बालबालिकालाई ६ महिनापछि पूरक खाना कसरी खुवाउने ?
बालबालिकाको उमेर बढ्दै जादाँ उनीहरूको खानाको आवश्यकता आमाको दुधले मात्र पूरा हुन सक्दैन । यसैले थप खानाको आवश्यकता हुन्छ । साथै शिशुको पाचन प्रणालीको समेत विकास भई, थप खाना पचाउन सक्ने क्षमताको विकास हुन्छ । यसैले ६ महिनादेखि पूरक खाना आवश्यक हुन्छ ।
पूरक खाना भन्नाले पहिले खाएकोमा थप गरी पूर्ण बनाउनु हो । त्यसैले ६ महिना पूरा भएका बालबालिकालाई पहिले खाइरहेकोे आमाको दुधका साथै थप खाने खानाको मात्रा बढाउँदै शिशुको आवश्यकता पूरा गर्नुपर्दछ ।
६ महिनादेखि दुई वर्षका बालबालिकाकाले भोक लागेको छ भनेर भन्न सक्तैनन् । नवजात शिशुहरूले मुख चलाएर र चार महिनापछि खानेकुरातिर हेरेर तथा समाउन खोजेर, हातले इशारा गरेर आफ्नो भोक व्यक्त गर्दछन् । यी व्यवहारहरू आमाबुबा र स्याहारकर्ताले बुझ्नुपर्दछ ।
पूरक खाना सँगसँगै गर्नुपर्ने कामहरूः
परिवारको खाना तयार गर्दा दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने ।
बालबालिका ६ महिनाको उमेर पुग्नासाथ र प्रत्येक ६–६ महिनामा थप अतिरिक्त भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने ।
बालबालिकाले खाना राम्ररी खाए नखाएको वा बालबालिकाको पोषण स्थितिमा सुधार आए नआएको हेर्न उमेरअनुसार तौल र उचाइ निरन्तर बढेको/नबढेका वृद्वि अनुगमन गर्ने ।
पानी सधैँ सफा वा उमालेर मात्र खुवाउने गर्ने ।
पूरक खाना खुवाउँदा हरेक पटक सकेसम्म पाँच ओटा खाद्य समूह मध्येबाट खाना खुवाउने ।
पूरक खाना खुवाउँने चलन हाम्रो समुदायमा प्राचिन कालदेखि नै चलिआएको परम्परा हो । जसअनुसार बालबालिकाको पास्नी गर्ने चलन रहेको छ । विधिवत पास्नी गरेपछि बालबालिकाले खान सक्ने नरम खानाको बानी लगाउने चलन छ । बालबालिकालाई सुरुमा दुधभन्दा अलि बाक्लो लेदो खाना बनाएर विभिन्न स्वादका खानाहरूको बानी लगाउनुपर्छ । विस्तारै थोरै खानाबाट बढाउँदै लैजानुपर्छ । शिशुको पेट सानो हुने हुनाले एकैपटकमा धेरै खान सक्दैनन् र चाँडै भोकाउँछन् । त्यसैले उनीहरूलाई पटकपटक खुवाउनुपर्दछ ।
पूरक खानाको महत्त्व
६ महिनापछि बालबालिकालाई आमाको दुधले मात्र पोषणको मात्रा अपुग हुन्छ । यसै अवस्थामा अभिभावकले आमाका दुधले अघाईरहेको छ, भन्ने ठान्नु, नवजात शिशुहरूलाई थप खाना बनाउन सिप नहुनु, जाँगर र कर नहुनु, वा परिवार नियोजनको साधन प्रयोग नगर्दा आमा फेरी गर्भवती हुने कारणहरूले गर्दा यो उमेरपछि बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । विभिन्न अनुसन्धानले देखाएअनुसार कुपोषणको प्रमुख कारण थप खानाको कुशल व्यवस्थापन वा आवश्यकताअनुसार शिशुले खान नपाएको भन्ने रहेको छ ।
नेपालमा पनि कुपोषणको उच्च दर ६ महिना देखि २ वर्षसम्मको शिशुमा रहेको छ ।द्दठ शिशुको बौद्धिक विकास २ वर्षभित्र अत्यधिक हुने र यसै अवस्थामा शिशु कुपोषणको शिकार भएमा बौद्धिक क्षमता कम भई न्यून बुद्धि वा मन्दबुद्धि हुने हुन्छ । त्यसैले शिशुलाई थोरै तर पौष्टिक नरम खाना पटकपटक खुवाउनुपर्छ ।
