वीपीका अयाेग्य पदाधिकारी विरूद्ध डा. गाेविन्द केसीले थाल्ने सत्याग्रहमा कांग्रेसकाे साथ
एक्सन खबर
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलका श्रीमान् डा. सूर्य प्रसाद संग्राैलाको नियुक्तिविरुद्ध नेपाली कांग्रेस नै उत्रिएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सुनसरीले डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै रजिष्ट्रार डा. संग्राैला सहित अस्पताल निर्देशक डा. जगत प्रसादको नियुक्ति विरुद्ध उभिएको हो ।
चिकित्सा शिक्षा आयोगको मापदण्ड र प्रतिष्ठानको ऐन तथा नियमावली विपरित भएको नियुक्ति खारेज हुनुपर्ने माग राख्दै क्षेत्रीय कार्यसमिति डा. सूर्य र डा. जगत प्रसादकाे नियुक्ति विरुद्ध सशक्त रुपमा प्रस्तुत भएको छ । क्षेत्रीय कार्यसमितिका प्रवक्तासमेत रहेका सचिव केशव पुरीले नियम विपरित नियुक्ति भएका पदाधिकारीका सन्दर्भमा छानविन गरी कारवाही गर्न माग गरेका छन् ।
उनले जारी गरेको ९ बुँदे मागमा बिरामीको उपचार शुल्क नेपाल सरकारका अस्पताल सरह निर्धारण गर्नुपर्ने, पेइङ सेवा बन्द गर्नुपर्ने, प्रयोगशाला जाँचहरुको रिपोर्ट अनलाइनमार्फत पाउने व्यवस्था गर्नुपर्ने, अतिरिक्त आकर्षक भत्ता लिने व्यवस्था खारेज हुनुपर्ने उल्लेख छ ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाण रहँदा रहँदै पनि कारबाही नगरेकाले त्यस्तालाई तत्काल कारबाही गर्नुपर्ने माग समेत राखेको छ । किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको हो । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशकै भरमा अनेकौं आर्थिक निर्णयहरु गरेकाले अन्तरिम आदेशको हदम्याद तोकिनुपर्ने पनि कांग्रेसको माग छ ।
दक्ष चिकित्सकलाई रोक्न ठोस योजना ल्याउनुपर्ने र शिक्षक तथा कर्मचारीको वृत्ति विकासका काम निरन्तरता दिनुपर्नेमा कांग्रेसले जोड दिएको छ । डा. गोविन्द केसीले १२ भदौबाट गर्ने भनिएको सत्याग्रहलाई समर्थन गर्ने र अन्य राजनीतिक दल, सामाजिक सघसंस्था र नागरिक समाजलाई सहयोग गर्न पनि कांग्रेसले अनुरोध गरेको छ ।
डा. केसीले वीपी प्रतिष्ठानमा याेग्यता नै नपुगि टिके प्रणाली मार्फत भर्खरै नियुक्त गरिएका अस्पताल निर्देशक डा. जगत नारायण, रजिष्ट्रार डा. सूर्य प्रसाद संग्राैलालाई निलम्बन गर्नुपर्ने, यसअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई विभिन्न छानविन समितिले कारवाही गर्न सिफारिस नै गरेपनि प्रधानमन्त्री कार्यालयबाटै उनकाे संरक्षण भइरहेकाेमा साे विरूद्ध पनि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।
0 प्रतिकृया