Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


साइबर कानुन नहुँदा नेपालमा साइबर अपराध बढ्दो

एक्सन खबर
माघ, २, २०८२


साइबर कानुन नहुँदा नेपालमा साइबर अपराध बढ्दो

काठमाडौं । समयमै साइबर कानुन निर्माण नहुँदा नेपालमा साइबर सुरक्षा चुनौतिपूर्ण अवस्थामा रहेको बताइएको छ । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा साइबर सुरक्षा कानुन बलियो नहुँदा साइबर अपराधहरु बढिरहेको बताइएको हो । 

कलेजमा आजबाट सुरु भएको ४८ घण्टे बग बाउन्टी च्यालेञ्ज, साइबर सुरक्षा सिम्पोजियम, टेकस्प्रिन्ट ह्याकाथन तथा साइबर सुरक्षाका चुनौती र रणनीतिबारे बृहत छलफलमा बोल्दै नेपाल प्रहरी साइबर ब्यूरोका बरिष्ठ प्रहरी उपरिक्षक गजेन्द्र आचार्यले बताउनु नेपालमा साइबर सुरक्षाका सवालमा बलियो कानुन नहुँदा साइबर अपराध बढ्दो रहेको जिकीर गर्नुभएको हो । 

‘हामीसँग साइबर क्राइम सम्बन्धी प्रष्ट कानुन छैन, संसदमा साइबर कानुन दर्ता भएपनि पास नभएकोले साइबर अपराध बढ्दो छ ।’ एकपटक सामाजिक सञ्जालमा कुनैपनि प्रकारका पोष्टहरु गरिसकेपछि त्यो सदैव रहिरहने भएकोले कानुनलाई आकर्षित गर्ने कुनैपनि प्रकारको काम नगर्न अनुरोध गर्दै उहाँले भन्नुभयो । 

पछिल्लो समय साइबर अपराधहरु बढ्दो क्रममा रहेको जनाउँदै बरिष्ठ प्रहरी उपरिक्षकले आइटी इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुले कुनैपनि लोभ र प्रलोभनमा परेर स्क्यामका गतिविधिमा पर्न नहुनेपनि जिकीर गर्नुभयो ।‘तपाईहरुलाई कसैले जागिर दिने वा अन्य वहानामा साइबर स्क्यामका गिितविधिमा संलग्न गराउन सक्छन्, अथवा तपाई आफैं कसैको स्क्याममा पर्न सक्नुहुन्छ सचेत रहनु होला ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार सामाजिक सञ्जालहरु फेसवुक, एक्स, इष्टाग्राम, टिकटक लगायतमा कुनैपनि सामग्रीहरु पोस्ट गर्नुपूर्व ती सामग्रीहरु सार्वजनिक स्थलमा गर्न मिल्ने नमिल्ने यकिन गरेर मात्र पोस्ट गर्न सुझाउनु भयो । ‘हाम्रो संविधान र त्यो संविधानले र्निदिष्ट गरे अनुसार तपाईले सार्वजनिक स्थलमा जे–जे गर्न पाउनुहुन्छ सामाजिक सञ्जालहरुमा त्यही मात्र गर्नुस्, त्यो वाहेक संविधान र कानुन विपरितका कार्यहरु गर्दा साइबर अपराध हुन्छ । संविधान विपरित हुन्छ ।’

नेपाल प्रहरीले पछिल्लो समय साइबर सुरक्षामा आइपरेका चुनौति, सुरक्षाहरुका बारेमा गहन अध्ययन अनुसन्धान गरिरहेको बताउँदै बरिष्ठ प्रहरी उपरिक्षक आचार्यले विशेष गरी महिलाको चरित्र हत्या गर्ने, वार्गेनिङ गर्ने, विभिन्न लोभ र प्रलोभन देखाएर आर्थिक लाभ लिने अपराधहरु बढेको जनाउँदै सामाजिक सञ्जाल प्रयोग गर्दा त्यस्ता स्क्यामहरुबाट सचेत रहन अनुरोध पनि गर्नुभयो । 

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले कार्यक्रम साइबर सुरक्षा, ज्ञान र चुनौतिका बारेमा विद्यार्थीहरुलाई सचेतना दिने उद्देश्यले आयोजना गरिएको बताउँदै विद्यार्थीहरुले यसबाट लाभ लिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल क्लिएरिङ हाउसका कम्प्युटर इन्जिनियर समन्त आचार्य लगायतले प्रशिक्षण दिनु भएको छ । 

नेपाल इन्जिनियरिङ कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा शनिबार लगातार ४८ घण्टासम्म बग बाउन्टी च्यालेन्ज आयोजना हुनेछ । जसमा एनसीएचएलका सिस्टमका सुरक्षा कमजोरीहरू खोजेर रिपोर्ट गर्नुपर्नेछ । कार्यक्रम आइतबार समापन हुने बताइएको छ । 





















0 प्रतिकृया