Follow us:


Follow us

३० भदौ २०८३, मङ्गलवार
३० भदौ २०८३, मङ्गलवार


विपद्मा नेपाल इन्जिनियरिङ कलेजको साथः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख बढी सहयोग

एक्सन खबर
भदौ, २९, २०८३


विपद्मा नेपाल इन्जिनियरिङ कलेजको साथः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख बढी सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख २ हजार ६ सय ४३ रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै कलेजले प्राध्यापक, कर्मचारी तथा कलेजको आफ्नै तर्फबाट संकलित रकम कोषमा हस्तान्तरण गरेको हो ।

साेमबार कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी नेतृत्वकाे टाेलीले अर्थ मन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई उक्त रकमकाे चेक हस्तान्तरण गरेकाे कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए । सहयाेग रकम बुझ्दै अर्थमन्त्री डा. वाग्लेले विपद्काे याे घडीमा सरकारलाई साथ दिएकाेमा नेपाल इन्जिनियरिङ कलेज प्रति आभार प्रकट गरे ।

भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा प्रभावित परिवारहरूलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना आवश्यक रहेको अवस्थामा कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । कलेजले संकटको घडीमा समुदायको साथमा उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता तथा समर्थन व्यक्त गरेको छ ।

कलेजका अनुसार उक्त सहयोग रकम प्राध्यापक तथा कर्मचारीको योगदानसँगै कलेजको तर्फबाट थप सहयोग जुटाएर संकलन गरिएको हो । विपद्मा राज्य तथा सम्बन्धित निकायले सञ्चालन गर्ने राहत, उद्धार र पुनर्स्थापना अभियानलाई सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताइएको छ ।

“विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु हाम्रो सामाजिक दायित्व हो,” भन्ने भावनाका साथ कलेजले सहयोगलाई केवल आर्थिक योगदानका रूपमा नभई प्रभावित समुदायप्रतिको ऐक्यबद्धताको अभिव्यक्तिका रूपमा लिएको छ । कलेजले सबै पक्ष एकजुट भएर विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र सामान्य जनजीवनमा फर्काउन सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाल इन्जिनियरिङ कलेज केवल प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको मुनाफारहित सामाजिक शैक्षिक संस्था हो । भक्तपुरको चाँगुनारायणमा अवस्थित कलेजले इन्जिनियरिङका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले गुणस्तरीय प्राविधिक शिक्षासँगै विद्यार्थीको व्यावहारिक तथा प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिएको छ । विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने बनाउने उद्देश्यले प्रयोगात्मक शिक्षण विधिलाई प्रभावकारी रूपमा अघि बढाइएको कलेजको भनाइ छ ।

विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन कलेजले फुलटाइम फ्याकल्टीको व्यवस्थापन गरेको छ । अनुभवी तथा विषयगत दक्ष प्राध्यापकको प्रत्यक्ष संलग्नताले विद्यार्थीलाई नियमित शैक्षिक मार्गदर्शन, प्रयोगात्मक अभ्यास तथा परियोजनामूलक सिकाइको अवसर प्राप्त हुने गरेको छ ।

त्यसैगरी, कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै विद्यार्थीलाई विश्वव्यापी शैक्षिक अभ्यास, प्रविधि र अनुसन्धानसँग जोड्ने प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय सहकार्य, प्रयोगात्मक शिक्षण र दक्ष फ्याकल्टीको संयोजनले कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा आवश्यक ज्ञान तथा सीप हासिल गर्न सहयोग पुग्ने गरेको छ ।

यस्तै नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीमैत्री शिक्षाका लागि छात्रवृत्तिलाई पनि महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ । कलेजले हरेक वर्ष झन्डै १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका तथा योग्य विद्यार्थीलाई उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नदिन छात्रवृत्ति कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

गुणस्तरीय प्राविधिक शिक्षा, फुलटाइम फ्याकल्टी, प्रयोगात्मक शिक्षण, अन्तर्राष्ट्रिय सहकार्य तथा उल्लेख्य छात्रवृत्ति कार्यक्रमका कारण याे कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ ।













0 प्रतिकृया