मार खाेला र काेका खाेलाकाे पानी ल्याउन हर्क साम्पाङलाई पूर्व मेयरकाे सुझाव
एक्सन खबर
सुनसरी, ४ साउन । धरानका पूर्व मेयर मनोज कुमार मेन्याङवोले बर्तमान मेयर हक साम्पाङलाई धरानको खानेपानी समस्या दिर्घकालिन रुपमा समाधान खोज्न सल्लाह दिएका छन् । मेयर हर्क साम्पाङले धरानबासीलाई आफ्नो कार्यकालमा खानेपानी खुवाएरै छाड्ने प्रतिबद्धता जनाए अनुसार अहिले पकुवा र निशाने खोलाबाट पानी ल्याउने अभियान चलाईरहेकोमा त्यो दिर्घकालिन नभएको मेन्याङवोले बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै धरानका पूर्वमेयर मेन्याङवोले मेयर साम्पाङले जनश्रमदान र सहयोग जुटाएर पकुवाखोलाबाट खानेपानी धरान ल्याउन सफल भएकोमा प्रशंसा गर्दै तर, त्यो दिर्घकालिन नहुने बताएका छन् । धरानको खानेपानी समस्या समाधान गर्ने हो भने धरान ४ मा बग्ने मार खोला र धरान २० मा वग्ने कोका खोला उचित बिकल्प हुन सक्ने मेन्याङवोले सुझाएका छन् ।
उनले यी दुबै खोलाहरुमा सुख्खा मौसममा पनि पर्याप्त पानीको श्रोत भेटिने बताएका छन् । ‘हामीले साँच्चै खानेपानीको बिकल्प नै खोज्ने हो भने, धरान ४ मा बग्ने मार खोला र धरान २० मा वग्ने कोका खोला उचित बिकल्प हुनसक्छ। यी दुबै खोलाहरुमा सुख्खा मौसममा पनि पर्याप्त पानीको श्रोत भेटिन्छ।’ मेन्याङवोले सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै धरानमा खानेपानी हाहाकार हुनुमा सबैभन्दा ठूलो समस्या बितरण प्रणाली रहेको समेत बताएका छन् । बितरण प्रणाली मिलाउन नसकेर धरान काकाकुलको सहर बनेको उनको विचार छ । ‘मेरो बिचारमा हालसालै अर्थात, मनसुनको समयमा पानीको श्रोतको अभाव नभएर, ब्यबस्थापनको समस्या हो, बितरण प्रणाली मिलाउन नसकेको समस्या हो ।’
उनले यी समस्या बल्झाउने पनि हामीहरु नै भएको पनि उल्लेख गरेका छन् । यदि समयमै बुद्दि पुराएर तत्कालिन खानेपानी संस्थानका कर्मचारीहरुलाई उचालेर योजना असफल पार्ने काम नभएको भए, खानेपानीको धरानमा यो हबिगत पक्कै हुने थिएन।’ मेन्याङवोको तर्क छ ।
यदि खानेपानीको समस्या समाधान गर्ने नै हो भने, पानीको सहज आपुर्ति हुने यो मनसूनको समयावधिमा बितरण प्रणालीलाई सुधार गरेर दुरुस्त पार्न उनको सुझाव छ । ‘वाटर पम्प मर्मत गराउँ। नयाँ पम्प खरिद गरेर जडान गरौं । खानेपानी बोर्डको बैठक तुरुन्त बोलाएर कार्यक्रम र बजेट तर्जुमा गरि समय छँदै समस्याको समाधान खोजौं ।’ असल कामका लागि सबैलाई साथ लिएर चल्नु नेतृत्वको खुबी भएको उल्लेख गर्दै उनले धरानको विकासमा ‘मैले होइन, हामीले, मेरो होइन, हाम्रो भन्ने भावनाको बिकास गर्न आग्रह गरेका छन् ।
खानेपानीको समस्या मोचन गर्ने उद्देश्यले शुरु गरिएको पकुवा, निशाने योजना भरोसिला नदेखिएको उनको बुझाई छ । ‘किनकि यी दुबै खोलाहरु बर्षे खोला मात्र भएकोले सुख्खा सिजनमा (जतिखेर हामीलाई पानीको अत्यन्तै अभाव हुँदा) यी श्रोतहरु विकल्प हुनै सक्दैन।हाम्रो समस्या जिउँका तिउँ रहने कुरा पक्का छ।’ पूर्वमेयरले भनेका छन् ।
त्यसाे त मेयर साम्पाङले धरानकाे खानेपानी समस्या दिर्घकालिन रूपमा समाधान गर्ने हाे भने सप्तकाेसीकाे पानी ल्याउनु पर्ने भन्दै त्यसकाे संभाब्यता अध्ययन पनि थालेका छन् ।
0 प्रतिकृया