स्याफ्रुबेसीलगायतका क्षेत्र प्रभावित भएका थिए । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ नागरिक प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल मेडिकल कलेजले शोकसभा आयोजना गरेको हो । सरकारले पनि आज राष्ट्रिय शाेक मनाएकाे छ ।

कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन एवं बेपत्ता नागरिकहरूको यथाशीघ्र खोज तथा उद्धारको कामना गरिएको थियो ।

शोकसभामा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन, प्राचार्य प्रा.डा. मोदनाथ मरहट्टा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायत कलेजका प्राध्यापक, चिकित्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित नागरिकसँग राज्य, सामाजिक संस्था तथा स्वास्थ्य संस्थाहरू एकजुट भएर उभिनुपर्ने कलेजकाे भनाइ छ । विपत्तिमा परेका नागरिकलाई संवेदना मात्र नभई तत्कालीन राहत, उद्धार, उपचार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताइएकाे छ ।

साे अवसरमा नेपाल मेडिकल कलेजका शिक्षक, कर्मचारी तथा नर्सहरूले बाढीपहिरोबाट प्रभावित नागरिकका लागि आफ्नो एक दिनको तलब सहयोग गर्ने घाेषणा गरेका छन् । कर्मचारी तथा फ्याकल्टीबाट संकलित उक्त रकममा कलेजले समेत ७० प्रतिशत रकम थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएकाे छ ।

कलेजले उक्त सहयोगलाई आर्थिक सहयोगका रूपमा मात्र नभई विपत्तिमा परेका नागरिकप्रतिको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र ऐक्यबद्धताको प्रतिबद्धताका रूपमा लिएको जनाएको छ ।

कलेजले रसुवा बाढीबाट प्रभावित नागरिकहरूको निःशुल्क उपचार गर्ने घोषणा यसअघि नै गरिसकेको छ । विपत्तिका कारण स्वास्थ्य संकटमा परेका नागरिकलाई उपचारको पहुँचबाट वञ्चित हुन नदिन कलेजले आफ्नो स्वास्थ्य सेवा र जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्ने जनाएको थियाे ।

स्वास्थ्य सेवा केवल व्यवसाय नभई मानवीय सेवा भएको उल्लेख गर्दै प्राकृतिक विपत्ति तथा अन्य संकटका समयमा नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कलेजले प्रतिबद्धता व्यक्त गरेको छ ।



















0 प्रतिकृया