Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


मन्त्रिपरिषद बैठकः विस्थापित परिवारलाई, मासिक १५ हजार सहित एकमुष्ट २५ हजार

एक्सन खबर
जेठ, ५, २०८३


मन्त्रिपरिषद बैठकः विस्थापित परिवारलाई, मासिक १५ हजार सहित एकमुष्ट २५ हजार

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित हुने परिवारका लागि सरकारले राहत तथा पुनर्स्थापना प्याकेजको घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले विवरण रुजु भएका विस्थापित परिवारलाई पुनर्स्थापना खर्च बापत एकमुष्ठ २५ हजार रुपैयाँ उपलब्ध गराइने बताएका हुन् ।

वैकल्पिक बसोवासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्ने उद्देश्यले ५ सदस्य सम्मको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्य भएमा प्रति सदस्य थप २ हजार रुपैयाँका दरले हाललाई ३ महिनाका लागि बसोवास व्यवस्थापन खर्च प्रदान गरिने मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । 

आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध, अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिने निर्णय पनि भएको छ । विस्थापित परिवारका बालबालिकाको पठनपाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिने सरकारले जनाएको छ । 

यस्तै बैठकले नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्याङ्क अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अरनिको राजमार्गको मर्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले कानूनी सुधारका क्रममा ‘प्रत्यायन नियमावली २०८३’ र ‘सैनिक सेवा (छैटौँ संशोधन) नियमावली २०८३’ स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ । 

प्रशासनिकतर्फ नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ बमोजिम राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।













0 प्रतिकृया