Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


दुलही खाेज्न बिलबाेर्डमा विज्ञापन

एक्सन खबर
पाैष २६, २०७८


दुलही खाेज्न बिलबाेर्डमा विज्ञापन

एजेन्सी । बेलायतमा एक अविवाहित युवकले ठट्यौलो पाराका सन्देशसहित आफू दुलहीको खोजीमा रहेको भन्दै ठूलाठूला बिलबोर्डमा विज्ञापन गरेका छन्। उनन्तीस वर्षीय मोहम्मद मलिकले युवतीहरूलाई आफू विवाह गर्ने विचारमा रहेको सन्देश दिन लन्डन र बर्मिङ्गममा त्यस्तो विज्ञापन गरेका हुन्।

सडकछेउछाउ राखिएका विज्ञापन गर्ने ठूला बोर्डमा उनको हँसिलो तस्बिरसहित “मलाई मागी बिहेबाट जोगाऊ” लेखिएको छ। आफू परम्परागत मागी विवाहको विपक्षमा नरहे पनि पहिले “आफैँले खोजेर कसैलाई फेला पार्ने” प्रयास गरेको उनले बताए।

लन्डनमा बस्ने मलिक ब्याङ्कमा परामर्शदाताका रूपमा काम गर्छन्। उनले अहिलेसम्म श्रीमती खोज्ने आफ्नो प्रयास उपलब्धिविहीन रहेको बताएका छन्। अब वेबसाइट findmalikawife.com बाट दुलही खोज्ने अभियान जारी राख्ने उनको योजना छ।

बिलबोर्डमा विज्ञापन गरेपछि चासो देखाउँदै सयौँ सन्देश आएको उनले बताए। मलिकले बिलबोर्डमा विज्ञापन गर्नुअघि महिलाहरू भेट्न अरू तरिका प्रयोग गरेको बताए। “म पाकिस्तानी मूलको हुँ,” उनले भने “हामीलाई भन्ने गरिन्छ कि काकी(लमी)हरूको यसमा क्षमता हुन्छ तर त्यो विधिले पनि काम गरेन।” त्यसपछि उनले जोडी खोज्न प्रयोग गरिने डेटिङ एप र केही डेटिङ कार्यक्रमको पनि सहारा लिए।

तर ती दुवै आफूलाई अत्यासलाग्दा लागेको उनी बताउँछन्। अन्त्यमा उनका एक साथीले उनलाई आफ्नो विज्ञापन गर्न सुझाव दिए। मलिक भन्छन्, “मैले सोचेँः किन नगर्ने ? त्यसमा खराबी नै के छ र ?” उनले राखेका बिलबोर्ड ज्यानुअरी १४ सम्म रहनेछन्।

बिलबोर्डमा विज्ञापन गर्ने कुरामा “सुरुदेखि नै परिवारको समर्थन” भए पनि आमालाई बुझाउन केही मेहनत गर्नुपरेको उनी बताउँछन्। मलिकले आफूलाई इस्लाम धर्ममा आस्था भएकी र परिवारसँग हाँसोठट्टामा पनि मिल्न सक्ने हुनुपर्ने बताएका छन्।













0 प्रतिकृया