Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


खरानीपछि उज्यालो — जेन–जीको नयाँ संकल्प

एक्सन खबर
भदौ, २४, २०८३


खरानीपछि उज्यालो — जेन–जीको नयाँ संकल्प

गोबिन्द राज ओझा (राजन)

खरानीमाथि उभिएर

आज शपथ खाऔँ,

जलिसकेका सपनालाई

फेरि फूल बनाऔँ ।

रगतले लेखिएको इतिहास

मेटिन नदिऔँ,

सहिदका अधुरा सपनामा

नयाँ रंग भरौँ ।

हिजोको त्यो आक्रोशलाई

आज विवेक दिऔँ,

टुटेका ती संरचनालाई

फेरि बलियो गरौँ ।

ढाल्न सक्ने हातले अब

बनाउन पनि सिकौँ,

देश बदल्ने यात्राभित्र

आफू पनि बदलिऔँ ।

युवा भनेको आँधी मात्रै

युवा भनेको आगो होइन,

युवा भनेको राष्ट्र उठाउने

अटल भरोसा हो ।

ज्ञान बोकेको मस्तिष्क हो,

श्रम बोकेको हात,

सत्य बोकेको हृदय हो

नेपालको प्रभात ।

हामी प्रश्न गर्ने पुस्ता,

उत्तर पनि खोजौँ,

गल्ती देख्दा औँला होइन

उपाय अघि रोजौँ ।

सत्ता बदल्नु मात्रै होइन

प्रणाली बदलौँ,

कुर्सी होइन जनताको

जीवन सहज पारौँ ।

नातावादका जालहरू

अब चुँडिनुपर्छ,

भ्रष्टाचारको कालो बादल

आकाशबाट हट्नुपर्छ ।

योग्यताको सम्मान हुने

व्यवस्था अब चाहिन्छ,

श्रम गर्ने युवाको हातमा

अवसर आउनुपर्छ ।

गाउँघरका ती बाटाहरू

सहरसँग जोडिऊन्,

परदेशिएका युवाहरू

स्वदेशमै फर्किऊन् ।

आमाको आँसु पुछिने

दिन अब आउनुपर्छ,

बाको पसिनाको मूल्य

देशमै पाउनुपर्छ ।

हिमाल हाँसोस्, पहाड हाँसोस्,

तराई मुस्काओस्,

मेचीदेखि महाकालीसम्म

नेपाल एक गाओस् ।

भाषा फरक, भेष फरक

मन एउटै होस्,

जातभन्दा माथि उठेको

राष्ट्रप्रेम होस् ।

सीमामा उभिएका जवानको

सम्मान गर्न सिकौँ,

माटोको प्रत्येक कणलाई

आफ्नो भन्न सिकौँ ।

कालापानीको पीडा होस्

वा सीमाको सवाल,

कूटनीति र साहस बोकी

राखौँ देशको भाल ।

राष्ट्रवाद नारामा मात्रै

सीमित हुनु हुँदैन,

देशप्रेम भाषणभित्र

बन्दी हुनु हुँदैन ।

कर तिर्ने नागरिकदेखि

सीमा जोगाउनेसम्म,

सबैको इमानदार कर्म नै

देशभक्ति हो झन् ।

संसद् जनताको घर होस्,

सिंहदरबार सेवा,

अदालतमा न्याय बोलोस्

नहोस् कुनै खेवा ।

प्रशासनमा पारदर्शिता,

शासनमा इमान,

जनताको अनुहारमा देखियोस्

सुखको मुस्कान ।

हामीले जलाएका पानाभित्र

इतिहास पनि थियो,

हामीले तोडेका ढोकाभित्र

जनविश्वास पनि थियो ।

त्यसैले अब पश्चात्तापले

मन शुद्ध पारौँ,

विनाशको त्यो बाटोलाई

निर्माणतर्फ सारौँ ।

आन्दोलनको अर्थ बुझौँ,

अराजकता होइन,

स्वतन्त्रताको अर्थ पनि

मनपरी त होइन ।

अधिकारसँगै कर्तव्यको

पाठ पढ्नुपर्छ,

लोकतन्त्र जोगाउन सबैले

जिम्मेवार बन्नुपर्छ ।

सहिदको नाम बेचेर

कुर्सी नकिनियोस्,

घाइतेका पीडामाथि

राजनीति नबुनियोस् ।

