भगवती चौधरी भन्छिन्ः आर्थिक अभाव महिला हिंसाको एउटा कारण
एक्सन खबर
‘पुरातन संस्कार, संस्कृति र परम्पराले महिलालाई पुरुषको अधिनमा बस्नुपर्छ भन्ने सोच स्थापित गरिदिएको छ । महिला घरदेखि बाहिर निस्कनु हुन्न । परपुरुषसँग बोल्नु हुन्न । चुल्होचौकादेखि बाहिर जानु हुँदैन । पुरुषले जे दियो त्यहि लायो, त्यहि खायो । पुरुषको छत्रछाँयाभन्दा बाहिर जानु हुँदैन भन्ने सोचले पनि महिला हिंसा बढेको हो ।’ महिला आर्थिक शसक्तिकरणकी अगुवा भगवती चौधरीको बुझाई छ ।
दुई दशकदेखि महिलालाई आर्थिक क्षेत्रमा पहुँच स्थापित गर्न÷गराउन सक्रिय भगवती चौधरीका दृष्टिकोणमा कुनैपनि घरपरिवारमा महिला निर्णय गर्ने स्थानमा छन्भने त्यहाँ महिला हिंसा कम हुन्छ । पुरुषले अड्कलेर दिने पितृसत्तात्मक समाजमा महिला सदैव तल परेका छन् । ‘जुनघरमा पुरुषको मात्रै हैकम चल्छ त्यहाँ महिला हिंसा बढी हुन्छ चाहे त्यो सम्पन्न परिवार होस् वा विपन्न ।’ ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत महिला सचेतना फैलाउँदै आएकी नेतृ चौधरी भन्छिन् ।
त्यस्तै जिम्मेवारीका हिसाबले हेर्ने हो भनेपनि पुरुषभन्दा महिला बढी जिम्मेवार र आफ्नो भूमिकाप्रति इमान्दार हुने चौधरीको अनुभव छ । श्रीमान श्रीमति दुवै कमाउने छन् भनेपनि पुरुषको कामभन्दा महिलाले काम बढी हुने गरेको छ । ‘श्रीमान श्रीमति दुवै अफिस जान्छन्, बेलुका अफिसबाट आएर श्रीमान टिभी हेर्दै समय कटाउँदा महिलालाई भने भान्साकोठाको काम गर्नै पर्दछ । तरपनि उनले आफ्नो जिम्मेवारी पुरुषको भन्दा राम्ररी निर्वाह गरिरहेकी हुन्छिन् ।’ चौधरी भन्छिन् ।
त्यसैगरी काम गर्ने सवालमा पनि पुरुषभन्दा महिलाहरु बढी लगनशील र इमान्दार हुन्छन् । ‘पुरुषहरुभित्र आज नभए भोली गरुला भन्ने सोच हावी हुन्छ । महिलाले त्यसो कमै गर्छन् ।’ यसो हुनुको कारण हाम्रै पितृसत्तात्मक मान्यता रहेको उनको धारणा छ । ‘हाम्रो संस्कार, संस्कृतिले महिलाहरुलाई कमजोर बनाइदियो । विवाह गरेर पुरुषको घर जानुपर्ने, भान्साको काम श्रीमतिले मात्रै गर्नुपर्ने, श्रीमानले कमाएर ल्याउनुपर्ने, श्रीमतिले बनाएर दिनुपर्ने सोच हावी रहेकाले महिलाहरु दविनु परेको हो ।’ चौधरी भन्छिन् ।
तराईमा परम्परागत संस्कार–संस्कृति भित्रको विकृतिले पनि विभेद बढेको छ । धार्मिक आस्थाका कारण पनि विभेद छ । कतिपय कू–प्रथाका कारण महिलाहरु हिंसाको शिकार भएका छन् । बोक्सी प्रथा, दाइजो प्रथा सामाजिक विभेद हो । यो हिमाल, पहाड तराई सबैतिर व्याप्त छ । अझ अशिक्षित परिवारभित्र यस्ता प्रथाहरु घरभित्रै हुन्छन् । शहरी क्षेत्रमा ठूला घरानीयाभित्र पनि महिला विभेदहरु हुने गरेको तर, उनीहरु सामाजिक प्रतिष्ठाका कारण नखुलेको चौधरीको तर्क छ ।
