जसले दुई हजार दिन्छ, उसैलाई भोट
एक्सन खबर
सुधा देव
सप्तरी । आसन्न स्थानीय तह
निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक
तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।
आउँदो
११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण
राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् ।
राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी
माहोलले तताउँदै छ । कसलाई मत दिने र नदिने विचार बनाउँदै छन्, आममानिस पनि
। आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत
दिनु नागरिकको कर्तव्य हो । तर, सप्तरीको राजविराज नगरपालिकाका स्थानीय
भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् ।
प्रतिमत दुई हजार
रुपैयाँ दिनेलाई मत दिने राजविराज नगरपालिका–१ कि ५५ वर्षिया राधा देवी
रामले बताइन् । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो
बस्तीका मतदाताले भोट दिने बताइन् । ‘गत निर्वाचनमा पनि पैसा लिएर भोट
दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने
हो,’ उनले भनिन् ।
भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन ।
पैसा लिने विषयमा पुरुषले डिल गर्छन् । पुरुषकै निर्देशनअनुसार महिलालाई
भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा
बताउँछिन् ।
२५ वर्ष अगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट
दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ । ‘२५ वर्ष
अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन ।
पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन्,’
उनले भनिन् ।
बाँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट
दिनुपरेको स्थानीय ४० वर्षीया सोमनी मरिकले बताइन् । भोक टारेर बाँँच्न
सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् । ‘हामीहरू बाँच्यौ भने न विकास
हेर्ने हो । सधैँ आर्थिक संकट झेल्दै आउनु परेको हाम्रो समुदायको पहिलो
प्राथमिकता नै पैसा हो । जसले पैसा दिन्छ, उतै हाम्रो समुदायले भोट दिन्छ,’
मरिकले बताइन् ।
चुनाव पैसामुखी भएको ७५ वर्षिया जितनी रामले
बताइन् । ‘इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने
र नेताले पनि काम गरेरभन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू
पैसामुखी बनेको छ,’ उनले भनिन् ।
चुनाव जितेर काम नगर्ने नेतालाई
भोट दिन नहुने स्थानीय ७० वर्षीया शिवनारायण रजक सुझाव दिन्छन् । ‘चुनावको
बेला एक दुई हजारमा बिकेर फेरि काम नगर्ने नेतालाई जिताउने प्रवृत्ति
स्थानीय स्तरमा बढेको छ,’ उनी भन्छन्, ‘यस्तालाई भन्दा काम गर्ने नेतालाई
भोट दिनुपर्छ ।’
0 प्रतिकृया