आज नाग पञ्चमीः कर्णाली प्रदेशमा सार्वजनिक बिदा
एक्सन खबर
सुर्खेत, १७ असार । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएको हो ।
‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’बाट मिति २०७८ चैत २९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
आज काठमाडाैंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने प्रचलन छ ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको किंवदन्ती छ । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।
0 प्रतिकृया