दुहवी ८ मा नेकपा एमालेको वडा कार्यालय स्थापना
एक्सन खबर
दुहवी । सुनसरी क्षेत्र नं. ३ अन्तरगत दुहवी नगरपालिका वडा नं. ८ मा नेकपा एमालेको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले शनिबार उद्घाटन गरिन् ।
सो अवसरमा बोल्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ को समग्र विकासको लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको बताउँदै बैशाख ३० गतेको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारलाई भारी मतले विजयी गराउनु पर्ने बताइन् । एमालेसँग मात्रै समाजवादको प्रष्ट खाका रहेको जिकीर गर्दै नेतृ चौधरीले समृद्ध मुलुक सुखी नेपालीको सपना नै समाजवाद रहेको बताइन् ।
सुनसरी क्षेत्र नं. ३ विकासका दृष्टिकोणले राज्यको नजरमा पर्न नसकेको उत्लेख गर्दै स्थानीय निकायले पनि जनताका चाहना र आवश्यक्ता नबुझेकोले अबको निर्वाचनमा एमालेलाई जिताएर पठाउनु पर्ने बताइन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जनताका घरघरमा गएर उनीहरुका साझा समस्याहरु पहिचान गरी कार्य योजना बनाउन निर्देशन पनि दिइन् । सो अवसरमा नेकपा एमालेका नेता रोहित कार्की तथा स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस्तै शनिबार नै नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल सुनसरीले इटहरी १६ जब्दीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले स्थानीय जनताहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य परीक्षणमा नाक, कान, घाँटी, हाडजोर्नी, बालरोग, स्त्री रोग तथा बरिष्ठ फिजिसियन चिकित्सकले स्वास्थ्य परीक्षण गरेका युवा संघ नेपाल सुनसरी सचिव राकेश डाँगीले बताए ।
0 प्रतिकृया