Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


वीपी प्रतिष्ठानको रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्तिमा बालुवाटारको चलखेल

एक्सन खबर
साउन, २, २०७९


वीपी प्रतिष्ठानको रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्तिमा बालुवाटारको चलखेल

 काठमाडौं, २ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्तिमा ठूलै चलखेल भइरहेको पाइएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गर्न भन्दै दुई सातादेखि राजधानीमा छन् । पदाधिकारी नियुक्तिमा प्रधानमन्त्रीको समेत चासो छ ।

श्रोतका अनुसार रजिष्ट्रार पदमा नेपाली काङ्ग्रेसकी प्रभावशाली नेतृ सांसद डा. डिला संग्रौलाका श्रीमान डा. सुर्य संग्रौलालाई रजिष्ट्रार बनाउन प्रधानमन्त्री कार्यालयबाटै स्वास्थ्यमन्त्रीलाई दवाव छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै स्वास्थ्यमन्त्रीलाई डिलाका श्रीमान सुर्य संग्रौलालाई रजिष्ट्रार बनाउन दवाव दिइरहेका छन् । उनीसँगै प्रतिष्ठानका केही कर्मचारी रजिष्ट्रारको दौडमा छन् ।

‘प्रधानमन्त्री कार्यालयले डिला संग्रौलाका श्रीमान सुर्य संग्रौलालाई रजिष्ट्रार बनाउनु पर्यो भनेर स्वास्थ्यमन्त्रीलाई दवाव दिइरहेको छ ।’ श्रोत भन्दछ । डा. संग्रौला पूर्वाञ्चल विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक हुन् । विश्वविद्यालयमा रहँदा अनियमितता गरेको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको थियो ।

प्रधानमन्त्री देउवाले डिला संग्रौलालाई राजनीतिक सेलटमेन्ट गराउन उनका श्रीमानलाई रजिष्ट्रार बनाउन लागेका हुन् । कांग्रेसमा डा. शेखर कोइरालाको कठ्ठर विरोधी डिला गएको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा उठ्न खोजेकी थिइन् । तर, डा. शेखरको गृहनगरमा डिला मात्र हैन देउवा पनि गले । पार्टीले आफुलाई मेयरको टिकट नदिएको र संसदीय निर्वाचनमा समेत टिकट नपाउने परिस्थिति बनेपछि डिलाले श्रीमानलाई वीपी प्रतिष्ठानको रजिष्ट्रार बनाउन देउवालाई दवाव दिएको श्रोतको दावी छ ।

डा. सूर्य संग्राैला

‘सुर्य र डिला दुवै शेखर कोइरालाका कठ्ठर विरोधी हुन् । डिलाले विराटनगर महानगरको टिकट नपाएपछि प्रधानमन्त्री समक्ष श्रीमानलाई वीपी प्रतिष्ठानको रजिष्ट्रार बनाउनु पर्ने दवाव दिएकी छन् ।’ श्रोत भन्छ । डिला र उनका श्रीमानसँगै उपकुलपति डा. गिरी शेखर कोइरालाका कठ्ठर विरोधी हुन् । डा. गिरीले त ०७४ सालको आम निर्वाचनमा भानुभक्त ढकाललाई जिताउन ‘साम दाम दण्ड भेद’ प्रयोग गर्दै डा. शेखरलाई आमाचकारी गाली गर्दै हिँडेका थिए । देउवालाई खुसी बनाएर कुर्सी जोगाउन गिरीले डिलाका श्रीमानलाई रजिष्ट्रारमा सिफारिस गरेको श्रोतको दावी छ । त्यसो त डा. शेखरसँग रिस पोख्न देउवाले शेखर विरोधीहरूलाई एकै ठाउँमा ल्याएर आउँदो निर्वाचनमा शेखरलाई नै हराउने रणनीति अपनाइरहेको चर्चा पनि छ । केही समय अगाडि डा. गिरीलाई उपकुलपतिबाट हटाउन सिनेट बोलाउने देउवा अहिले उनैको पक्षमा लाग्नुमा ठूलै चलखेल भइरहेको शंका गर्न सकिन्छ ।

यस्तै डा. गिरीले प्रतिष्ठानको अस्पताल निर्देशक पद पनि करोडौँमा बिक्री गरेको दावी गरिएको छ । प्रतिष्ठान श्रोतका अनुसार एशोसिएट प्रोफेसर डा. जगतनारायणसँग २ करोडको डील गरेर डा. गिरीले अस्पताल निर्देशक पद बिक्री गरेको चर्चा प्रतिष्ठान भर चलेको छ । डा. जगतनारायणले प्रतिष्ठानको कोरोना अस्पताल, १८ करोडको आइसियू उपकरण खरिद तथा फार्मेसीको औषधी खरिदमा आँखा चिम्लेर आफूलाई सहयोग गरेकाले यसअघि नै उपकुलपतिले डेपुटी अस्पताल निर्देशक बनाइसकेका छन् । डा. गिरीले धरानका एक मेडिकल सप्लायर्सबाट जगतनारायणलाई अस्पताल निर्देशक बनाउन २ करोडको सुनिश्चितता गरेको चर्चा छ । यद्यपि, यस विषयमा डा. गिरीसँग कुरा गर्न खोज्दा उनले फोन उठाएनन् ।

‘प्रतिष्ठानका पुराना र अनुभवी चिकित्सकहरुलाई वाइपास गरेर आफ्नो इशारामा चल्नेगरी अस्पताल निर्देशक बनाउन खोजिएको छ । राम्रा र योग्यलाई भन्दा चाकडी चाप्लुसी गर्नेहरुलाई बोक्ने हो भने प्रतिष्ठान अब रहँदैन ।’ प्रतिष्ठानका एक सिनियर कर्मचारीले भने ।

डा. संग्रौलालाई रजिष्ट्रार तथा डा. जगतनारायणलाई अस्पताल निर्देशक बनाउन उपकुलपतिले स्वास्थ्यमन्त्री सामु सिफारिस गरेको बुझिएको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री भवानी खापुङले रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्ति गर्ने प्रावधान छ । तर, उपकुलपति र प्रधानमन्त्री कार्यालयको चाहनामा मात्रै नियुक्ति दिनुपर्ने देखिएपछि उनी तनावमा छन् ।

स्वास्थ्यमन्त्री खापुङ एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् । प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्ति गर्दा एकीकृत समाजवादीको भागमा केही नपर्ने समेत देखिएको छ । उपकुलपति एमालेबाट आएपनि अहिले कठ्ठर कांग्रेस अर्थात् ‘देउवा भक्त’ भएका छन् ।
 













0 प्रतिकृया