Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


‘म उम्रिनु भनेको लघुवित्त बाटै हो’ उद्यमी जानुकाको कथा

एक्सन खबर
चैत, १२, २०७९


‘म उम्रिनु भनेको लघुवित्त बाटै हो’ उद्यमी जानुकाको कथा

सुनसरी, १२ चैत्र । लघुवित्त वित्तीय संस्थाको कर्जा सहि रुपमा सदुपयोग गर्दा कसरी सफलता पाइँदो रहेछ भन्ने उदाहरणीय पात्र हुन् सुनसरी दुहवी वडा नं. ५ की जानुका सुब्बा । दुहवी नगरपालिका वडा नं. ५ मा कुखुरा पालनसँगै फ्रेस हाउस र किराना पसल समेत चलाएकी जानुकाको परिवारलाई आठ वर्षअघि के खाने के लाउने चिन्ता थियो ।

श्रीमान, सासुससुरा सहितको परिवारको आयश्रोत बलियो थिएन । जानुका विद्यालयमा पढाउँथिन् तर, त्यसले साँझ विहानको छाक टार्नु वाहेक अन्य समस्या टरेनन् ।

सोही बखत जानुका दुहवीकै फरवार्ड माइक्रोफाइनान्समा आबद्ध भइन् । सामान्य बचत गर्ने र केही रकम कर्जा लिएर उद्यम गर्ने सोच बनाएकी जानुकाले पहिलोपटक २० हजार कर्जा लिइन् । तर, उनले त्यसको सही सदुपयोग भने गर्न सकिनन् । ‘पहिलो पटक २० हजार ऋण लिएँ तर, सदुपयोग गर्नै जानिन, घर खर्चमै सकियो ।’ ऋण लिएको पैसा सदुपयोग गर्न नसके पनि उनले कर्जा भने समयमै तिरिन् ।

भरपर्दो रोजगारी नभएपछि घर सल्लाहमा श्रीमान विदेश जाने भए । जानुकाले श्रीमानलाई कर्जा लिएर बैदेशिक रोजगारीमा पठाइन् । ‘श्रीमानले विदेशमा कमाउन थालेपनि उहाँले कमाएको पैसा ऋण तिर्दै ठिक्क भयो । बचत गर्ने, सम्पत्ति जोड्ने सपना अधुरै रह्यो ।’ विगतका संघर्ष सम्झँदै जानुका भन्छिन्,‘उहाँ विदेशबाट फर्किएपछि यहिँ काम गर्छु भन्नुभयो । त्यसपछि फरवार्डबाट २ लाख ५० हजार ऋण लिएर श्रीमानले कमाएको पैसा समेत जोडेर कुखुरा पालन सुरु गरें ।’

त्यसो त फरवार्ड माईक्रोफाइनान्सले कर्जा लिनु अगाडी वित्तीय साक्षरता र तालिम समेत दिएकाले जानुकालाई व्यवसाय चलाउन सक्छु भन्ने आत्मविस्वास अझ थियो । ‘पहिलो पटक लिएको २० हजार घर खर्चमै सकिएको थियो तर, त्यसपछि कुखुरा फारम चलाउनु अगाडी नै फरवार्डले व्यवसाय तालिम दियो, सक्छुभन्ने आत्मविश्वास बढ्यो ।’ जानुका र उनका श्रीमानले सुरुवातमा ५ सय कुखुराका चल्लाबाट सुरु गरेको कुखुरा पालन व्यवसाय अहिले फस्टाउँदाे छ ।

त्यसविचमा उनले सानै भएपनि किराना पसल सुरु गरिन् । त्यसले आम्दानीका बाटाहरु झन खुल्दै गए । ‘व्यापार अपार’ भन्ने उखानबाट प्रभावित जानुकाले हौसिँदै आफ्नै फ्रेस हाउस पनि सञ्चालन गरिन् ।

