याे वर्षकाे एनसेल बाह्रखरी गल्फ धरानमा
एक्सन खबर
धरान । बाह्रखरी मिडियाले यो वर्षको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता धरानमा आयोजना गर्ने भएकाे छ । प्रदेश एकको धरानमा रहेको गल्फ कोर्समा कर्पोरेट गल्फ प्रतियोगिता तथा देशभरका निजी क्षेत्रका प्रतिनिधिहरूको प्रतिनिधित्व हुनेगरी विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट २०२२ र इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ २०२२ आयोजना हुने भएकाे छ ।
फागुनको १३ र १४ गते हुने प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीहरूकाे प्रतिष्पर्धा हुनेछ ।
इकोनोमिक समीटअघि प्रदेशका महत्वपूर्ण क्षेत्र सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम र झापामा त्यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारका विषयहरुमा राउन्ड टेबलको आयोजना गरिने र त्यहाँ उठेका विषयहरुलाई समेटेर फागुन १४ गते इकोनोकिम समीट हुनेछ । उक्त समिटमा पूर्व अर्थसचिव रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्ने तथा अर्थमन्त्री जनार्दन शर्मा, श्रम मन्त्री किसान श्रेष्ठसहित विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने बताइएकाे छ ।
त्यस्तै फागुन १३ गते आन्टरप्रिनुअर्स मिट २०२२ मा युवा उद्यमीका समस्या, यस क्षेत्रमा उदाउँदै गरेका युवाहरुको योजना लगायतका विषयमा छलफल हुने बताइएकाे छ । कार्यक्रमकाे सहजीकरण युवा उद्यमी तथा योड्ड आन्टरप्रिनुअर्स एशोसियसनका पूर्वअध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले गर्ने कार्यक्रम रहेकाे छ ।
धरानमा हुने गल्फमा सय बढ़ी कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अलराउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ ।
यो वर्षको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब पाँच सय पाहुना सम्मिलित हुने बताइएकाे छ । एनसेल बाह्रखरी गल्फमा प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, गोर्खा ब्रुअरी, ग्लेन लिभेट सिङ्गल मल्ट, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स र डिशहोम फाइबरनेटको सहयोग रहनेछ ।
कोमिड- १९ले पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा बाह्रखरीले गत वर्ष पर्यटकीय राजधानी पोखरामा एनसेल बाह्रखरी गल्फ आयोजना गरेको थियो । दुई वर्षअघि सगरमाथा क्षेत्रमा एनसेल बाह्रखरी गल्फ आयोजना गरेको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाईमा (४२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो ।
0 प्रतिकृया