पारस र सावित्रा दशककै सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षकमा टमाटा
एक्सन खबर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा महिला तर्फ फुटवलकी सावित्रा भण्डारी पनि दशककै सर्वाेत्कृष्ठ घाेषित भइन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधि शुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारस र सावित्राले यस्तो अनुपम सफलता हासिल गरेका हुन् ।
मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए ।
मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एक छत्र राज गरेका पारस सम्मानित भए । उनी यसअघि एक पटक युवा विधासमेत गरी अवार्डमा पाँच पटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका थिए ।
नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँच बाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो ।
सन् २०१३ मा युएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी २० विश्वकपसम्म पुर्याउँदा सफल नेतृत्व गरेका थिए । सन् २०१८ मा नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनु पारस अनि नेपाली क्रिकेटको अनुपम सफलतामा पर्छ ।
महिलामा दशकको उत्कृष्ट साम्बा
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा मंगलबार दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइन् ।
साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी गोल मेसिन सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । क्लब फुटबलमा उनले गरेका गोलको लेखाजोखा कसैसँग छैन । उनको क्लब सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघसँग पनि । सावित्रा स्वयमलाई पनि आफूले गरेका गोलहरूको तथ्यांक थाहा छैन । त्यसैले ढुक्कसँग भन्न सकिन्छ, सावित्रा नेपाली राष्ट्रिय महिला टोलीले पाएको अहिलेसम्मकै सर्वोकृष्ट स्ट्राइकर हुन् ।
सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ । यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा हिरो उमेन्स गोल्डकप र नाडेजा कपमा एक/एक पटक फाइनल पुगेको थियो ।
भारतीय लिग आइडब्लुएलमा दुई सिजन खेल्दा दुवै पटक उनले आफ्नो टोलीलाई च्याम्पियन बनाइन भने नेपालमा उनी सम्मिलित एपिएफले सायदै हार सामना गर्नुपरेको होला ।
जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भए । लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथीको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।
टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु १९ कपमा नेपाल उपविजेता बन्दै यु १९ एसिया कप र यु १९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो । त्यही वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउँदै नेपाललाई यु १९ विश्वकपमा पुर्याएका थिए ।
२०१२ मा नेपालले यु १९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए । टमाटाकै प्रशिक्षणमा सन् २०१५ को यु १९ विश्वकप छनोटमा नेपाल विजेता बन्दै बंगलादेशमा भएको २०१६ यु १९ विश्वकपमा छनोट भएको थियो । युवा विश्वकपको त्यो संस्करणमा नेपाल पहिलो पटक क्वाटरफाइनल पुगेको थियो ।
उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । जिम्बाब्वेमा आयोजित विश्वकप २०१८ छनोटमा नेपाल आठौं स्थान हासिल गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको लायक बन्दा टमाटा नै प्रशिक्षक थिए ।
दुई पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट प्रशिक्षक सम्मान जितिसकेका टमाटा पूरा दशकभरि नेपाली खेलकुदलाई सफलताको बाटोमा डोर्याएवापत मंगलबार दशकको उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित भए । सम्मानसँगै टमाटाले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
एलिनालाई पिपल्स च्वाइस अवार्ड
टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् । एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् ।
एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र १३ औं) महिला टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।
उनले खेलजीवनसँगै प्रशिक्षण जीवन समेत सुरु गरिसकेकी छन् । उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन् ।
सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी एलिनाले १३औं दक्षिण एसियाली खेलकुदमा पाएको पुरस्कारबाट कोभिड १९ प्रभावितलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी थिइन् । पारिवारिक पृष्ठभूमि नै टेबलटेनिस रहेकाले एलिना स्पोर्टस् कल्चरमै हुर्किएकी थिइन् ।
एलिनाका दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजू नबिता श्रेष्ठ सबै टेबल ठेसिनका राष्ट्रिय स्तरका खेलाडी हुन् । ‘खेलाडीलाई हौसलाको एकदमै खाँचो छ थपाइहरूले त्यो गरिदिनु भएको छ खुसी छु,’ मनोनयनमा परेपछि एलिनाले भनेकी थिइन्, ‘म मनोनयनमा परेको भन्दा पनि टेबलटेनिस परेको हो । अझै यस्तो मोटिभेसन मिलिरहोस् ।’
यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल मनोनयनमा थिए ।
सतामलाई एसियाली खेलकुद पत्रकार अवार्ड
एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का अध्यक्ष कुवेती पत्रकार सताम अल सेहली एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित भएका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्युरो प्रमुख एवं कुवेत फुटबल संघको मिडिया कमिटी प्रमुख सतामलाई सम्मानित भएका हुन् ।
सतामले पछिल्लो पाँच वर्षदेखि अध्यक्षको रूपमा एआइपिएस एसियाको नेतृत्व गरिरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एआइपिएस एसियाको सदस्य हो । २००५ मा खेल पत्रकारिता सुरु गरेका सताम ‘गल्फ फेडेरेसन अफ स्पोर्टस मिडिया’का उपाध्यक्ष हुन् । अस्वस्थताका कारण सताम आफै नेपाल भ्रमणका लागि असमर्थ हुँदा एआइपिएस एसियाका महासचिव अम्जाद अजिज मलिकले उनको सम्मान ग्रहण गरे ।
0 प्रतिकृया