रगतको मूल्य पद होइन,

न्याय हुनुपर्छ,

बलिदानको सम्मान अब

व्यवहारमा हुनुपर्छ ।

जेन–जीको आवाजलाई

इतिहासले सुन्नेछ,

सत्य थियो कि भूल थियो

समयले नै चुन्नेछ ।

तर भविष्यको नेपाल भने

हाम्रो हातमा छ,

आजको कर्मले भोलिको

इतिहास लेख्छ ।

नयाँ नेपाल भन्नु केवल

नयाँ भवन होइन,

नयाँ सडक, नयाँ नारा

मात्र परिवर्तन होइन ।

नयाँ सोच, नयाँ संस्कार,

नयाँ चरित्र चाहिन्छ,

नागरिक र शासनबीच

विश्वासको सेतु चाहिन्छ ।

अब न फुटौँ विचारले,

न फुटौँ जातले,

न फुटौँ भूगोलको नाममा

न फुटौँ घातले ।

हिमाल, पहाड, तराईलाई

एउटै माला गाँसौँ,

नेपाल आमाको काखमा

साझा भविष्य हाँसौँ ।

पुरानो पुस्ताको अनुभव,

नयाँ पुस्ताको जोस,

दुवै मिल्दा देश बन्छ

बलियो अनि दोषरहित ।

बाको ज्ञान, छोराको सपना

एकै ठाउँ राखौँ,

अनुभवमाथि ऊर्जाको

नयाँ दीप बालौँ ।

अब कुनै नेपाली युवा

रोजगारी खोज्दै नरोओस्,

आमाको काख छोडेर

परदेश जान नपरोस् ।

सीप, शिक्षा, उद्योग, कृषि

देशमै फस्टाओस्,

मेहनत गर्ने प्रत्येक हातले

सम्मानित जीवन पाओस् ।

न्याय माग्दा डर नहोस्,

सत्य बोल्दा त्रास नहोस्,

पत्रकारको कलममाथि

कुनै बन्देज नहोस् ।

प्रश्न गर्ने नागरिक नै

लोकतन्त्रको प्राण,

सत्ता जनताको सेवक होस्—

यही हाम्रो ज्ञान ।

म आगो हुँ तर

घर जलाउने आगो होइन,

अन्धकार हटाउने

दीप बनेको आगो हुँ ।

म विद्रोह हुँ तर

घृणा बोकेको होइन,

अन्यायविरुद्ध उठेको

सत्यको आवाज हुँ ।

म जेन–जी हुँ—

तर म एक्लो होइन,

मभित्र पुरानो पुस्ताको

अनुभव पनि छ ।

मभित्र किसानको पसिना,

सिपाहीको रगत,

श्रमिकको हात र आमाको

ममताको सुगन्ध छ ।

त्यसैले आज घोषणा गरौँ—

देश कसैको निजी होइन,

सत्ता कसैको पेवा होइन ।

नेपाल सबै नेपालीको,

कर्तव्य पनि साझा,

अधिकार पनि साझा ।

आउनुहोस्, हातेमालो गरौँ,

घृणा सबै त्यागौँ,

विगतका ती गल्तीबाट

भोलिको पाठ मागौँ ।

प्रतिशोध होइन न्याय रोजौँ,

विभाजन होइन मेल,

खरानीबाट उठाएर

बनाऔँ सुन्दर नेपाल ।

सहिदका ती सपनाहरू

आँखाभित्र राखौँ,

आमाको त्यो आशिषलाई

मुटुभित्रै राखौँ ।

बाको त्यो अर्ती सम्झौँ—

‘देशको सेवा गर्’,

त्यही वचन बोकेर अब

नेपाल अघि बढाऔँ ।

म जेन–जी आन्दोलन हुँ,

म जागरणको गीत,

म सहिदको रगतभित्र

बाँचेको नवप्रीत ।

म परिवर्तनको शंख हुँ,

म निर्माणको हात,

म नयाँ नेपालको सपना हुँ—

म नेपालीको साथ।

खरानीपछि उज्यालो हुन्छ,

रातपछि प्रभात,

आज मिलेर अघि बढे

बन्छ सुन्दर राष्ट्र ।

नयाँ पुस्ता, पुरानो पुस्ता—

सबै एउटै प्राण,

नेपाल हाम्रो साझा घर हो,

नेपाल हाम्रो शान ।













0 प्रतिकृया