Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक नेपाल इन्जिनियरिङ कलेजको भ्रमणमा

एक्सन खबर
साउन, १४, २०८३


पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक नेपाल इन्जिनियरिङ कलेजको भ्रमणमा

काठमाडौं । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेले नेपाल इन्जिनियरिङ कलेजको भ्रमण गर्दै कलेजले नेपालको इन्जिनियरिङ शिक्षाको विकास तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । बिहीबार कलेजको भ्रमणका क्रममा उनले कलेजको भौतिक पूर्वाधार, शैक्षिक वातावरण, दक्ष प्राध्यापक तथा पठनपाठन प्रणालीको प्रशंसा गर्दै नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा अभिवृद्धिमा समेत उल्लेखनीय भूमिका खेलेको बताए । कार्यवाहक प्राचार्य मोहनध्वज केसी तथा विभिन्न विभागीय प्रमुखहरूसँगको छलफलमा परीक्षा नियन्त्रक पाण्डेले कलेजको शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउन तथा परीक्षा, पाठ्यक्रम र शैक्षिक प्रशासनसँग सम्बन्धित समस्याको समाधानका लागि विश्वविद्यालय आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । छलफलका क्रममा कलेजका प्राध्यापकहरूले पनि विश्वविद्यालय र कलेजबीचको सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए । उनीहरूले कलेजमा विश्वविद्यालयले परीक्षा केन्द्रका रूपमा राख्न पनि अनुराेध गरेका थिए । परीक्षा नियन्त्रक पाण्डेले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउँदै समयमै परीक्षा सञ्चालन गर्ने, निष्पक्ष र समयमै परीक्षाफल प्रकाशन गर्ने तथा विगतका कमजोरी सुधार गर्दै समयानुकूल शैक्षिक प्रणाली विकास गर्ने नीति अवलम्बन गरेको बताए। उनले विश्वविद्यालयका परीक्षा निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित कलेजहरूको सक्रिय भूमिका आवश्यक रहेको पनि उल्लेख गरे । सो अवसरमा कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक तथा प्रशासनिक अवस्थाबारे जानकारी गराउँदै कलेजले गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्नुका साथै दक्ष प्राविधिक जनशक्ति उत्पादन र पोखरा विश्वविद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । उनले विश्वविद्यालयले कलेज र विद्यार्थीहरूको बृहत्तर हितलाई केन्द्रमा राखी नीतिगत तथा शैक्षिक निर्णयहरू अघि बढाउनुपर्नेमा जोड दिए । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज देशकै अग्रणी इन्जिनियरिङ शिक्षालयमध्ये एक हो । २०५१ सालमा स्थापना भएको यो कलेज पोखरा विश्वविद्यालय स्थापना हुनुअघि नै सञ्चालनमा आएको थियो । तीन दशकभन्दा लामो इतिहास बोकेको कलेजले पोखरा विश्वविद्यालयसँगको सम्बन्धनमार्फत इन्जिनियरिङ शिक्षाको विस्तार, अनुसन्धान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ ।














0 प्रतिकृया