साउनमा डा. शर्माले सञ्चालन गरेकाे एम्बुलेन्स क्याम्पबाट १५ हजार बढीकाे निःशुल्क उपचार
एक्सन खबर
विराटनगर, ५ भदाै । नोबेल शिक्षण अस्पतालका सञ्चालक समाजसेवी डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।
माेरङकाे क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले उल्लेख गरेकाे छ ।
सो अवधिमा २ हजार ८ सय ७२ जनाको रक्त परीक्षण, २ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँच इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ८ सय १३ जनाको दाँत खोलिएको छ ।
यता, एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ७ हजार ४ सय ३२ बिरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रिया गरिएको छ । बिरामीहरूलाई अस्पताल ल्याउने र पुर्याउने व्यवस्था पनि नोबेल अस्पतालले नै मिलाएकोले जेष्ठ नागरिक, बालबालिका तथा असक्तलाई बढी सहज भएकाे छ ।
यसअघि गत असार महिनामा एम्बुलेन्स क्याम्पबाट १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका थिए । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केही महिनायता स्वास्थ्य शिविरसँगै एम्बुलेन्स क्याम्प पनि सञ्चालन थालेको हो ।
बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउँन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।
शनिबारबाहेक हरेक दिन दुई टोली डाक्टरहरू एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरूको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यही गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउने व्यवस्था पनि डा.शर्माले नै मिलाइदिएका छन् ।
डा. शर्माले विविध कारणले स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न नसकेका विपन्न, असहाय तथा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पुर्याउने हेतूले एम्बुलेन्स क्याम्प सञ्चालन गरिएकाे बताए ।
1 प्रतिकृया
कृष्ण खड्का
Skmt3336@gmail.com
www.shreekrishnamanakamana.com.np
तमसाेमा अमृत गमय । सेवा नै धर्म हाे । तुम्लिङ्टार मनकामना मन्दिरकाे सान्निध्यमा रहेकाे बृद्दाश्रममा आश्रीत बृद्दा वृद्दहरु दाताहरुकाे अभावमा दैनिक जीवन संकटमा परेकाे हाम्रा मित्र देवी बहादुर कार्कीले हालसालै मनकामना दर्शन गर्न जाँदा याे कुरा बुझेकाे बताउनु भयाे दाताहरुले वहाँ प्रति ध्यान जावस यधाशिघ्र सहयाेग प्रदान हाेस ।