गढदेव धार्मिक वन क्षेत्रमा बृक्षरोपण
एक्सन खबर
सुनसरी, १५ भदौ । सुनसरीको गढी गाउँपालिकामा रहेको गढदेव धार्मिक वन समुहमा बृक्षरोपण गरिएको छ । मंगलबार गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीको प्रमुख आतिथ्यतामा तीन हजार बढी वृक्षरोपण गरियो ।
सो अवसरमा बोल्दै पालिकाका अध्यक्ष आशनारायण चौधरीले गढी गाउँपालिकाको धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको गढदेव परिसरको संरक्षण, विकास र पर्यटकीय क्षेत्र बनाउन पालिकाले सक्दो सहयोग गर्ने बताए । धार्मिक पर्यटकीय क्षेत्रसँगै आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गराउने संरचनाहरु निर्माण गर्न पहल गर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै वन समुहका अध्यक्ष पूर्वराज्यमन्त्री भगवती चौधरीले गढी गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गर्न गढदेव धार्मिक वन समुहको संरक्षण र विकास गर्नुपर्ने बताइन् । गढदेव बुद्ध पर्यटकीय क्षेत्रको जग्गाको संरक्षण गर्दै सो क्षेत्रमा वोटिङ, बाल उद्यान लगायत पर्यटकीय पूर्वाधार बनाउन स्थानीय तह, प्रदेश र संघ सरकारबाट सहयोग हुनुपर्नेमा जोड दिइन् ।
गढी गाउँपालिका, सव डिभिजन वन कार्यालय भुटाहा, स्थायी प्रहरी चौकी भमरीको आयोजनामा वृक्षरोपण गरिएको थियो । वन समुह परिसरमा आप, लिच्ची, अम्बा, अमला जस्ता फलफुलका बिरुवाका साथै, टिक, मसला, अर्जुन, सिमल, अशोक लगायत ३१०० विरुवाहरु रोपिएको छ ।
९ विगाहा क्षेत्रफलमा फैलिएको गढदेव परिसरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नेतृ भगवती चौधरीले विशेष पहल गरिरहेकी छन् । सुनसरी क्षेत्र नं. ३ बाट नेकपा एमालेको प्रतिनिधित्व गरिरहेकी चौधरीले गढदेव धार्मिक क्षेत्र, बर्जु गाउँपालिकाको बर्जुताल लगायत आफ्ना क्षेत्रमा रहेका पर्यटकीय स्थानहरुको विकास र संवद्र्धनमा सहयोग गर्दै आइरहेकी छिन् ।
0 प्रतिकृया