नेपाल इन्जिनियरिङ कलेजले आफ्नै प्राङ्गणमा गर्यो विद्यार्थीलाई दीक्षित
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी दीक्षित भएका छन् । आज बुधबार कलेजले आफ्नै प्राङ्गणमा विशेष समारोह गर्दै तीन सय विद्यार्थीलाई दीक्षित गरेको हो ।
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोहका प्रमुख अतिथी विश्वविद्यालयका डीन प्राध्यापक डाक्टर राजेशकुमार ठकुराठी रहेका थिए । समारोहमा प्रमुख अतिथी डा. ठकुराठी, कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेज सञ्चालक समिति अध्यक्ष सोमप्रसाद मिश्रले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् ।
सो अवसरमा कलेजबाट इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा स्नातक तथा स्नातकोत्तर अध्ययन पुरा गरेका दुई सय ९८ जना विद्यार्थीहरु दीक्षित भएको नेकले जनाएको छ । दीक्षित हुनेहरुमा स्नातक तहमा दुई सय ३९ र स्नातकोत्तरमा ५९ जना विद्यार्थी रहेका छन् । पोखरा विश्वविद्यालयले केहीदिन अगाडी गरेको दीक्षान्त समारोहमा सहभागी हुन नसकेका कलेजका विद्यार्थीहरुलाई कलेजमै कार्यक्रम गरेर दीक्षित गरिएको हो ।
दीक्षान्त समारोहलाई संवोधन गर्दै पोखरा विश्वविद्यालयका डीन डा. ठकुराठीले नेपालको उच्च शिक्षामा पोखरा विश्वविद्यालयले विशिष्टकृत पहिचान बनाउन सफल भएको बताए । पोखरा विश्वविद्यालयले उत्पादन गरेका जनशक्तिले मुलुकको सर्वाङ्गीण विकासमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान दिएको दावी गरे । साथै विश्वविद्यालयले सञ्चालन गरेका सम्पूर्ण कार्यक्रमहरु स्तरीय, रोजगारमुखी रहेको पनि बताए ।
विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति मुलुकको प्राविधिक क्षेत्र, प्रशासनिक क्षेत्र, व्यापार व्यवसाय, उद्योग धन्धा एवं स्वदेशी तथा विदेशी ख्यातिप्राप्त संघ संस्थाहरुमा प्रतिष्ठित पदहरुमा रहेको जिकीर गर्दै दीक्षित भएका विद्यार्थीहरुलाई उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना व्यक्त गरे ।
कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठले नेपाल इन्जिनियरिङ कलेजले विश्वविद्यालयको उद्देश्य अनुरुप इन्जिनियरिङ शिक्षामा दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, भाइस–प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक को–अर्डिनेटर बाबुराम भट्टराई, कलेज व्यवस्थापन समितिका सदस्य एवं भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, पोखरा विश्वविद्यालयका तर्फबाट कलेज व्यवस्थापन समितिका सदस्य अर्जुन गौतम तथा सोम प्रधानलगायतले दीक्षित विद्यार्थीलाई शुभकामना दिएका थिए ।
-->
0 प्रतिकृया