आज रामनवमी, सार्वजनिक बिदा
एक्सन खबर
काठमाडाैं । तद्नुसार अप्रिल महिनाको १० तारिक २०२२ । चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादा पुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन ।
सरकारले आज सार्वजनिक बिदाकाे घोषणा गरेको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।
हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै आद्य शक्ति नव दुर्गादेवीको पनि पूजा हुन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् ।
यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् ।
रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
0 प्रतिकृया