Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


भानुभक्तले शिलान्यास गरेको अस्पतालको भवन निर्माण स्थलमा तोरी छरिँदै

एक्सन खबर
कार्तिक, २७, २०७९


भानुभक्तले शिलान्यास गरेको अस्पतालको भवन निर्माण स्थलमा तोरी छरिँदै

विराटचोक, २७ कार्तिक । २०७७ साल मंसिर १५ गते देशभर ३ सयभन्दा बढी अस्पताल नेकपा एमालेको सरकारले शिलान्यास गर्याे । त्यसबेला सरुवा रोगको उपचारको लागि सुन्दरहरैंचामा पनि प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुने तयारी थियो । तर, विविध कारणले सो दिन सुन्दरहरैंचामा अस्पतालको शिलान्यास हुन नसकेपछि दुई महिनापछि संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले २०७७ साल माघ १९ गते सो अस्पतालको शिलान्यास गरेका थिए ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेशस्तरीय अस्पताल सुन्दरहरैंचामा बन्नु सामान्य विषय नभएको बताएका थिए । ५० बेडको सो अस्पतालका लागि संघीय सरकारले सोही आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन गरेको र जम्मा २५ करोड रुपैयाँ संघीय सरकारले दिने उनको भनाइ थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको १५ बिघा जग्गामा अस्पताल बन्ने भएकाले ५० वर्षका लागि प्रदेश सरकारले जग्गा भाडामा लिएको र प्राविधिक पक्षको जिम्मा प्रतिष्ठानले लिने गरी सम्झौता भएको ढकालले प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा आफ्नो धारणा राखेका थिए ।

आफू कानुन मन्त्री र स्वास्थ्य मन्त्री हुँदा मात्रै होइन पर्यटन मन्त्री हुँदा पनि धेरै राम्रा काम गरेको उनले बताएपछि कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले अस्पताल शिलान्यास हुनुमात्रै ठूलो कुरा नभएको बताउँदै कार्यान्वयन महत्वपूर्ण विषय भएको बताएका थिए ।

उता, विशिष्ट अतिथि प्रदेशका सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार र प्रतिष्ठानबीच सहकार्य भएकाले अस्पताल सञ्चालनमा कुनै समस्या नहुने बताएका थिए । संघीय सरकारले दिएको बजेट अपुग भएमा प्रदेश सरकारले पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए । प्रदेश सांसद राजकुमार ओझाले अस्पताल मात्रै नभएर उत्कृष्ट ल्याब सञ्चालन गर्नुका साथै औषधी उत्पादनमा पनि ध्यान दिने भनाइ राखेका थिए ।

प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराईले अस्पताल सञ्चालनका लागि छुट्टै समिति प्रदेश सरकार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समन्वय गरेर बनाइने र यसका लागि प्रतिष्ठान र प्रदेश सरकारबीच हस्ताक्षर भइसकेको उल्लेख गरेका थिए ।

कार्यक्रमका सभापति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १ वर्षभित्रमा अस्पताल बनिसक्ने प्रतिबद्धता जनाएका थिए । सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले ठूला शहरभन्दा बाहिर यस्ता ठूला योजना बन्नाले पछाडि पारिएको क्षेत्रको पनि विकास हुने बताएका थिए ।

यति धेरै विशिष्ट व्यक्तिले दमदार आवाजमा भाषण गरे पनि त्यसपछि सो अस्पताल बन्दै बनेन । त्यसपछि सो स्थानमा फर्किएर कुनै नेता नआएको स्थानीय बताउँछन् ।

अहिले सो स्थानमा तोरी छर्न ठिक्क पारिएको छ । अस्पताल शिलान्यास गर्न पनि तोरी मासेर औपचारिक कार्यक्रम गरिएको थियो । शिलान्यास गर्न कहाँ खाडल खनिएको थियो र कहाँ शिला राखिएको थियो केही पनि नदेखिने स्थानीयको भनाइ छ । अस्पताल बन्ने आशमा धेरैले सो स्थानमा महङ्गो दाममा घडेरी पनि किनेका थिए । उनीहरु अहिले पछुताइरहेका छन् ।














0 प्रतिकृया