Follow us:


Follow us

२८ माघ २०८२, मङ्गलवार
२८ माघ २०८२, मङ्गलवार


नेकका इन्जिनियरहरुले बनाए सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प

एक्सन खबर
मंसिर, ७, २०८०


नेकका इन्जिनियरहरुले बनाए सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प

काठमाडौं, ७ मंसिर । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियरहरुले सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प तयार गरेका छन् । ग्रामिण क्षेत्र जहाँ विद्युत पुगेको छैन त्यस्ता क्षेत्रहरुमा उपयोगी हुने हाते सेफ्टी ट्याङ्क पम्प निर्माण गरिएको हो ।

कलेजको विज्ञान तथा मानविकी विभागकी प्रोफेसर सावित्री त्रिपाठीको अगुवाईमा मेकानिकल इन्जिनियर डा.अरुण सत्याल, प्रकाश वस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्ट अन्तरगत सेफ्टी ट्याङ्की सफा गर्न हाते पम्पको विकास गरेका हुन् । फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्याङ्की हातेपम्प खासगरी ग्रामिण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकुन् भनेर तयार पारिएको बताइएको छ । ‘यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो सामग्रीहरुको आवश्यक्ता नपर्ने भएकोले नेपाल जस्तो ग्रामिण क्षेत्रहरुका लागि यो नविनतम साधन हो ।’ डा. अरुण सत्यालले जानकारी दिए ।

सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गर्नु अगाडी उनीहरुले कम्प्युटरमा अवधारणा तयार गरेर निर्माण थालेका थिए । ब्राउन गोल्ड प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गरिएको हो । पम्पको परीक्षण भने हुन बाँकी छ ।

कलेजकी प्रोफेसर त्रिपाठी इन्ष्टिच्युट अफ डेभलपमेन्ट स्टडिजको टू वार्ड ब्राउन गोल्ड अन्तरगत एसिया र अफ्रिकामा द्रुतरुपमा सहरीकरण हुने क्षेत्रहरुको एरिया सरसफाई परियोजनामा अनुसन्धानकर्ताको रुपमा कार्यरत छिन् । उक्त परियोजना सन् २०२० देखि २०२४ सम्म बेलायत सरकारको जिसिआरएफ अन्तर्गत आर्थिक सहयोगबाट इथियोपिया, घाना, भारत तथा नेपालमा चलिरहेको छ ।

परियोजना अन्तरगत नेपालको गुलरिया नगरपालिकामा खानेपानी तथा सरसफाईको अनुसन्धानमा त्यहाँ बैज्ञानिक तबरले सेफ्टी ट्याङ्की नबनाउँदा जमीनमुनीको पानीमा दिसाजन्य लेदोबाट इ–कोली ब्याक्टेरिया खानेपानीका श्रोतहरु (ह्याण्ड पम्प) मा मिसिन गई दुषित भएको पाइएको छ । त्यसैगरी सेफ्टी ट्याङ्की भरिएपछि त्यसलाई खाली गर्दा कमैमात्र सुरक्षित तवरले खाली गरेको पनि अनुसन्धानमा देखिएकोले प्रोफेसर त्रिपाठीले बताइन् ।

नेपालमा ८१ प्रतिशत मानिससँग सेफ्टी ट्याङ्की भएपनि त्यसलाई खाली गर्न पर्याप्त मात्रामा साधन नभएको र खर्चिलो साथै सबै ठाउँमा पहुँच नभएकोले ती ठाउँहरुमा सुरक्षित रुपमा खाली गर्ने औजार दिनसके सेफ्टी ट्याङ्की सफा गर्ने व्यक्तिहरु सुरक्षित हुनुको साथै जमीनमुनीको समेत पानी दुषित हुनबाट रोक्न सकिन्छ सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गरिएको प्रोफेसर त्रिपाठीको दावी छ ।

बुधबार नवनिर्मित सेफ्टी ट्याङ्की हातेपम्प अवलोकन गर्न परियोजनाका प्रमुख प्रोफेसर लैला मेहता लगायत १६ जनाको टीमले नेकको भ्रमण गरेका थिए । उक्त टीममा प्रोफेसर मेहतासँगै इन्टरनेशनल डेभलपमेन्ट स्टडिज्, सक्सेस यूके, आइआइटी बम्बे, मेकेले युनिभर्सिटी इथोपिया, SOPPECOM भारत, IWMI घाना, ब्राइटन युनिभर्सिटी यूके जस्ता अन्तराष्ट्रिय शैक्षिक संस्थाहरु लगायत IDS नेपाल यस परियोजनामा सहभागी छन् ।

उक्त समुहलाई प्रोफेसर त्रिपाठीले स्वागत मन्तव्य दिँदै क्वालिटी एजुकेशनको लागि रिसर्च अपरिहार्य रहेको र उक्त समुहसँग भविष्यमा अनुसन्धान गर्नको लागि हातेमालो गर्न आव्हान गरिन् ।

कार्यक्रममा IDS Sussex यूके तथा परियोजना प्रमुख प्रोफेसर लैला मेहताले ब्राउन गोल्ड प्रोजेक्टको बारेमा प्रस्तुति दिइन् । IIT बम्बेका प्रोफेसर एनसी नारायणनले दक्षिण एसियामा खानेपानी शिक्षाको बारेमा उनको योगदानको बारेमा र प्रोफेसर जेम्स इब्डनले जलवायु परिवर्तन र स्वास्थ्य शिर्षकमा प्रस्तुति दिए ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले रिसर्च शैक्षिक संस्थाहरुको लागि जरुरी रहेको र नेपाल इन्जिनियरिङ कलेज सहकार्यको लागि सधैं इच्छुक रहेको बताए । कार्यक्रमको अन्तिममा डा.अरुण सत्यालले गुल्पर हाते औजारको प्रदर्शन गरेर देखाउँदै औजारको खाका तयार भएपनि यसलाई अझ सुधार गर्नुपर्ने बताए ।

सुधारिएको यो गुल्पर औजार परीक्षण अध्ययनका लागि गुलरिया लगिनेछ । जनसमुदाय तथा स्टेकहोल्डरहरु सँग बृहत् छलफल गरी प्रयोगको खाका बनाउने लक्ष्य परियोजनाको रहेको छ । यस किसिमको परियोजना नेपालका लागि नौलो हुने दावी गरिएको छ ।  




















0 प्रतिकृया