Follow us:


Follow us

२ माघ २०८२, बिहिवार
२ माघ २०८२, बिहिवार


कहिले हट्ला शेयर बजारको ग्रहण ?

एक्सन खबर
पौष, ८, २०८२


कहिले हट्ला शेयर बजारको ग्रहण ?

रिसव गौतम

बढ्नुपर्ने अवस्थामा रहेको नेपालकै शेयर बजार पछिल्ला दिनमा निरन्तर ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई क्रमशः लचिलो बनाउँदै लगे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सकेको छैन। बजार झर्दै जाँदा अहिले परिसूचक २,५८१ अंकमा आइपुगेको छ।

नयाँ गभर्नर प्रा.डा. विश्व पौडेल आएपछि लगानीकर्ताका धेरै माग पूरा भएका थिए। नीतिगत अवरोध खासै छैनन्। बैंक तथा वित्तीय संस्थाहरूको ‘ब्यालेन्ससिट’ पनि अघिल्लो वर्षको तुलनामा सुधारिएको छ। अघिल्लो वर्ष ब्याज र किस्ता असुलीमा समस्या, खराब कर्जा वृद्धि जस्ता चुनौती थे । तर अहिले सुधार देखा परिरहेको छ। त्यसैले धेरै बैंकहरूले यथेशनक लाभांश घोषणा गरिरहेका छन्। जीवन बीमा तथा लघुवित्तहरू आकर्षक लाभांश घोषणा गरिरहेका छन्। ऊर्जामा तत्काल आकर्षक प्रतिफल नदेखिए पनि होटल तथा अन्य क्षेत्रको अवस्था त्यति खराब छैन।

ऊर्जा क्षेत्र देशको समृद्धिको आधार हो। केही वर्षअघि थोरै जलविद्युत कम्पनी मात्रै सूचीभित्र थिए, आज ९७ कम्पनी नेप्सेमा सूचीकृत छन्। विद्युत निर्यात पनि बढ्दो छ। तर अधिकांश कम्पनी निर्माण ऋणको भारमै हुँदा तत्काल उच्च लाभांश दिन सक्ने अवस्थामा छैनन्।

तर हालको जेनजी आन्दोलनपश्चात् पर्यटन क्षेत्र प्रभावित हुन पुगेको छ। पर्यटक आगमन बढ्दै गरे पनि त्यसको भरपर्दो प्रभाव शेयर बजारमा देखिएको छैन। अर्थतन्त्रको ‘ऐना’ भनेर चिनिने बजार लगातार ओरालो लाग्नु चिन्ताजनक विषय हो। आखिर किन घटिरहेको छ बजार ? यही प्रश्नलाई केन्द्रमा राखेर यो विश्लेषण प्रस्तुत गरिएको हो।

१. पुराना दलहरूको अति–राजनीति

जेनजी आन्दोलनपछि बजारको मनोविज्ञान कमजोर भयो। परिसूचक २,९०० नजिक पुगेको बजार त्यही घटनाक्रमपछि तीव्र गतिमा घट्यो। मौद्रिक नीतिले प्रोत्साहन दिएकै समयमा आन्दोलन सुरु हुनु दुर्भाग्यपूर्ण रह्यो। आन्दोलन भएको १०० दिन बितिसक्दा पनि चुनावबारेको अनिश्चितता यथावत छ।

ठूला भनिएका कांग्रेस र एमालेको अत्यधिक राजनीतिक द्वन्द्वले वातावरण बिगारेको छ। मुखले चुनाव नभाग्ने भनिए पनि प्राथमिकता भने संसद पुनर्स्थापना र सत्ता समीकरणमै बाँधिएको छ। जेनजी घटनाका राजनीतिक जिम्मेवारी स्वीकार्ने स्पष्टता छैन। आन्दोलनले अस्वीकार गरेका पुरानै पात्र पुनः शक्तिशाली बन्दा लगानीकर्ताले भविष्य अझै अनिश्चित देखिरहेका छन्।

यसैबीच कांग्रेसभित्र नेतृत्व अस्थिरता, एमालेसँगको शक्ति–राजनीति, चुनाव चाहने र संसद पुनर्स्थापना चाहनेबीचको घर्षणले व्यावसायिक क्षेत्र अन्योलमा परेको छ। डर, धम्की र असुरक्षाको मनोविज्ञान बढ्दा लगानीकर्ताको आत्मविश्वास घट्नु स्वाभाविक भयो।

२. बढ्दो अराजकता र असुरक्षा

पुराना दलको अति–राजनीति मात्र होइन, नयाँ शक्तिहरूबाट पनि अराजकतामूलक व्यवहार देखिन थालेको छ। चुनाव घोषणा भइसके पनि सडक आन्दोलन र हड्तालको धम्की जारी छन्।

जेनजी आन्दोलनकै क्रममा व्यापक तोडफोड, आगजनी, उद्योग–व्यवसायमा भएको क्षति (आंकलन अनुसार करिब ८४ अर्ब) ले देशको व्यापारिक मनोबल गहिरो रूपमा चोट खायो। विदेशी लगानी हतोत्साहित भयो। होटल तथा पर्यटन प्रभावित भए। बैंकबाट ऋण लिनुपर्ने उद्यमीसमेत भविष्यको अनिश्चितताबाट हच्किन थाले।

बीमा भुक्तानीमा ढिलाइ, चन्दा आतंक, धम्की, सुरक्षा चुनौती, लुटिएका हतियारको पूर्ण नियन्त्रण हुन नसक्नु, भागेका कैदी पूर्ण समातिनु नसक्नु—यी सबै कारणले अराजकताको भावना अझै बाँकी छ। परिणामतः शेयर लगानीकर्ताको मनोबल उठ्न सकेको छैन।

निष्कर्ष

नीतिगत अवरोध छैन, वित्तीय संस्थाहरू क्रमशः सुधारिंदैछन्। तर स्थिर राजनीतिक वातावरण, विश्वासिलो शासन र सुरक्षित व्यावसायिक माहोल बिना शेयर बजार उक्लन सक्दैन।

त्यसैले सबै पक्षले शान्त, स्थिर र चुनावमैत्री वातावरण निर्माणमा भूमिका खेल्न जरुरी छ। तोकिएकै समयमा निष्पक्ष चुनाव भए स्थिरता आउनेछ, लगानीकर्तामा विश्वास फर्किनेछ र बजार पुनर्जीवित हुने सम्भावना बलियो रहनेछ। तर चुनाव नै टर्छ वा अस्थिरता बढ्छ भने त्यसको मार सम्पूर्ण अर्थतन्त्रले भोग्नुपर्नेछ।

– गौतम, आर्थिक लेखक तथा विश्लेषक हुन् ।













0 प्रतिकृया