गरिब, दलित विपन्न वस्तीमा सांसद भगबती चौधरीद्वारा न्यानो कपडा वितरण
एक्सन खबर
सुनसरी । प्रतिनिधि सभा सांसद भगबती चौधरीले आफ्नो क्षेत्रका गरिब, दलित तथा विपन्न परिवारलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी छन् । सुनसरी क्षेत्र नं. ३ की सांसद चौधरीले शनिबार फरवार्ड माइक्रोफाइनान्स, दिनेश चौधरी स्मृति प्रतिष्ठानसँगको सहकार्यमा दुहवी नगरपालिका वडा नं. ८ सोनापुरका गरिब, दलित तथा विपन्न नागरिकलाई न्यानो कपडाहरु वितरण गरेकी हुन् ।
तराई मधेसमा हरेक वर्ष शितलहरका कारण गरिब, दलित तथा विपन्न परिवारका ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्तहरु बढी प्रभावित हुने गरेका छन् । आफ्नो क्षेत्रमा पनि हरेक वर्ष यस्ता व्यक्तिहरु शितलहरका कारण आक्रान्त हुने गरेको भन्दै चौधरीले न्यानो कपडाहरु वितरण गरेकी हुन् । न्यानो कपडा वितरणमा सो क्षेत्रका समाजसेवी, अगुवा राजनीतिक कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।
शितलहरबाट आक्रान्त गरिब, विपन्न नागरिकका घरदैलोमा न्यानो कपडाहरु बोकेर नेतृ चौधरी पुग्दा स्थानीयहरु खुसी भए । चुनाब जितेर गएपछि आफ्नो क्षेत्रका जनताबाट लामो समयसम्म गुमनाम हुने परिपाटी विपरित सांसद चौधरी गृह जिल्ला पुगेको बेला जनताका गुनासा, समस्याहरु सुन्न गाउँगाउँ टोलटोल पुग्ने गरेकी छन् ।
संघीय सांसदले मुलुकको ऐन नियम कानुन निर्माणमा बढी सहभागीता जनाउनु पर्ने भएपनि सांसद चौधरीको भूमिका ऐन नियम कानुन बनाउनसँगै आफ्नो क्षेत्रका जनताका माग र मुद्दामा समेत केन्द्रीत हुनुपर्ने परिस्थिति छ । सुनसरी जिल्लाकै सबैभन्दा पिछडिएको क्षेत्रका रुपमा रहेको उनको निर्वाचन क्षेत्रको विकास र त्यहाँका जनताका समस्यामा उनी सक्रिय हुने गरेकी छन् । ‘ऐन नियम कानुन बनाउन एउटा सांसदको जति भूमिका हुन्छ आफ्नो क्षेत्रको विकास, जनताका समस्याहरु समाधान गर्न पनि हुनुपर्छ भन्ने मेरो धारणा हो । जनताले नै जिताएर पठाएका हुन् उनीहरुको लागि हामीले नगरे, नबोले कसले गर्ने कसले बोल्ने ?’ राज्यले सबै क्षेत्रका जनताको जीवनस्तर उकास्न त्यस क्षेत्रको आवश्यक्तालाई हेरेर बजेट विनियोजन गरे मुलुकको गरिबी, अशिक्षा, विपन्नता चाँडै हल हुने भन्दै चौधरीले भनिन् ।
त्यसो सांसद चौधरीका नजरमा राजनीति र समाजसेवा एक अर्काका पर्याय हो । राजनीति भनेको जनता र देशकालागि निःस्वार्थ भावनाले गरिन्छ । समाजसेवा समाज र जनताकै लागि गरिने कार्य हो । समाजमा विद्यमान सबै खाले विभेद, असमानता, अज्ञानता हटाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सडकसँगै जनताको आर्थिकस्तर उकास्नकालागि चौधरीले राजनीतिसँगै समाजसेवाका कार्यलाई सँगसँगै लिएर अगाडी बढिरहेकी छन् ।
0 प्रतिकृया