यसविचमा कहिले काँही व्यवसायमा उतारचढाव आयो तर, संघर्ष गर्ने दृढ इच्छाशक्ति भएकी जानुका हरेस नखाइकन निरन्तर व्यवसायमा संलग्न भइन् । ‘सुरुमा त ऋणलाई कसरी सदुपयोग गर्ने थाहा थिएन । फरवार्डको ऋणले मलाई ऋणको कसरी सदुपयोग गर्नुपर्छ भन्ने थाहा भो । ऋण लिएपछि तिर्नुपर्दोरहेछ भन्ने भयो । फरवार्डको सरमिसहरु आएर नआत्तिन, मेहनत गर्न हौस्याउनु हुन्थ्यो ।’ फरवार्डसँगै घरपरिवारका सदस्यले समेत साथ र हौसला दिएकाले आफु सफल भएको उनको भनाई छ । ‘म उम्रिनु भनेको फरवार्ड बाटै हो । परिवारको पनि सपोर्ट भयो ।’

जानुका अहिले फरवार्डको इमान्दार ऋणी मात्र छैनन् सफल उद्यमी पनि बनेकी छिन् । उनका तीनवटै व्यवसाय राम्ररी चलेका छन् । आठ वर्षको दौरानमा जानुकाले ४ कोठे घरसमेत जोड्न सफल भइन् । जानुका फरवार्डकी असल ऋणी हुन्, श्रीमान उनका असल सहयात्री ।

कुनैपनि व्यवसाय सफल बनाउन मेहनत, लगनशीलता र धैर्यता चाहिने जानुकाको सुझाव छ । सँगै लघुवित्त संस्थाहरुबाट कर्जा लिएकाले त्यसको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिन्छिन् । ‘ऋण लिएपछि तिर्नु परिहाल्छ । समयमा किस्ता बुझाउनु पर्छ, दुरुपयोग गर्नुहुन्न ।’ उनी ऋण जतिपनि पाइहाल्छु भन्दै धेरैवटा लघुवित्त संस्थाहरुमा बस्न नहुने सुझाव दिन्छिन्, ‘धेरै संस्थाहरुमा बस्नुहुन्न । एउटैसँग कारोबार गर्नुपर्छ । उपलब्धी ढिलोछिटो हुन्छ । घाटा हुँदा हरेस खानुहुन्न ।’

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गरेका कर्जाहरु संकटमा पर्नुमा डुप्लिकेसन प्रमुख चुनौति रहेको माइक्रोफाइनान्स संस्थाहरुको ठहर छ । यसका अलावा वित्तीय साक्षरताको कमी, व्यवसायिक दक्षताको अभाव, लगनशीलताको अभाव प्रमुख कारण रहेको देखिएको छ ।

यसकै फाइदा उठाउँदै कतिपय व्यक्ति र संगठनहरुले लघुवित्त संस्थाबाट लिएको कर्जा तिर्नु पर्दैन भनेर हल्ला र अफवाह समेत फैलाई रहेका छन् । संगठित रुपमै केहीले ऋण तिर्नुपर्दैन भन्ने अफवाह फैलाएकाले झण्डै एक अर्बको कर्जा जोखिममा परेको छ ।

विनाधितो महिलाहरुलाई कर्जा दिएर आर्थिक सशक्तिकरणमा जोड्दै गाउँगाउँ पुगेर काम गरिरहेकाे लघुवित्तलाई खारेज गर्दा त्यसले मुलुकको वित्तीय चक्रलाई पुरै तहसनहस बनाउने देखिन्छ । अहिलेपनि दर्जनौं बैंकहरुले लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेका छन् । लाखौं महिला दिदिबहिनी लघुवित्त कार्यक्रममा जोडिएका छन् । हज्जारौं युवा तथा दक्ष जनशक्ति रोजगार र उद्यमशील भएका छन् ।

एकाध संस्थाहरुले गरेका गलत वित्तीय कृयाकलापबाट सबै लघुवित्त वित्तीय संस्थाहरुलाई एउटै नजरले हेर्न नहुने लघुवित्तकर्मीहरुको भनाई छ । ऋण लिएपछि नतिरी नहुने बताउँदै एक लघुवित्तकर्मीले केही व्यक्तिगत स्वार्थ बोकेका व्यक्तिहरुले महिला उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई धरासायी बनाउन लघुवित्तकर्मीहरु माथि आक्रमण गर्ने, कार्यालयमा तालावन्दी गर्ने, भौतिक आक्रमण गर्ने, तोडफोड गर्ने अभियान चलाएकोमा आपत्ति जनाए ।

 
















0 प्रतिकृया