आज विजया दशमीः टिकाकाे साइत ११:५१ मिनेटमा
एक्सन खबर
काठमाडौं, १९ असोज । विजयादशमीकाे मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।
देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।
समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले सामान्य मानिसले साइत खोज्न नपर्ने बताए । तथापि, राज्य सञ्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने जानकारी दिए । प्राध्यापक अधिकारीले भने, ‘राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’
घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । अधिकारीका अनुसार टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्नेछ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
0 प्रतिकृया