Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


२४ घन्टाभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने महानगरको चेतावनी

एक्सन खबर
भदौ, १५, २०७९


२४ घन्टाभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने महानगरको चेतावनी

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो ।

तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले लेखेको पत्रमा उल्लेख छ ।  

फनपार्कले काठमाडौं महानगरपालिकालाई तिर्न/बुझाउन पर्ने (व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) नबझाइ वषौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले यस पत्र लेख्ने कार्य भएको छ,’ ‘महानगरको पत्रमा उल्लेख छ, ‘सो अनुसारको व्यवसाय कर वहाल कर सम्बन्धित् वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवानासमेत दाखिला गर्नहुन अनुरोध छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी वाँकी सरह असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ।’

फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो । फन पार्कले ७ वर्षदेखि कर नतिरेकाे महानगर श्राेतले जनाएकाे छ । समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।














0 प्रतिकृया