‘म उम्रिनु भनेको लघुवित्त बाटै हो’ उद्यमी जानुकाको कथा
एक्सन खबर
सुनसरी, १२ चैत्र । लघुवित्त वित्तीय संस्थाको कर्जा सहि रुपमा सदुपयोग गर्दा कसरी सफलता पाइँदो रहेछ भन्ने उदाहरणीय पात्र हुन् सुनसरी दुहवी वडा नं. ५ की जानुका सुब्बा । दुहवी नगरपालिका वडा नं. ५ मा कुखुरा पालनसँगै फ्रेस हाउस र किराना पसल समेत चलाएकी जानुकाको परिवारलाई आठ वर्षअघि के खाने के लाउने चिन्ता थियो ।
श्रीमान, सासुससुरा सहितको परिवारको आयश्रोत बलियो थिएन । जानुका विद्यालयमा पढाउँथिन् तर, त्यसले साँझ विहानको छाक टार्नु वाहेक अन्य समस्या टरेनन् ।
सोही बखत जानुका दुहवीकै फरवार्ड माइक्रोफाइनान्समा आबद्ध भइन् । सामान्य बचत गर्ने र केही रकम कर्जा लिएर उद्यम गर्ने सोच बनाएकी जानुकाले पहिलोपटक २० हजार कर्जा लिइन् । तर, उनले त्यसको सही सदुपयोग भने गर्न सकिनन् । ‘पहिलो पटक २० हजार ऋण लिएँ तर, सदुपयोग गर्नै जानिन, घर खर्चमै सकियो ।’ ऋण लिएको पैसा सदुपयोग गर्न नसके पनि उनले कर्जा भने समयमै तिरिन् ।
भरपर्दो रोजगारी नभएपछि घर सल्लाहमा श्रीमान विदेश जाने भए । जानुकाले श्रीमानलाई कर्जा लिएर बैदेशिक रोजगारीमा पठाइन् । ‘श्रीमानले विदेशमा कमाउन थालेपनि उहाँले कमाएको पैसा ऋण तिर्दै ठिक्क भयो । बचत गर्ने, सम्पत्ति जोड्ने सपना अधुरै रह्यो ।’ विगतका संघर्ष सम्झँदै जानुका भन्छिन्,‘उहाँ विदेशबाट फर्किएपछि यहिँ काम गर्छु भन्नुभयो । त्यसपछि फरवार्डबाट २ लाख ५० हजार ऋण लिएर श्रीमानले कमाएको पैसा समेत जोडेर कुखुरा पालन सुरु गरें ।’
त्यसो त फरवार्ड माईक्रोफाइनान्सले कर्जा लिनु अगाडी वित्तीय साक्षरता र तालिम समेत दिएकाले जानुकालाई व्यवसाय चलाउन सक्छु भन्ने आत्मविस्वास अझ थियो । ‘पहिलो पटक लिएको २० हजार घर खर्चमै सकिएको थियो तर, त्यसपछि कुखुरा फारम चलाउनु अगाडी नै फरवार्डले व्यवसाय तालिम दियो, सक्छुभन्ने आत्मविश्वास बढ्यो ।’ जानुका र उनका श्रीमानले सुरुवातमा ५ सय कुखुराका चल्लाबाट सुरु गरेको कुखुरा पालन व्यवसाय अहिले फस्टाउँदाे छ ।
त्यसविचमा उनले सानै भएपनि किराना पसल सुरु गरिन् । त्यसले आम्दानीका बाटाहरु झन खुल्दै गए । ‘व्यापार अपार’ भन्ने उखानबाट प्रभावित जानुकाले हौसिँदै आफ्नै फ्रेस हाउस पनि सञ्चालन गरिन् ।
यसविचमा कहिले काँही व्यवसायमा उतारचढाव आयो तर, संघर्ष गर्ने दृढ इच्छाशक्ति भएकी जानुका हरेस नखाइकन निरन्तर व्यवसायमा संलग्न भइन् । ‘सुरुमा त ऋणलाई कसरी सदुपयोग गर्ने थाहा थिएन । फरवार्डको ऋणले मलाई ऋणको कसरी सदुपयोग गर्नुपर्छ भन्ने थाहा भो । ऋण लिएपछि तिर्नुपर्दोरहेछ भन्ने भयो । फरवार्डको सरमिसहरु आएर नआत्तिन, मेहनत गर्न हौस्याउनु हुन्थ्यो ।’ फरवार्डसँगै घरपरिवारका सदस्यले समेत साथ र हौसला दिएकाले आफु सफल भएको उनको भनाई छ । ‘म उम्रिनु भनेको फरवार्ड बाटै हो । परिवारको पनि सपोर्ट भयो ।’
