‘यो जनताको होइन माफियाको सरकार हो’ शंकर पाेखरेल
एक्सन खबर
काठमाडौं, १६ साउन । नेकपा एमालेले महंगी र भ्रष्टाचार विरूद्ध साेमबार राजधानीमा बृहद् विराेध प्रदर्शन गरेकाे छ । बसन्तपुरबाट सुरू भएकाे बिराेध प्रदर्शनमा बाेल्दै एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् ।
उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।
अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए ।
यस्तै उनले एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै बर्तमान सरकारका कारण महंगी बढेको र जनताको जीवनस्तर कष्टकर बनेको पनि बताए ।
एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको बताउँदै उनले बतर्मान सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेको दावी समेत गरे । ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ । ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’
अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनकाे भनाइ छ ।
हेर्नुहाेस फाेटाे फिचर
0 प्रतिकृया