पर्सा १ बाट प्रतिनिधिसभा निर्वाचन लड्न बसरुद्धिन अन्सारीको नाम सर्वसम्मत
एक्सन खबर
काठमाडौं, १५ भदौ । म्ंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि पर्सा क्षेत्र नं. १ ले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमाले पर्सा क्षेत्र नं. १ क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश सदस्य समेत रहेका बसरुद्धिन अन्सारीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
नेकपा एमाले जिल्ला इन्चार्ज प्रभु हजरा समेतको उपस्थितिमा चलेको बैठकले पर्सा क्षेत्र नं. १ मा नेकपा एमालेलाई विजयी गराउने क्षमता बसरुद्धिन अन्सारीसँग मात्र रहेको ठहर गर्दै सर्वसम्मत नाम सिफारिस गरेको हो । ‘उहाँसँग यो क्षेत्रको बृहत्तर विकास गर्ने हुटहुटी रहेको छ । मेडिकल कलेज चलाएर हज्जारौंलाई रोजगारी दिनुभएको छ, भोलीका दिनमा सरकारमा गए यो क्षेत्रका लागि केही गर्ने सोच देखेकाले हामीले एकमतबाट उहाँको नाम सिफारिस गरेका हौं ।’ बैठकमा सहभागी एक क्षेत्रीय कमिटी सदस्यले भने ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही क्षेत्रको विरगञ्ज महानगरपालिकाको मेयरमा प्रतिष्पर्धा गरेका अन्सारी २०७० सालको संविधानसभा निर्वाचनमा समेत नेकपा माओवादीको तर्फबाट भाग लिएका थिए ।
स्वास्थ्य सेवा र मेडिकल शिक्षा मार्फत प्रदेश २ का जनतालाई सर्वसुलभ सेवा प्रदान गर्दै आइरहेका अन्सारीले पर्सा १ नं. क्षेत्रको विकास, त्यहाँको आर्थिक सूचकांकमा सुधार ल्याउने गरी काम गर्ने योजना बनाएको बताए । ‘मैले राजनीति कमाउन गरेको हैन, यो क्षेत्रको विकास गर्न, यहाँका समस्याहरु समाधान गर्न तथा मैले २० औं वर्ष स्वास्थ्य क्षेत्रमा विताएर हासिल गरेको अनुभवलाई राष्ट्र निर्माणमा लगाउन राजनीतिमा आएको हुँ ।’ अन्सारीले भने ।
अन्सारीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दा राम्रो मत हासिल गरेका थिए । त्यसपछि निरन्तर पार्टीको काम र संगठन विस्तारमा सक्रिय अन्सारीले गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार विजयकुमार सरावगीलाई २३६७१ मत ल्याउन ठूलो भूमिका निर्वाह गरेका थिए । वडागत रुपमा अन्सारीको सक्रियतामा नेकपा एमालेले ८ वटा वडामा जित हासिल गरेको थियो ।
प्रतिनिधिसभा निर्वाचन अन्तरगत पर्सा क्षेत्र नं. १ मा विरगञ्ज महानगरपालिकाको २० वटा वडाहरु पर्दछन् ।
0 प्रतिकृया