Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


मेस्सी प्रेरित अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि

एक्सन खबर
पौष, ४, २०७९


मेस्सी प्रेरित अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि

एजेन्सी । अन्नतः लगातारको मेहनत, दृढ इच्छाशक्ति र संघर्षका साथ अर्जेन्टाइन लियोनल मेस्सीले विश्वकप फुटवलको ट्रफी चुमेका छन् । अन्तराष्ट्रिय फुटवलको उत्तरार्धमा रहेका मेस्सीले कतार विश्वकप २०२२ को विजेता बन्दै ट्रफी उचालेका हुन् ।

साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जित्दा सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि मेस्सीलाई नै दिइयो । निर्धारित ९० मिनेटको खेल २–२ सँगै अतिरिक्त ३० मिनेटको खेल पनि ३–३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप दिलाउन मेस्सी, एन्जल डि मारिया र गोल रक्षक एमिलियानो मार्टिनेज नायक भए । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिँदा मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुनः बराबर गर्दै खेललाई पेनाल्टी सुट आउटमा पुर्याएका थिए ।

पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गर्दा फ्रान्सका किंग्सले कोमानले गरेको प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

खेलको २३ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएकोमा कप्तान मेस्सीले गल्ती गरेनन् ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया सफल भए ।

८० औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरे । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसको लगत्तै एमबाप्पेले फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीलाई मार्टिनेजले रोक्न सकेनन् ।

अतिरिक्त समयको १ सय ९ औं मिनेटमा मेस्सीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे ।

अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुनः बराबरी गोल फर्कायो । किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेले गोलरक्षक मार्टिनेजलाई विपरित दिशामा पठाउँदै खेल बराबर गरेका थिए ।

विश्वकपको गोल्डेन वुट फ्रान्सका एमबाप्पेले प्राप्त गरे । उनले प्रतियोगिता भरी ८ गोल गर्दा फाइनलमा ह्याट्रिक गर्ने दुर्लभ किर्तिमान राखे ।

खेलपछि अर्जेन्टाइन मेस्सीले खुसी व्यक्त गर्दै आफु अझैपनि राष्ट्रको लागि खेल्ने बताए । यसअघि उनले यो विश्वको आफ्नो अन्तिम विश्वकप रहने बताउँदै आएका थिए । संभवतः तेश्रो तारा अंकित अर्जेन्टानाको जर्सीमा मेस्सी कोपा अमेरिका खेल्नेछन् ।
















0 प्रतिकृया