घरमा बम पड्काएकाे भन्दै सांसद रेनुका गुरुङले मागिन् आजीवन पीएसओ
एक्सन खबर
काठमाडौैं, १७ साउन । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन् ।
‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उनले भनिन्, ‘घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ । दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ । तर, अँध्यारो भएकाले चिन्न सकिनँ ।’
घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताइन् ।
आफू सांसद र पूर्वराज्य मन्त्री रहेको भन्दै उनले आफू र आफ्नो परिवारको सुरक्षार्थ राज्यमन्त्रीले पाउने अनिवार्य पीएसओ उपलब्ध गराउन माग गरिन् ।
सांसद गुरूङले संसदमा यसाे भनेकी थिइन्
मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभरि देश र समाजको लागि सेवा गरेवापत म संग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए ।
झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिन । महाराजगञ्जको थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ ।
कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो । अत: म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।
0 प्रतिकृया