जानुका अहिले फरवार्डको इमान्दार ऋणी मात्र छैनन् सफल उद्यमी पनि बनेकी छिन् । उनका तीनवटै व्यवसाय राम्ररी चलेका छन् । आठ वर्षको दौरानमा जानुकाले ४ कोठे घरसमेत जोड्न सफल भइन् । जानुका फरवार्डकी असल ऋणी हुन्, श्रीमान उनका असल सहयात्री ।
कुनैपनि व्यवसाय सफल बनाउन मेहनत, लगनशीलता र धैर्यता चाहिने जानुकाको सुझाव छ । सँगै लघुवित्त संस्थाहरुबाट कर्जा लिएकाले त्यसको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिन्छिन् । ‘ऋण लिएपछि तिर्नु परिहाल्छ । समयमा किस्ता बुझाउनु पर्छ, दुरुपयोग गर्नुहुन्न ।’ उनी ऋण जतिपनि पाइहाल्छु भन्दै धेरैवटा लघुवित्त संस्थाहरुमा बस्न नहुने सुझाव दिन्छिन्, ‘धेरै संस्थाहरुमा बस्नुहुन्न । एउटैसँग कारोबार गर्नुपर्छ । उपलब्धी ढिलोछिटो हुन्छ । घाटा हुँदा हरेस खानुहुन्न ।’
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गरेका कर्जाहरु संकटमा पर्नुमा डुप्लिकेसन प्रमुख चुनौति रहेको माइक्रोफाइनान्स संस्थाहरुको ठहर छ । यसका अलावा वित्तीय साक्षरताको कमी, व्यवसायिक दक्षताको अभाव, लगनशीलताको अभाव प्रमुख कारण रहेको देखिएको छ ।
यसकै फाइदा उठाउँदै कतिपय व्यक्ति र संगठनहरुले लघुवित्त संस्थाबाट लिएको कर्जा तिर्नु पर्दैन भनेर हल्ला र अफवाह समेत फैलाई रहेका छन् । संगठित रुपमै केहीले ऋण तिर्नुपर्दैन भन्ने अफवाह फैलाएकाले झण्डै एक अर्बको कर्जा जोखिममा परेको छ ।
विनाधितो महिलाहरुलाई कर्जा दिएर आर्थिक सशक्तिकरणमा जोड्दै गाउँगाउँ पुगेर काम गरिरहेकाे लघुवित्तलाई खारेज गर्दा त्यसले मुलुकको वित्तीय चक्रलाई पुरै तहसनहस बनाउने देखिन्छ । अहिलेपनि दर्जनौं बैंकहरुले लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेका छन् । लाखौं महिला दिदिबहिनी लघुवित्त कार्यक्रममा जोडिएका छन् । हज्जारौं युवा तथा दक्ष जनशक्ति रोजगार र उद्यमशील भएका छन् ।
एकाध संस्थाहरुले गरेका गलत वित्तीय कृयाकलापबाट सबै लघुवित्त वित्तीय संस्थाहरुलाई एउटै नजरले हेर्न नहुने लघुवित्तकर्मीहरुको भनाई छ । ऋण लिएपछि नतिरी नहुने बताउँदै एक लघुवित्तकर्मीले केही व्यक्तिगत स्वार्थ बोकेका व्यक्तिहरुले महिला उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई धरासायी बनाउन लघुवित्तकर्मीहरु माथि आक्रमण गर्ने, कार्यालयमा तालावन्दी गर्ने, भौतिक आक्रमण गर्ने, तोडफोड गर्ने अभियान चलाएकोमा आपत्ति जनाए ।
0 प्रतिकृया