मोरङ क्षेत्र नं. ३ प्रदेश सभा १ का उम्मेदवार थापाको निधन
एक्सन खबर
मोरङ, २३ कार्तिक । मोरङ क्षेत्र नं. ३ प्रदेश सभा १ का उम्मेदवार समेत रहेका प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको ५८ बर्षको उमेरमा निधन भएको छ ।
प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवार थापाको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको हो । उम्मेदवारी दर्ताकै दिन असोज २३ गते बिरामी भएपछि उनलाई असोज २४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
परीक्षणका क्रममा डेंगु संक्रमण देखिएको थियो । उनलाई निमोनिया समेतका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २७ गते हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरेपछि विराटनगरमै फर्काइएको थियो ।
पथरी शनिश्चरे ८ सखरा निवासी थापाका श्रीमति र एक छोरा छन् । नेपाली काँग्रेसका प्रदेश सदस्य थापा लामो समयसम्म पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्वकीय सचिव थिए । २०७४ को निर्वाचनमा उनी कांग्रेसको समानुपातिकबाट सांसद बनेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित थिए ।
नयाँ मनोनयन प्रक्रिया सुरु, चुनाव मंसिर ४ मै
नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि मोरङ क्षेत्र नं। ३ (१) मा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले सम्वन्धित दलका लागि मात्र निर्वाचन तालिका केही परिमार्जन हुने गरी प्रक्रिया अघि बढाएको हो । मतदान भने मंसीर ४ मै हुने निर्वाचन आयोगले जनाएको छ ।
0 प्रतिकृया