जेसाले दियो नेकलाई हावाबाट विद्युत उत्पादन अध्ययन गर्ने उपकरण
एक्सन खबर
काठमाडौं, १४ पुस । जापान उर्जा सुरक्षा संघ (जेसा) ले हावाबाट विद्युत उत्पादन अध्ययन अनुसन्धान गर्न नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ । चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको कलेजसँग (एमओयू) समझदारी कायम गर्दै जेसा आवश्यक सामग्री समेत हस्तान्तरण गरेको हो ।
कलेजमा आयोजित कार्यक्रममा जेसाका प्रतिनिधि निर्देशक एत्सुहो किनिहाराले कलेजका भाइस–प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्दै नेपालमा हावाबाट विद्युत उत्पादन गरी प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने अनुसन्धान गर्न महत्वपूर्ण हुने बताए ।
विश्वभर बैकल्पिक उर्जाको प्रयोग बढिरहेको तथा नेपालमा नदीनालाबाट मात्रै अधिकतम उर्जा उत्पादन भएकोले आउँदा दशकहरुमा त्यस्ता आयोजनाहरुबाट उत्पादित विद्युतले मात्रै बजारको माग खपत गर्न नसक्ने भएकाले बैकल्पिक उर्जाको संभाव्यता अध्ययन अनुसन्धान जरुरी रहेको र त्यसमा पनि इन्जिनियरिङका विद्यार्थीहरुले नविनतम अभ्यास र अनुसन्धानहरु गर्न जरुरी रहेको जेसाका किनिहाराले बताए ।
जेसाले कलेजमा जडान गर्ने उपकरणका माध्यमबाट हावाको अवस्था अध्ययन गरी डेटाहरु कलेक्सन गर्ने र साथमा ५ सय किलोवाट विद्युत समेत उत्पादन गर्ने भनिएको छ ।
जापानका लागि नेपाली फ्रेण्डसिप एम्बाष्डर नरेश महर्जनले कलेजमा जडान गरिने प्रविधि डेमोका रुपमा रहने तथा विद्यार्थीहरुका लागि अध्ययन अनुसन्धानका लागि अत्यन्तै उपयोगी हुने बताए । ‘जापान विश्वकै धेरै भूकम्प जाने देश हो, त्यहाँ भूकम्प जाँदा धेरै समय विद्युत अवरुद्ध हुने भएकाले बैकल्पिक उर्जाका रुपमा हावा र सोलारबाट विद्युत निकालिएको हुन्छ । नेपालमा पनि हावाबाट विद्युत उत्पादन गर्न सकियो भने वर्षेनी भइरहेको अरबौंको विदेशी उर्जा खपत रोकथाममा ठूलो टेवा पुग्छ ।’ तर, बैकल्पिक उर्जामा जानका लागि निरन्तर अनुसन्धानहरु भइरहनु पर्नेमा जोड दिँदै महर्जनले भने ।
नेपालका विभिन्न क्षेत्रहरुमा हावाको गति मापन गरी संभाब्यता अध्ययन गर्दै यस्ता उपकरणहरुको सहायताले विद्युत निकाल्न सकिने भनिएको छ । कलेजसँगको सहकार्यले नेपाली विद्यार्थीहरुको प्राविधिक बुझाईलाई बलियो बनाउँदै उनीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउनु पनि रहेको छ ।
जेसाले कलेजलाई हावाबाट ३ किलोवाट विद्युत उत्पादन गर्न सक्ने चीनमा निर्माण भएको उपकरण, जेनेरेटर, क्यामरा र डेटा संकलनका लागि बारकोड स्क्यानर उपलब्ध गराएको छ । समझदारी पत्रका कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ र जेसाका तर्फबाट प्रतिनिधि डाइरेक्टर किनिहाराले हस्ताक्षर गरेका छन् ।
0 प्रतिकृया