Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


मतगणनास्थलमा बत्ती निभाएर गच्छदार प्रवेश गर्न खोजेपछि स्थानीयले गरे प्रतिरोध

एक्सन खबर
जेठ, १, २०७९


मतगणनास्थलमा बत्ती निभाएर गच्छदार प्रवेश गर्न खोजेपछि स्थानीयले गरे प्रतिरोध

दुहबी । प्रतिनिधिसभाका निलम्बित सांसद विजयकुमार गच्छदारले सुनसरीको गढी गाउँपालिकामा जारी मतगणनामा चलखेल गर्न खोजेपनि स्थानीयले प्रतिरोध गरेकाछन् । स्थानीय तहको निर्वाचन अन्तरगत गढी गाउँपालिकाको मतगणना भइरहँदा गच्छदार जिल्लाका एसपी र डिएसपी सहित मतगणनास्थलमा गाडीको बत्ती निभाएर पस्न खोजेका थिए । तर, मतगणनास्थल बाहिर बसेका स्थानीयले प्रतिरोध गरेपछि गच्छदारको सड्यन्त्र विफल भएको हो ।

शनिबार बेलुकी ८ बजेतिर एसपी, डिएसपीसहितको टोलीसँगै गच्छदार औराबनीस्थित गढी गाउँपालिकामा रहेका मतगणनास्थलको गेटमा पुगेर गाडीको बत्ती निभाएर गेट खोल्न लगाएका थिए । तर, शुक्रबारदेखि नै मतगणनास्थल अगाडी निगरानी गर्दै बसेका गढीबासीले ‘भिआइपी आएपनि गाडी भित्र छिराउन पाउँदैन ।’ भन्दै गच्छदार चढेको गाडी घेरेर प्रतिरोध गरेको एक युवाले बताए ।

सुरक्षाकर्मीले गेट खोल्नै लाग्दा स्थानीयले प्रतिरोध गरेपछि एसपी, डिएसपीसहित गच्छदारको टोली हच्किँदै गाडीबाट ओर्लिएर मतगणनास्थल पुगेका थिए । ‘नहरको डिलैडिल बत्ती बालेर आएको गाडी गेट अगाडी पुगेर बत्ती निभाउँदै भित्र छिर्न थालेपछि हामीले रोकेका हौं ।’ ती युवाले भने । विगतका निर्वाचनहरुमा गच्छदारले धाँधली र सड्यन्त्रहरु गर्दै आएकोले यसपल्ट पुनः त्यहि नियती नदोहोरियोस् भनेर सयौं स्थानीयहरु आफ्नो मतको सुरक्षार्थ २४ सै घण्टा मतगणनास्थलमा बसेका छन् ।

मतपरिणाम सुन्न बसेका जनतालाई उत्तेजित बनाउने अनी र्कफ्यु वा निषेधाज्ञा लगाएर मतगणनास्थलबाट हटाएर धाँधली गर्ने गच्छदार पक्षले योजना बनाएको एक युवाले दावी गरे । ‘कुनै न कुनै रुपमा चलखेल गर्छन् भन्ने सूचनाहरु आइरहेको थियो । नभन्दै गेट अगाडी एउटा गाडी बत्ती निभाउँदै आयो तर, हामीले भित्र बाहिर गर्ने जो कोहीमाथि निगरानी गरिरहेकाले उनीहरु असफल भए ।’ नाम उल्लेख नगर्ने शर्तमा ती युवाले भने–‘विरासत गुम्ने निश्चित भएपछि उनीहरुले मतगणनामा विवाद गर्ने, जनतालाई उत्तेजित पार्ने अनी र्कफ्यु वा निषेधाज्ञा लगाएर चुनाब जित्ने सड्यन्त्र गर्ने योजना बनाएको कुरा आएको छ तर, हामी सचेत छौं ।’

गढीबासीले यसपटक नेकपा एमालेका युवा उम्मेदवारलाई स्पष्ट बहुमत दिएको बताउँदै उनले जनताको परिवर्तनको आकांक्षालाई कुनै सड्यन्त्रले रोक्न नसक्ने समेत तर्क गरे । आफुहरु वर्षौंदेखि राजनीतिक, आर्थिक, सामाजिक रुपमा पिल्सिएको बताउँदै शिक्षित र योग्यलाई नेतृत्वमा ल्याइएको उनको भनाई छ । त्यसो त गढी गाउँपालिकाको अन्तिम मत परिणाम आइसकेको छैन ।

सुनसरीको गढी गाउँपालिकाको मतगणना ढिलो गरी सुरु भएको थियो । शनिबार राती १० बजेतिर मात्रै ९ वटै मतदान केन्द्रबाट मतपेटिका गढी गाउँपालिकाको कार्यालयमा ल्याई पुर्याइएकोले आज विहानबाट मत गणना थालनी गर्ने सहमति गरिएको थियो ।

तर, विहान सर्वदलीय बैठक गरी प्रतिनिधि चयनमै समय वित्यो । निर्वाचन अधिकृतको कार्यालयले बल्लबल्ल १२ः३० बजेपछि सुस्त रुपमा मतगणना थाल्यो । मतगणना थालिएको ७ घण्टा भइसक्दा पनि प्रारम्भिक नतिजा सार्वजनिक नहुँदा औराबनी नहरको डीलमा बसेका कांग्रेस, एमाले लगायतका सयौं कार्यकर्ता विच अन्यौलता छाएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले ८ बजेतिर प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक गर्दा कांग्रेसबाट अध्यक्षका उम्मेदवार महेश दत्तले ५५९ मत प्राप्त गर्दा एमालेका आश नारायण चौधरीले ३५३ मत प्राप्त गरेको जनाइएको थियो । यो मत गढी वडा नं. १ को प्रारम्भिक मतगणना थियो । प्रारम्भिक मतगणनामा कांग्रेसका दत्तले अग्रता बनाएपनि त्यसपछि वडा नं. २ को मतगणनामा आश नारायण चौधरीले अग्रता बनाए ।

त्यसपछि एसपी डिएसपीसहित गच्छदार गाडीको बत्ती निभाएर मतगणनास्थलमा छिर्न खोजेको स्थानीयको भनाई छ । अहिले गढीमा एमालेका चौधरीले ६७६ मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी दत्तले ६०७ मत रहेको छ । यो मत गढी वडा नं. १ र २ को प्रारम्भिक मत गणनाबाट प्राप्त भएको हो ।














0 प्रतिकृया