दाग (कविता)
एक्सन खबर
हेमन्त गिरी
कुनै दिन तिमीले मलाई
कोठामै आएर वेश्या भनेथ्यौ,
म हाँसेथें मात्र !
सोचेंथें-
पैसा लिएर तिमीलाई खुसी दिइरहेछु,
कोठा अवधिभरी तिमीलाई छूट छ !
तर
यसपाली तिमीले मलाई
घुमाइफिराइ बेश्या भन्यौ !
-कविताले वेश्या भन्यौ
-कथाले वेश्या भन्यौ
-गीतले वेश्या भन्यौ
यसपाली मलाई दुख्नु दुख्यो !
सकारण ज्यान बेच्दा
एकै जीवनलाई मात्र
बेश्या बनिंदो रहेछ !
अकारण
कविताले,कथाले,गीतले
वेश्या भनिदिंदा
जीवनभरीलाई र जीवनपछिलाई पनि
वेश्या बनिंदो रहेछ !
मात्र एक जन्मको आहत टिपेर
कैयौं जन्म
तिमीले वेश्या बनाइदिन्छौ !
इतिहास र आगत
दुबै पानामा तिमीले वेश्या लेखिदिन्छौ !
र
भनिदिन्छौ- विम्ब लेखेको हुँ !
तिमीलाई के थाहा-
पेशाले भन्दा बढि हामीलाई
विम्बले बिझाउँछ !
म जस्तै म हरु लाई चेतावनी छ-
कलम बोकेकाहरुलाई कोठी छिर्न कैलै नदिनू,
मसीको दाग असाध्यै जब्बर हुन्छ !
0 प्रतिकृया