नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब देखि रुस–युक्रेन भन्दापनि पश्चिमा शक्ति र रुस विच युद्धका कुरा
एक्सन खबर
काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् । काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढिरहेको उल्लेख गरेका हुन् ।
देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी रहेको भन्दै प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा छ । प्रतिगमनकारी षड्यन्त्र र चलेखल अझै पनि जारी छ । स्थानीय तहको निर्वाचन र त्यसको परिणामले संविधान र लोकतन्त्रको सुदृढीकरण एवं कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएको छ । स्वभावैले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा कस्तो खाले मोर्चा, गठबन्धन र तालमेल हुन्छ आमचासोको विषय बनेको छ । यो नयाँ र सकारात्मक स्थितिका बाबजुद देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी छ । आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’
यस्तै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेतहरु देखापरेको बताएका छन् । ‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन् । सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन् ।’ प्रचण्डले प्रतिवेदनमा भनेका छन् ।
यस्तै यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको, व्यापार घाटा १५ उर्ब ७ अर्ब पुगेको तथा विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा रहेकाे उनकाे भनाइ छ । ‘पुँजीगत खर्च लक्ष्यभन्दा अत्यन्तै कम छ । महंगी आकासिँदो छ, जसका कारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ । हाम्रो अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको छ । कोभिङ–१९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएका छन्,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रचण्डले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् । राजनीति प्रतिवेदनमा सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका छन् ।
‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण अहिले विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर संकट देखापरेको छ,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका छन । यस युद्धले विश्व शक्ति सन्तुलनमा आउँदै गरेको परिवर्तनलाई संकेत गरेको छ ।’
युरोप र एसिया महादेशको बीचमा रहेको रुसको अवस्थिति, सोभियत संघको विघटनपछि भइरहेको पुनःउदय, चीनसँगको बढ्दो सहकार्य र निकटता, ताइवान, तिब्बत लगायतकाको विषयलाई लिएर चिसिएको चीन–अमेरिका सम्बन्ध, चीन–भारतको अर्थतन्त्र र सामर्थ्यको विस्तार नै वर्तमान अन्तर्राट्रिय राजनीतिका प्रमुख मुद्दा रहेको प्रचण्डको दाबी छ ।
अबको अन्तर्राष्ट्रिय राजनीति यिनै सन्दर्भको वरिपरि घुम्ने बताएका प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तनको प्रभावलाई नेपालजस्तो विशिष्ट भू–राजनीतिक अवस्थाको देशले कुशलतापूर्वक सामना गर्नुपर्ने चुनौती रहेको बताए ।
कोभिड महामारीको असर र रुस–युक्रेन युद्धले विश्वको आर्थिक तथा आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको उल्लेख गरेका प्रचण्डले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा मात्र नभई विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रसमेतको आर्थिक वृद्धिदरमा कमी आउने देखिएको बताए ।
0 प्रतिकृया