पूरक खाना बनाउने तरिकाहरू
पोषिलो पिठो
पोषिलो लिटो
पोषिलो फर्सीको खिर
पोषिलो जाउलो
पोषिलो खिर
पूरक खाना खुवाउँदा ध्यान दिनुपर्ने कुरा
उ. उमेरः उमेरअनुसार खानाको मात्रा बढाउँदै लैजानुपर्छ ।
प. पटकः शिशुलाई पटकपटक खाना खुवाउनुपर्छ ।
मा. मात्राः शिशुको उमेरअनुसार खानाको आवश्यकता पनि बढ्दै जानेहुनाले मात्रा पनि बढाउँदै जानुपर्छ ।
बा. बाक्लोपना/अवस्था: सुरुका दिनमा शिशुलाई पचाउन गाहे हुने हुनाले ठीक्क बाक्लो र उमेर बढ्दै जादाँ बाक्लोपना बढाउँदै जानुपर्छ ।
प्र. प्रकार: विभिन्न खाद्य समूहका खाना खुवाउनुपर्छ ।
स. सक्रिय वा जिम्मेवार खुवाइः बालबालिकालाई खेलाउदै, कुराकानी गर्दै रमाइलो वातावरणमा सक्रिय रूपमा खुवाउनुपर्छ ।
स. सरसफाइः सरसफाइ नभएमा रोग र सङ्क्रमण हुनेहुनाले खाने भाँडा सफा गर्नुका साथै खाना खानुअगाडि शिशुको र आफ्नो हात सफासँग धुनुपर्छ ।
करबल नगर्नेः बालबालिकालाई खुवाउन सुरु गर्दा सजिलैसँग खान नमान्नासाथै छाडिदिनुपर्छ । उनीहरूलाई तोकिएको मात्रा खुवाउनका लागि रमाइलो वातावरणमा सक्रिय रूपमा खुवाउनुपर्छ । बालबालिका आफैँ बस्ने, समात्न सक्ने भएपछि विस्तारै बालबालिका स्वयंलाई खान प्रोत्साहित गर्नुपर्दछ ।
घिउ वा तेलः बालबालिकालाई खुवाउने खानामा घिउ वा तेलले खानालाई नरम तथा शक्तिपूर्ण बनाउँछ । शरीरलाई वातावरणसँग जोगाउने क्षमता दिन्छ । साथै चिल्लोमा घुल्ने भिटामिनहरू राम्ररी पचाउन सहयोग गर्छ ।
स्वादः २ वर्षसम्म बालबालिकालाई नुन चिनी जस्ता स्वादको आवश्यकता पर्दैन । नुन चिनीमा पाइने पोषण उनीहरूले आमाको दुधबाट नै पाइरहेका हुन्छन् ।
नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क पाइने बहुसूक्ष्म पोषक तत्त्व (बाल भिटा) पनि स्वास्थ्य स्वयम्सेविकाको सल्लाहअनुसार खुवाउनुपर्छ ।
बालबालिकाको नियमित रूपले स्वास्थ्य संस्थामा परीक्षण (जस्तैः तौल, उचाइ, पाखुरा जाँच आदि) गराउनुपर्दछ ।
खाना पकाउन अल्छी मानेर वा अप्ठेरो परेको भन्दै तयारी खाना, चाउचाउ, बिस्कुट खुवाउनु हुँदैन । तयारी खानाको स्वादले गर्दा घरमा बनेको खाना खान मन हुँदैन । साथै तयारी खानेकुरामा पोषक तत्त्वहरूको अभाव हुन्छ । यस्ता खानेकुरामा अत्यधिक नुन, चिनी वा तेल हुन्छ, जसले खाना अमन हुने तर शरीरमा पोषक तत्त्व कम हुन्छ ।
पूरक खानाको पटक
६ देखि ९ महिनासम्मः यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना खुवाउनुपर्दछ । खाना सुरु गर्दा ठुलो चम्चाका २ देखि ३ चम्चाबाट सुरु गर्नु पर्छ र विस्तारै एकपटकमा १ चिया गिलास बराबरसम्म खुवाउनुर्पछ ।
९ देखि १२ महिनासम्मः यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनुपर्दछ । हरेकपटकमा १ चिया गिलास (१२५ मि.लि) बराबर खुवाउनुपर्छ ।
१२ देखि २४ महिनासम्मः यी बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनुपर्छ । हरेक पटकमा २ चिया गिलास (२५० मि.लि) बराबर खुवाउनुपर्छ ।
युनिसेफ
0 प्रतिकृया