वीपी प्रतिष्ठानका उपकुलपतिलाई माग पुरा गर्न आग्रह
एक्सन खबर
धरान । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपतिलाई विभिन्न कालखण्डमा आफुहरुले उठान गरेको मागहरूको सम्बोधन गर्न भनेकाे छ ।
आज समाजले विज्ञप्ति मार्फत प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सम्बोधन गर्दै नेपालकाे चिकित्सा शिक्षा क्षेत्रमा प्रतिष्ठानले उत्कृष्ट भूमिका निर्वाह गर्ने बनाउनुमा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै शिक्षक, कर्मचारीकाे हक हितका लागि पनि ध्यान दिन भनेकाे छ ।
समाजले शिक्षकको मागहरूलाई लिएर पटक–पटक उपकुलपति समक्ष मागपत्र बुझाई सकेको भएपनि उक्त मागहरू पूरा गर्नेतर्फ कुनै प्रगति नभएकोले चिकित्सक शिक्षकहरू निरूत्साहित भई पलायन समेत हुने क्रम जारी रहेको अवगत गराउँदै चिकित्सक, शिक्षकहरू पलायन हुनबाट राेक्न उक्त मागहरू कार्यान्वयन गर्न अनुराेध गरेकाे हाे ।
चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. अरुण कुमार सिंहले प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षकहरूकाे वर्षाैं देखि बढुवा नभएको हुँदा योग्यता पुगेका चिकित्सक शिक्षकहरूको बढुवा गर्नुपर्ने करारमा रहेका सिनियर फ्याकल्टीहरूलाई यथाशिघ्र पदोन्नतिको व्यवस्था गर्नुपर्ने, स्थापनाकाल देखिनै प्रतिष्ठानमा कार्यरत शिक्षक/कर्मचारीहरूको छोरा/छोरीले प्रतिष्ठानको विभिन्न शिक्षा कार्यक्रमहरूमा पाउने गरेको सिटहरू (कोटा) मिलाउन भनेकाे छ ।
काेभिडको कारणले बन्द भएको ग्राण्ट सुचारू गर्न, प्रतिष्ठानमा बिकराल बन्दै गएको पानीको समस्याको दीर्घकालिन समस्या समाधान गर्नको लागि तत्काल व्यवस्थापन गर्न समेत भनेको छ ।
समाजकाे मागपत्र बुझ्दै उपकुलपति डा. गिरीले आफु प्रतिष्ठानमा देखिएका सबै प्रकारमा समस्या हल गर्न तथा प्रतिष्ठानकाे सेवाहरू सुधार गर्नकै लागि आएकाे बताउँदै आन्तरिक तथा बाह्य कारणले साेचे अनुसार काम गर्न नसकेपनि आउँदा दिनहरूमा सबै समाधान गर्ने बताए ।
प्रतिष्ठान सधैं अस्तव्यस्त रहाेस्, पदाधिकारीले काम गर्न नपाउन् भन्ने साेच भएका केही एकाध व्यक्तिहरूका कारण व्यवस्थापनले चाहे अनुसार कार्य गर्न नसकेपनि आउँदा दिनहरूमा काम गर्ने र मागहरू पुरा गर्न लाग्ने बताए ।
0 प्रतिकृया