सडक निर्माणमा ढिलासुस्ती हुँदा विद्यार्थी र दुवाकोटबासीलाई सास्ती
एक्सन खबर
भक्तपुर । ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण समयमै काम नहुँदा चाँगुनारायण नगरपालिका वडा नं. १, २, ३ र ४ का स्थानीयले महिनौदेखि सास्ती खेप्नु परिरहेको छ । चाँगुनारायण नगरपालिका वडा नं. १ देखि ४ नम्बर वडाको मनहरा–तेलकोट सडक खण्डको करिब ४ किलोमिटर सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयबासीले दुखः पाएका हुन् ।
दुवाकोटमा सरकारले निर्माण गर्न लागेको वीर अस्पतालको नयाँ भवनसम्म जाने एक मात्र सडक स्तरोन्नती गरेपनि ठेकेदार सिएम/ब्राइट/क्षितिज जेभीले ढिलो काम गर्दा स्थानीयको स्वास्थ्यमा समेत समस्या आएको छ । मनहरा–तेलकोट सडक अन्तरगत करिब तीन किलोमिटर बाटो अहिले हिलाम्य छ । केहीदिन यता लगातार वर्षा भइरहेकाले सो सडक खण्डमा राम्ररी सवारी आवतजावतमा समस्या उत्पन्न भएको छ ।
ठूला बस तथा टिपरहरु समेत आवतजावत गर्न कठिनाई छ । साना सवारीसाधनहरु मोटरसाइकल, स्कुटर र ट्याक्सीहरु सहजै आवतजावत गर्न सक्दैनन् । स्थानीय गणेशबहादुर खत्रीले गतवर्ष नै सडक निर्माण पुरा भइसक्नु पर्ने बताए । ‘यो सडक संघीय सरकार अन्तरगतको हो । गतवर्ष नै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, आधा काम पनि भएको छैन ।’
हिउँदमा धुलो उडेर हिँड्नै नसकिने भएको सडक अहिले हिलाम्ये छ । सडक निर्माणमा ड्रेन तथा ढलको काम अझै बाँकी छ । साथमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोलहरु समेत स्थानान्तरण गरेका छैनन् । सडक निमाणको ठेक्का पाएको सिएम/ब्राइट/क्षितिज जेभीले पर्याप्त कामदार नखटाउँदा काम सुस्त गतीमा भइरहेको छ ।
प्रस्तावित वीर अस्पताल निर्माण क्षेत्रदेखि नेपाल इन्जिनियरिङ कलेजसम्म जाने सडक हिलाम्मे छ । हिँउदमा धुलो र वर्षामा हिलोका कारण कलेजमा अध्ययन गर्न आउने विद्यार्थीलाई समेत सास्ती परेको छ । ‘पानी पर्दा हिलो भएर हिँड्नै सकिन्न । नपर्दा धुलोले लगाएको ड्रेस नै नचिनिने हुन्छ ।’ कलेजमा सिभिल इन्जिनियरिङ पहिलो वर्षमा अध्ययनरत एक छात्राले भनिन् ।
यता सडक डिभिजन कार्यालय भक्तपुरले भने उक्त सडक समयमै निर्माण भइसक्ने बताएको छ । डिभिजन कार्यालयकी इन्जिनियर शर्मिला शर्माले २ वर्षमा सक्नुपर्ने सडकको काम अहिले २५ प्रतिशत सकिएको बताइन् । अन्य सडकहरु भन्दा छिटो काम भइरहेको दावी गर्दै इन्जिनियर शर्माले सडक निर्माणमा कुनै व्यवधान नभएकाले समयमै सम्पन्न हुने जिकीर गरिन् ।
‘यो बाटो समयमै सम्पन्न हुन्छ भन्नेमा विस्वस्त छौं । सडकमा विवाद छैन, २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको सडक खण्डमा २५ प्रतिशत काम भइसकेको छ । यो सडकमा ढलको ड्रेन छैन, आकाशेपानी निकासकालागि पाइप राखिएपनि कतिपय स्थानमा स्थानीयहरुले ढल राख्दा समस्या भएको थियो । त्यसलाई पनि हल गर्ने कार्य भइसकेको छ ।’ नेपाल टेलिकम र विद्युत प्राधिकरणले समयमै पोलहरु नसार्दा सडक निर्माणमा व्यवधान खडा भएको इ. शर्माले बताइन् ।
शर्माका अनुसार सडक खण्डको नेपाल इन्जिनियरिङ कलेजदेखि मुलपानी पुलसम्मको सडकखण्डमा भने ठेक्का नै लागेको छैन । कार्यालयले सडक निर्माणका लागि लागत स्टिमेट पेश गरेपनि निर्णय भइसकेको छैन । डिभिजन कार्यालयले ४२ करोडको लागत स्टिमेट गरेको छ ।
0 प्रतिकृया