सुचारू भयाे धरानकाे मतगणना
एक्सन खबर
सुनसरी । स्थगित भएको धरानको मतगणना कार्य सुचारु भएको छ । हिजाे वडा नं. २० मा १८ वटा मतदान अधिकृतकाे हस्ताक्षर विनाकाे मतपत्र भेटिएपछि निम्तिएकाे विवाद थाति राखेर मतगणना पुनः गर्ने दलहरूविच सहमति भएसँगै मतगणना सुचारू भएकाे हाे ।
निर्वाचन अधिकृतको कार्यालयले आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको जानकारी दिएको छ । अहिले वडा नं ८, १२ र १९ को मतगणना भइरहेको छ । विवाद भएको वडा नं २० लाई थाति राखेर अन्य वडाको गणना कार्य सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति जुटेपछि गणना अगाडी बढेकाे हाे ।
हिजो मतगणनाको क्रममा वडा नं २० को मतपेटिकामा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर विना भेटिएपछि उक्त मतपत्र वदर गर्दा माओवादी केन्द्रले पुनः गणना गर्न माग राखेको थियो । सोही बिषयमा पटक पटक मतगणनास्थलमा तनाव सृर्जना हुँदा माओवादी केन्द्रले आफ्नो माग सम्बोधन नभएसम्म प्रतिनिधि नपठाउने अडान राखेको थियो ।
बुधबार राती मतदान अधिकृतले माओवादी केन्द्रको प्रतिनिधिविना गणना सुचारु गर्ने तयारी गरेपछि करिब १० बजेतिर पुनः विवाद भएको थियो । माओवादी र एमालेका कार्यकर्ताहरुबीच मतगणना भइरहेको भवनमै झण्डै हात हालाहालकाे अवस्था उत्पन्न भएपछि बसेको बैठकमा धरान २० को मत गणना थाति राखेर आज बिहान ८ बजेदेखि अन्य वडाको मतगणना सुचारु गर्ने दलहरुले सहमति गरिएकाे थियाे ।
पछिल्लाे सार्वजनिक नतिजा अनुसार धरान उपमहानगरपालिकाकाे निर्वाचनमा मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धन कांग्रेसका उम्मेदवार किशाेर राईलाई पछि पारेका अग्रता कायम गरेका छन् ।
0 प्रतिकृया