नेपाल मेडिकल कलेजका नर्स र महिला कर्मचारीलाई फरक पोशाकमा देखेपछि
एक्सन खबर
काठमाडौं १०, भदौ । सधैं एप्रोन र अस्पतालको पोशाकमा बिरामीको अघिपछि कुद्ने नेपाल मेडिकल कलेजका महिला डाक्टर, नर्स तथा कर्मचारीहरु बिहीबार रातो पहिरनमा सजिएर आउँदा कलेजको माहौल रंगीन थियो ।
अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामीका आफन्त पनि नर्स र कर्मचारीको पहिरन देखेर अचम्म परे । अरुबेला सेतो स्कर्बमा देखिने उनीहरु रातो सारी र लिपिस्टक पाउडरमा कालो चस्मा लगाएर आउँदा स्वयं कलेजका व्यवस्थापनले चिन्न नै सकेनन् ।
खासमा नेपाल मेडिकल कलेजका नर्स तथा कर्मचारीहरुलाई तीज लागेको थियो । डिउटी समयमा बिरामीहरुको सेवा र उपचारबाट फुर्सद निकालेर उनीहरु तीजको दरखाने कार्यक्रम राखेका थिए ।
हिन्दु धर्मावलम्वी महिलाहरुको महान चाड हरितालिकाको सुभसन्ध्या पारेर कलेजमा कार्यरत महिला डाक्टर, नर्स तथा कर्मचारीहरुले दर खाने तथा शुभकामना कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उनीहरुले एकछिन भएपनि तिजका गितमा नाचगान र रमाइलो गरे ।
दरखाने कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले चिटिक्क परेका आएका नर्स तथा महिला कर्मचारीको प्रसंसा नगरी बस्न सकेनन् । ‘मैले त चिन्नै सकिन कतिपय मेडमहरुलाई । तीजको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु । यहाँहरुको सुस्वास्थ्य, दिर्घायू र खुसीयालीको कामना गर्छु ।’ दरखाने कार्यक्रमको सुरुवात गर्दै अन्सारीले भने ।
कार्यक्रममा महिलाहरु तीजको गीतमा नाच्न व्यस्त हुँदा कलेज प्रशासनका पदाधिकारी पनि ननाची बस्न सकेनन् । केक काटि नसक्दै ‘तीजको रहर आयो बरिलै’ गीतमा सहभागीहरु नाच्न थालेपछि प्रबन्ध निर्देशक अन्सारीसँगै अस्पताल निर्देशक डा.राजेश किशोर श्रेष्ठ, प्रिन्सपल प्रा. डा. प्रमाेद कुमार क्षेत्री, भाइस प्रिन्सिपल डा.श्रृष्टि श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर डा. सबिहा यास्मिन, अस्पताल इन्चार्ज दिलिप साह, प्रमुख प्रशासकीय अधिकृत ज्याेती खड्का, मेट्राेन उर्मिला श्रेष्ठ लगायत नाच्न थालेपछि माहौल रमाइलो भएको थियो ।
‘वर्ष दिनमा आउने चाडवाडले सबैलाई आकर्षित गर्छ । साथै, कर्मचारी र प्रशासनविच आत्मियता बढाउन पनि कार्यक्रम गरिएको हो ।’ कलेजका प्रबन्ध निर्देशक अन्सारीले भने । कलेजले समयसमयमा आउने नेपालीहरुको चाडपर्वमा आफ्ना कर्मचारी, नर्स, शिक्षकहरुमा एकापसमा आत्मियता बढोस् भन्ने हेतूले यस्ता कार्यक्रम आयोजना गर्ने गरेको छ ।
0 प्रतिकृया