महिला हिंसा निर्मुल गर्ने होभने सबैभन्दा पहिला उनीहरुलाई आर्थिक अधिकार सुनिश्चित गर्नुपर्ने चौधरीको विचार छ । महिलासँग पैसा छ भने घरेलु हिंसाको शिकार भएर बसिरहन पर्दैन । पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरी भन्छिन्–‘महिलाहरुसँग पद, पैसा, सीप र क्षमता छैनभने जस्तोसुुकै हिंसा भएपनि सहेर बस्नुपर्छ तर, उ आफैं कमाएर जिवनयापन गर्न सक्छिन् भने हिंसा सहेर बस्दिनन् ।’ चौधरीका अनुसार आर्थिक शशक्तिकरणको अभियान मार्फत महिलालाई सक्षम बनाएर समाजमा विद्यमान हिंसा रोक्न सकिन्छ । लघुवित्त कार्यक्रम मार्फत देशभरका झण्डै तीनलाख महिलाहरुलाई आर्थिक शसक्तिकरणको अभियानमा जोडिरहेकी चौधरीले महिलालाई उद्यमशील बनाउन राज्य नै लाग्नुपर्ने बताउँछिन् ।
कानुन कार्यान्वयनमा जोड
हाम्रो देशमा कानुनले महिला–पुरुष दुवैलाई समान रुपमा हेरेपनि सामाजिक रुपमा सचेतना फैलाउन सकिएको छैन । कुनैपनि कानुन राजनीतिले बनाउने गर्दछ । हाम्रोमा राजनीतिमा पनि महिलाहरु अझै पुरुष सरह अगाडी बढ्न सकेका छैनन् । संविधानले हरेक अंगमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेपनि त्यसको कार्यान्वयन पनि भएको पाईंदैन । राजनीतिमा समेत ३३ प्रतिशत महिला पुगेका छैनन् । राजनीतिक दलहरु समेत महिलालाई अधिकार दिने, नेतृत्वमा पुर्याउने सवालमा संकीर्ण छन् ।
कानुनले महिला पुरुषविच विभेद नदेखेपनि समाजमा कानुनका कुरा पनि पुगेका छैनन् । भन्नुको तात्पर्य हाम्रो संविधान र कानुनले महिला हिंसा र विभेदका विषयमा के कस्तो व्यवस्था गरेको छ ? भन्ने कुरा बुझाउन नसक्दा पनि हिंसा बढेको हो । ‘महिलालाई कुनैपनि हिंसा गर्दा यस्तो सजाय पाइन्छ भन्ने सचेतना दिइन सकिएको छैन । खासगरी महिलाहरुलाई पनि हाम्रो कानुनी व्यवस्थाबारे सचेतना दिन आवश्यक छ ।’ महिला कानुनका बारेमा सचेत हुँदा हिंसा भइहाले पनि प्रतिकार गर्न सक्ने उनको भनाई छ ।
चौधरीको विचारमा शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा हुने महिला हिंसा पनि फरकफरक छन् । गाउँघरमा परम्परागत सोच, विचार, संस्कार संस्कृति, मुल्यमान्यताबाट महिला हिंसा बढी हुन्छन् । शहरमा आधुनिक जिवनशैलीका कारण महिला हिंसा हुन्छ । अहिले त शारिरीक भन्दा मानसिक त्योपनि भर्चुवल रुपमा बढी महिला हिंसा बढेका छन् ।
‘सामाजिक सञ्जालमार्फत महिला हिंसा धेरै भएका छन् । हिंसाभन्ने वित्तिकै कुटी हाल्नुपर्ने, बलात्कारै हुनुपर्छ, एसिड छ्याप्नैपर्छ भन्ने हैन । सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, मानमर्दन गर्ने कार्यपनि महिला हिंसा हो ।’ सूचना र प्रविधिले महिला हिंसाका दायरा फराकिलो बनाएको उनको बुझाई छ । ‘प्रविधिसँगै विक्रिति भित्रिएका छन् । तिनीहरुलाई समयानुकुल कानुन बनाएर नियन्त्रण गर्नुपर्छ ।’ चौधरीको राय छ ।
0 प्रतिकृया