Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


डोट्याली लोकदेवता र जाँत सौन्दर्य लोकार्पण

एक्सन खबर
असार, १९, २०७९


डोट्याली लोकदेवता र जाँत सौन्दर्य लोकार्पण

धनगढी, १८ असार । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दुर्गाप्रसाद जोशी र अध्येता मीनबहादुर राणाद्वारा लिखित समग्र सुदूरपश्चिम प्रदेशको सांस्कृतिक प्रतिनिधि मूलक कृति 'डोट्याली लोकदेवता र जाँत सौन्दर्य'को लोकार्पण गरिएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रायोजनमा शनिबार समाजमा आयोजित एक कार्यक्रमका बीच मन्त्री मान बहादुर धामीले पुस्तकको विमोचन गरेका हुन् ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृतिका स्रष्टा दुर्गा प्रसाद जोशीले मस्टो र केदार संस्कृतिको बारेमा प्रकाश पारेका थिए । उनले सुदूरपश्चिम क्षेत्रमा  मस्टो र केदार संस्कृतिको कसरी प्रादुर्भाव भयो, मस्टो र केदार सांस्कृतिक बिचमा किन युद्ध र विवाद भयो, डोटी राज्यका राजा नाग मल्लले सुपका लोक देवताहरूसँग किन युद्ध गरे र पछि मस्टो तथा केदार संस्कृतिका मानिसहरू आपसमा मिलेर बसिरहेकोमा हालको पनि केदार र मस्टो संस्कृति विद्यमान रहेको बारे जानकारी दिएका थिए ।

कार्यक्रममा नाडा सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं संस्कृतिकर्मी मायाप्रकाश भट्टले सुपको मौलिक संस्कृति संरक्षण हुनु आवश्यक भएको बेला प्राज्ञ एवं अध्येताले अध्ययन अनुसन्धान गरेर यस्ता कृति प्रकाशित गर्नु प्रशंसनीय कार्य भएको बताए ।

नेपाल संस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले यस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने स्रटाहरूलाई सम्बन्धित मन्त्रालयहरूले सहयोग गर्नुपर्ने बताए । साहित्यकार एवं प्राध्यापक गणेशराज जोशीले यो कृति भविष्यमा अनुसंधानकर्ताहरूलाई अन्वेषणको लागि कोशेढुंगो हुने बताए । कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रवीर चन्दले संस्कृतिका क्षेत्रमा यो पहिलो पटक अनुसन्धानात्मक कृतिका रूपमा आएको उल्लेख गरे ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले समाजमा सामाजिक मूल्य मान्यतामाथि वैदेशिक प्रभाव परिरहेको बेला यो कृतिले समाजमा पुनर्जागरण ल्याउने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले सामाजिक एकताका लागि यस्ता अनुसन्धानहरूले महत्त्वपूर्ण भूमिका खेल्ने र यस्ता कार्यका लागि आफ्नो कार्यालयबाट सधैँ सहयोग हुने बताए ।

नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्टले लोकदेवता आस्थाका धरोहर भएको बताए । प्राज्ञ वासुदेव पाण्डेयले स्रष्टाहरूको अनुसन्धान महत्त्वपूर्ण रहेको बताउँदै यसलाई अझ महत्त्वपूर्ण बनाउन आफूले पनि अनुसन्धानात्मक सहयोग गर्ने बताए ।













0 प्रतिकृया