Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


गोरुलाई ओछ्याएको साेत्तरमाथि नवजात शिशुसहित सुत्केरीकाे बास

एक्सन खबर
असार, १७, २०७९


गोरुलाई ओछ्याएको साेत्तरमाथि नवजात शिशुसहित सुत्केरीकाे बास

खड्क सुनार
मुगु, १६ असार । जुम्ला जिल्लाको हिमा गाउँपालिका-५ की २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । शाही सुत्केरी भएपछि ९ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य भएकी हुन् ।

कर्णालीमा महिलाहरू महिनावारी हुँदा हालसम्म सात दिनसम्म अझै छाउगोठमा बस्नु पर्ने अवस्था कायमै रहेको समयमा सुत्केरी हुँदा पनि गोठमै बस्नु पर्ने अवस्था आएको छ । सुत्केरी हुँदा गोठमा बस्दा शिशुसँगै आमाको स्वास्थ्य निकै खतरामा रहन्छ ।
         
शाही ओछ्यानको तलतिर गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखि गोठमै दिन रात बिताइरहेकी छन् । अँध्यारो भित्री गोठमा झ्याल नहुनु, ढोका पनि सानो हुनु, उपयुक्त छिद्र नहुनुले आमा र शिशुलाई आगोको धुवाले अप्ठ्यारो पार्दै आएको छ । बच्चा जन्मिएको ६ हप्तालाई सुत्केरी समय भनिन्छ ।

सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई लालन पालनमा पहिलो प्राथमिकतामा राखेर बढी हेरचाह गरिनुको साथै पोसिलो खानपान, झोलिलो पदार्थमा बढी जोड दिनु पर्ने स्वास्थ्यकर्मीको तर्क छ । तर, सुदूरपश्चिम र कर्णालीमा देवी देवता रिसाउछन् भन्ने डरले सुत्केरी भएकै समयमा सुत्केरी आमालाई स्याहार सुहार त परै जावस अतः हेलचक्र्याइँ गरिँदै आएको अवस्था उहिलेदेखि अहिलेसम्म ज्युँका त्युँ छ ।   

सुत्केरी मनसुबा आफ्ना लागि आफैँ खाना पकाउने र गोठमा नै सुत्न बाध्य छिन् । सुत्केरी भएको बेला घरभित्र बस्दा देवी देवता रिसाउँछन् । त्यसैले सुत्केरी हुँदा गोठमा बस्नु परेको हो अवस्था आएको शाहीको गुनासो छ । उनले भनिन्, 'यस्तो बेला घरभित्रै बस्ने चाहना त हुन्छ नि तर परम्परागत मान्यताले घर भित्र गएमा शुभ हुँदैन । नौ दिन पुगेपछि चोखो पानी अन्य विभित धार्मिक कार्य सम्पन्न गरेर घरभित्र जान्छु ।'

मनसुवाका श्रीमान् दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न पटक-पटक गोठमा जान्छन् । बाहिर ढोकाबाटै सोध्छन्,‘अहिले अवस्था कस्तो छ मनसुबा ?’ रूढीवादी सामाजिक, कुसंस्कार, अन्धविश्वासले अडेको हाम्रो समाज नवजात शिशुसहित श्रीमतीलाई गोठमै राख्नु परेको दुखेसो श्रीमान् दिनेशको देखेको छ ।

घरका आमा, बुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नु परेको छ । महिनावारी भएको बेला त कुरै छाडौँ सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरूले खाँदैन ।

'म यता आफ्नो बच्चा र श्रीमतीको हेरचाह गर्न आउँदा पनि घर भित्र पस्ने बेला चोखिएर जानु पर्छ यदि यो गरिन भने मलाई पनि भित्र जान दिँदैनन्,' दिनेशले भने । जुम्लाकी मनसुबा मात्रै एक उदाहरणकी पात्र मात्र हुन् मुगु, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैँसी बाँध्ने गोठमा छाउ बस्नु पर्ने बाध्यता छन् ।

सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ । छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नु पर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका पञ्चकला नेपाली बताइन् ।  सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाईगोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा नमान्ने गरेको नेपालीको भनाई छ । परम्परागत रूपमा चल्दै आएको प्रचलन हो, यो प्रचलन लाई कसैले पनि रोक्न सक्दैनन् स्वयंसेविका नेपालीले भनिन् ।

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम र छाउगोठ भत्किएँ तर समाजको हेर्ने त्यो तुच्छ नजर कहिले भत्केन ।  वर्षौदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारी रूपमा काम गरेको देखिँदैन महिला विज्ञहरूको भनाई छ । हालसम्म ग्रामीण क्षेत्रमा महिनावारी र सुत्केरी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन यहाँका तिनै तहका सरकारले सकेका छैनन् ।
   
यस्तै, वर्षेनी राज्य र विभिन्न गैरसरकारी निकायबाट कर्णालीमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि अभियान सञ्चालनका नाममा करौडौं रकम खर्च हुँदै आएको छ । कर्णालीका ग्रामीण बस्तीहरूमा जनचेतना फैलाउने नाममा राज्यको करोडौँ रकम स्वाहा हुने गरे पनि कर्णालीका लागि राज्यको यो खर्च बालुवामा पानी सहर हुने गरेको छ ।

छाउगोठ भत्काउन आक्रामक बनेको सरकारले कर्णालीका नागरिकको मस्तिष्कबाट छाउ हटाउन सकेको छैन । छाउप्रथाविरुद्ध प्रशासन, स्थानीय सरकारले अभियान नै चलाएर पनि ती अभियान छाउपडी उन्मुलनविरुद्ध हुन नसक्दा कर्णालीका ग्रामीण भेगमा सुत्केरी हुँदासमेत गोठमा बस्नु बाध्यता कायमै छ ।

यहाँका तीनै तहका सरकारले यस्तो कुप्रथा, कुसंस्कृतिलाई समयमै न्यूनीकरण गर्न सकेन भने प्राय कर्णालीका महिलाहरूको अकालमै ज्यान जाने खतरा बढी हुनसक्छ ।













0 प्रतिकृया