Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा विस्तार हुने

एक्सन खबर
फागुन, २७, २०८२


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा विस्तार हुने

काठमाडाैं । निजामती अस्पताल काठमाडाैं र दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच निजामती अस्पतालको सेवा प्रतिष्ठानमामा विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार निजामती कर्मचारीले निजामती अस्पताल मार्फत प्राप्त गर्ने सेवा सुविधा दाङस्थित प्रतिष्ठानबाटै प्राप्त गर्ने भएका छन् । 

यसैगरि, दुवै संस्थाले जनशक्ति तालिम र स्वास्थ्य अनुसन्धान को क्षेत्रमा पनि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झाैतामा निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति एवम् रजिष्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झाैता अनुसार निजामती अस्पतालले निजामती कर्मचारीहरूलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने गर्दछ । जसमा बहालवाला कर्मचारी तथा उनका परिवार (बुवा, आमा, श्रीमान्/श्रीमती तथा २१ वर्षमुनिका दुई बच्चासहित ६ जना) लाई अस्पतालले सम्पूर्ण उपचारमा ४० प्रतिशतसम्म छुट दिने गरेको छ । यो सुविधा ओपिडी, एम्बुलेन्स सेवा तथा औषधिमा भने लागू हुँदैन । 

त्यस्तै, बहालवाला अधिकृतदेखि तल्ला तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत र अधिकृतलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवकाशप्राप्त कर्मचारीहरुले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।

निजामती अस्पतालले निजामती कर्मचारीको उपचारका लागि विशेष किसिमको सफ्टवेयरको व्यवस्था गरेको छ । सफ्टवेयरमा दर्ता हुन प्रत्येक कर्मचारीले आफ्ना बुवा, आमा, पति वा पत्नी, छोराछोरीको नामसहितको फारम भर्नुपर्छ । उक्त फारमलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कको माध्यमबाट कर्मचारीको विवरण रहेको निजामती किताबखानासँग जोड्ने गर्छ । उपचारको लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम राखेपछि किताबखानाले सो नाम स्वीकृत गरेसँगै उसले कर्मचारी सरहको सबै सुविधा पाउँछ ।

कुनै कर्मचारी निजामती सेवामा रहेपनि किताबखानामा दर्ता नरहेको खण्डमा उसले जस्तोसुकै परिचयपत्र लिएर गएपनि अस्पतालको सिस्टमले त्यसलाई मान्यता नदिने र कर्मचारी सरहको सुविधा पनि नपाउने हुन्छ । त्यस्तो अवस्थामा कार्यालय तथा कार्यालय प्रमुखद्वारा नै सिफारिस लिएर आउनुपर्ने कडा प्रावधान छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी २०८३ साल बैशाख १ गते देखि सेवा शुरू गर्ने योजना बनाएको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले बताए । “देशभरका  स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू मध्ये निजामति कर्मचारीहरूको सेवा सुविधाको लागि यस्तो पहल गर्ने हामी पहिलो प्रतिष्ठान हौँ, यस सम्झौताको कार्यान्वयनले लुम्बिनी प्रदेशका निजामति कर्मचारी र कर्मचारीका आश्रित परिवारलाई ठूलो राहत पुग्ने एवम् नेपाल सरकार र प्रतिष्ठानबिचको सहकार्य अझ मजबुत हुने विश्वास छ ।” नि. उपकुलपति प्रा. लम्सालले भने । 

निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले देशभरका निजामती कर्मचारीको स्वास्थ्य उपचार प्रतिको राज्यको दायीत्व पुरा गर्ने उद्देश्यले खोलिएको निजामती अस्पतालले देशका सात वटै प्रदेशमा सेवा विस्तार गर्ने योजना अनुरुप नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएको र प्रतिष्ठानलाई सेवा प्रवाह गर्न निजामती अस्पतालले पूर्ण सहयोग गर्ने बताए ।

विगत दुई वर्ष देखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो विकाश र विस्तारलाई तिब्रता दिँदै एम.बी.बी.एस. लगायतका स्नातक कार्यक्रम र एम.डी./एम.एस, लगायतका स्नातकोत्तर शैक्षिक कार्यक्रमहरू सञ्चालन, विशिष्टीकृत अस्पताल सेवा विस्तार एवम् अन्य जिल्लामा समेत सेवा विस्तार गरेको सन्दर्भमा यस सम्झौताले नयाँ आयाम थप्ने देखिन्छ । 















0 प्रतिकृया