आज महाशिवरात्री, यस्ताे छ तपाईंकाे राशिफल
एक्सन खबर
काठमाडाैं । १७, फागुन २०७८ मंगलबार । तद्नुसार मार्च महिनाको १ तारिक २०२२ । फागुन कृष्णपक्ष चतुर्दशी, विष्टि करण, धनिष्ठा नक्षत्र, परिध योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज महाशिवरात्री देशभरका शिवमन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। आजको दिन साँझको समयमा शिवालयमा चार प्रवरमा पूजा आराधना हुने गर्दछ । साँझ ६ बजेदेखि ९ बजेसम्म पहिलो, ९ देखि १२ दोस्रो र १२ देखि ३ सम्म तेस्रो र ३ देखि ६ सम्म चौथो प्रवरको पूजा गर्ने गरिन्छ । आज सूर्योदय बिहान ६:३० भएकाे छ भने सूर्यास्त बेलुका ६: ०४ मा हुनेछ ।
आजको दिन शिवको विशेष आरधना गर्ने दिन हो । आजको दिन यदी व्रत र पूजा गर्न सकिएन भने नमः शिवाय मन्त्र जप वा स्मरण मात्रले पनि सिद्धि प्राप्त गर्न सकिन्छ ।
शिवतत्त्वको चर्चा गर्दै जाँदा शास्त्रहरूमा जसमा सारा जगत् शयन गर्दछ, जो विकाररहित छ उही शिव हो अथवा जो अमङ्गलको ह्रास गर्दछ उनै सुखमय, मङ्गलमय भगवान् शिव हुन्; जो सारा जगत्लाई आफूमा लीन गर्दछ उनै करुणासागर भगवान् शिव हुनुहुन्छ; जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ उनै शिव हो भनेर यत्रतत्र सर्वत्र चर्चा-परिचर्चा गरिएको पाइन्छ।
भगवान् शिवको गुणगान गाइएका अनेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराणलगायत परवर्ति साहित्यहरूमा समेत अत्यधिक मात्रामा पाइन्छ । भगवान् शिवको स्तुतिगानको लागि प्रसिद्ध शिवमहिम्नस्तोत्रमा विद्वान् पुष्पदन्तले यसरी श्रध्दा-भक्ति दर्शाएका छन् :
त्रयी साङ्ख्य योग: पशुपतिमतं वैष्णवमिति।
प्रभिन्ने प्रस्थाने परमिदमद: पथ्यमिति च।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां।
नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव।।
माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ ।
पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।
भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।
हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रीको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।
आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्यय र हानी हुने देखिन्छ । त्यसैले आजको दिन तपाईंले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययनअध्यापनमा रुचि कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । यात्रा गर्दा दहीको सेवन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र व्यापारव्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईंलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहाेला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत तपाईंलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने तपाईंको मनमा प्रशन्नता छाउनेछ । मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ । आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंकाे कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। चन्द्रमको साथ भएकाले आजको दिनमा तपाईले शुरुवात गर्नुभएको काममा सफलता मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईंले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको फाइदा मिल्नेछ ।
0 प्रतिकृया